श्री चन्द्र कुमार राई हतुवाली
अध्यक्ष
२०८०/०८/१३

अध्यक्षको भनाई

आम मानिसहरुले जीवनभोगाइका क्रममा प्राप्त गरेका अनुभव, सिर्जनाहरु नियमित रुपमा पालना गर्दै आउँदा पित मान्यताको विकास हुन्छ जसलाई नै  संस्कृतिको रुपमा व्याख्या गर्न सकिन्छ । यस्ता मान्यताहरु नियमित लिरहन्छन् ।

विशेष परिस्थितिअनुसार बद्लिरहन्छन्र नयाँ पनि बनिरहन्छन् । यस्ता संस्कृतिहरुले समाज निर्माण गर्न, समाजलाई एकरुपता दिन, समाजलाई एकतावद्धता बनाउन समाजलाई सक्रिय बनाउन साथै सामूहिक उत्तरदायित्व निर्वाह गर्नलाई उत्प्रेरित गरिरहेका हुन्छन् । त्यसैले संस्कृति मानिस र समाजको जीवन अभिन्न हुन्छ । संस्कृतिहीन मानिस र राष्ट्रहुँदैन साथैसंस्कृतिहीन समाज बन्दैन । 

संस्कृतिको निर्माणमा भूगोल, हावापानी साथै मानिसको सोंचको भूमिका रहेको हुन्छ । त्यसैले संस्कृतिमा विविधता हुनु स्वभाविक मानिन्छ अर्थात् सांस्कृति विविधता संस्कृतिको सौन्दर्यता हो। मधेशको खानपान र पहिरण हिमाली खानपानमा भिन्नता देखिनु, भोजपुरी नाच, साकेन्वा/साकेला नाच, मयूरनाचमा जातिगत तथा भौगोलिक भिन्नता देखिनु उल्लिखित परिवेश र कारणहरु नै मुख्य हुन्। यिनै जातीय,धार्मिक तथा भूगोलमा आधारित संस्कृतिहरुको जगमा राष्ट्रिय संस्कृतिको निर्माण हुन्छ । त्यसैले यी संस्कृतिहरु राष्ट्रका राष्ट्रिय सम्पदा, राष्ट्रको पहिचान, राष्ट्रको गौरवको रुपमा समग्रमा स्वीकारिएका हुन्छन् र संस्कृति संरक्षण, प्रचलन साथै प्रवर्धनको लागि सांस्कृतिक अधिकारको रुपमा संविधानमा नै व्यवस्था गरिएको हुन्छ । जस्तै: नेपालको संविधान २०७२ ले पनि यो सत्यलाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त स्वीकार गरेका तथ्य विभिन्न धाराहरुमा व्यवस्था गरेबाट प्रष्ट हुन्छ । 

नेपाली समाजमा प्रचलित संस्कृतिहरुको खोजी, प्रर्दशनी र प्रवर्धनको लागि बहुआयामिक उद्देश्यसहित नेपाल सरकारले स्थापना गरेको सांस्कृतिक केन्द्र सांस्कृतिक संस्थान हो । यस संस्थानले आफ्नो स्थापनाकालबाट उद्देश्यनिहित भूमिका निर्वाह गर्दै आएको कुरा सर्वविदित छ । विशेषत: सस्कृतिका बहुआयमिक विधाहरु मध्येमा गीत, सङ्गीत, वाद्यवादन, नृत्य र नाटक सिर्जना र प्रदर्शन गर्नुका साथै यस क्षेत्रको जनशक्ति निर्माणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । यति मात्र होइन विदेशमा समेत राजकीय भ्रमणको क्रममा नेपाली संस्कृति प्रदर्शन गर्ने भूमिका निर्वाह गर्दै आएको इतिहास छ ।

यही सिलसिलामा यस संस्थानबाट प्रकाशन हुन लागेको ‘नेपाली संस्कृति’ नामक पत्रिका नेपालमा लोप हुन लागेका साथै प्रचलित संस्कृतिहरुको अभिलेखीकरण साथै जानकारी सम्प्रेषण र संस्कृति संवृद्धि गर्ने उद्देश्यनिहित पत्रिका हो । पत्रिकाले यसपटकबाट मूलतः संस्थानमा प्रर्दशित सांस्कृतिक आयामहरु लोकगीत, लोकनाच, लोकबाजा साथै लोक नाटकसँगै आधुनिक गीत, सङ्गीत, शास्त्रीय सङ्गीत र राष्ट्रिय गीतहरुकै बारेमा केन्द्रित रहेर प्रकाशन प्रयास थालनी गरिरहेको सन्दर्भमा नयाँ प्रारम्भ स्थापित गर्ने कोशिष गरेको छ भन्दा फरक पर्दैन । यति मात्र होइन यस संस्थानले आगामी दिनमा संस्कृतिका वृहत्तर क्षेत्रलाई समेट्दै संस्कृतिलाई सांस्कृतिक उद्योगको रुपमा रुपान्तरन गर्दै सांस्कृतिक पर्यटन राष्ट्रको रुपमा पहिचान दिने लक्ष्यका साथ योजनावद्ध गति दिने प्रयास गरिरहेको छ । यस प्रयासलाई सार्थक बनाउने जिम्मेवारी संस्थान परिवारको स्वतः छदैँछ र प्रयास पनि गरिरहेको सन्दर्भमा सबै सरोकारवालाहरुको पनि साथमा साथ र काँधमा काँधको सहयोगको अपेक्षा गर्दछ । सबैले अपनत्व लिइ दायित्व र जिम्मेवारी निर्वाह गरेको खण्डमा सामुहिक प्रयासले छलाङ मार्न नसके पनि छलाङ मार्नको लागि सिंढीको काम अवश्य गर्नेछ भन्ने दृढ विश्वास छ । 

चन्द्रकुमार राई ‘हतुवाली’
    अध्यक्ष
 सांस्कृतिक संस्थान

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij