प्रेस विज्ञप्ति: सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ सम्बन्धमा

प्रेस विज्ञप्ति: सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ सम्बन्धमा


 

प्रेस विज्ञप्ति: सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ सम्बन्धमा

मितिः २०८३/०२/२६
ने.सं.११४६ अनालागा नवमी


प्रेस विज्ञप्ति
(सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ सम्बन्धमा)


नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” संवत् २०८३ साल असार ३, ४ र ५  गते सांस्कृतिक संस्थानको मेगा हलमा आयोजना गर्न गइरहेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं । संस्थानको प्रमुख अभिभारा “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि लोक सांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” भन्ने मूल भावलाई शिरोपर गर्दै संस्थानले राष्ट्रिय दोहोरी प्रतियोगिता आयोजना गर्ने तय गरेको व्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध छ । 

देशैभरीका प्रतिभालाई समेट्ने उद्देश्यका साथ संवत् २०८३ वैशाख ३१ गते आवेदन आह्वान गरिएकोमा तोकिएको समयसीमाभित्र २५ वटा समूहले आवेदन पेश गर्नुभएको छ । उक्त २५ वटा समूह बीच स्वस्थ एवम् निष्पक्ष प्रतिस्पर्धा गराई विजेता, उपविजेता तथा अन्य विधाका सर्वोत्कृष्ट प्रतिभालाई संवत् २०८३ साल असार ५ गते सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव (राष्ट्रिय नाचघरको ६७ औं वार्षिकोत्सव) को अवसरमा नेपाल सरकारको तर्फबाट पाल्नुहुने प्रमुख आतिथिज्यूको हातबाट पुरस्कार वितरण गरिनेछ । प्रतियोगिताको राशि क्रमशः विजेता रु.२,००,०००/– (अक्षरेपि दुई लाख), उपविजेता रु.१,००,०००/– (अक्षरेपि एक लाख) तथा अन्य चार विधा सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट भेषूषा तथा आभूषण र सर्वोत्कृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरणको जनही रु.२५,०००/– (अक्षरेपि पच्चीस हजार) साथमा, प्रमाण पत्र, मायाको चिनो, संस्थानको सर्वाधिकार रहनेगरी संस्थानको रेकर्डिङ स्टुडियोमा विजेता तथा उपविजेतालाई १÷१ वटा लोक तथा दोहोरी गीत रेकर्डिङ गर्ने व्यवस्था, विजेता, उपविजेता तथा सर्वोत्कृष्ट विधाका कलाकारहरूलाई संस्थानको ६ महिने कला प्रशिक्षण अन्तर्गत गायन विधामा सहभागी हुने अवसर प्रदान गरिनेछ । प्रतियोगितामा निर्णायक श्री दुर्गा रायमाझी ज्यू, श्री चन्द्र शर्मा ज्यू, श्री राधिका हमाल ज्यू, श्री सीता थापा ज्यू, श्री कृष्ण रेउले ज्यू, श्री दिपक खड्का ज्यू र श्री सुवास केसी ज्यू रहनु हुनेछ भने उद्घोषण श्री बद्री पंगेनी ज्यू र श्री मञ्जु पौडेलज्यूको रहनेछ । त्यस्तै विशेष प्रस्तुति श्री राजु परियार ज्यू, श्री राजु ढकाल ज्यू र श्री देवी घर्तीज्यूको रहनेछ भने श्री नारायण रायमाझी प्रमुख आतिथ्यतामा प्रतियोगिता समुद्घाटन गरिनेछ ।

वि.सं.२०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि वि.सं २०२९ साल असार ५ गते नाम परिमार्जन सहित “सांस्कृतिक संस्थान” को रूपमा पुनर्गठन गरिएको हो । ऐतिहासिक सांस्कृतिक विरासत बोकेको सांस्कृतिक संस्थानले महाप्रबन्धक श्री किरण बाबु पुनले नेतृत्व सम्हालेसँगै नयाँ शिराबाट उत्कृष्ट कार्यसम्पादन गर्दै आएको व्यहोरा विदितै छ । यस वर्ष नेपाल सरकार अर्थ मन्त्रालको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा – २०८३’ प्रतिवेदन अनुसार सांस्कृतिक संस्थानको इतिहासमै पहिलोपटक २९ (रु.लाखमा) खुद नाफा हुन गई संस्थानले गौरवमय इतिहास बनाउन सफल भएको छ । 

अन्त्यमा, नेपाली लोक जीवनको मुटुको रूपमा रहेको दोहोरी गीतको विकास र देशभरी छरिएर रहेका प्रतिभाहरूलाई नेपाल सरकारको राष्ट्रिय मञ्च प्रदान गर्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास संस्थानले लिएको छ । यस राष्ट्रिय गौरवको कार्यक्रम बारे आम जनमानस र विश्वभरीका नेपाली माझ पु¥याउन सम्पूर्ण आदरणीय पत्रकार, सञ्चारकर्मी तथा डिजिटल मिडियाको अतुलनीय साथ, सद्भाव एवम् सभ्य समाचार सम्प्रेषणको अपेक्षा गर्दछौं । 

किरण बाबु पुन
 महाप्रबन्धक

 

Press Bigyapti.png

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij