गीति नाटक मुनामदन सम्बन्धी महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा.डा.पद्म देवकोटाज्यूको धारणा
वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा वि.सं.२०२९ सालमा नाम परिमार्जन सहित सांस्कृतिक संस्थानको रूपमा पुनर्गठन भएको संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । संस्कृतिलाई सजीव रूपमा प्रदर्शन गरी संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्नु प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ । यसै अनुरूप संस्थानको इतिहासमै ऐतिहासिक गरिमा कायम राख्दै महिनौंसम्म लगातार प्रदर्शन भई रजत जयन्ती मनाउन सफल महाकवि लक्ष्मीप्रसाद देवकाटा कृत लोकप्रिय खण्डकाव्य मुनामदनलाई संस्थानका पूर्वकर्मचारी वरिष्ठ सङ्गीतकार नेपाल कलाभूषण श्री चन्द्रराज शर्माज्यूको सङ्गीत, संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यज्यू लगायतले गाउनुभएको र संस्थानका पूर्वकर्मचारी श्री गोविन्द प्रसाद तिमिल्सिनाज्यूले पहिलो निर्देशन गर्नुभएको “गीति नाटक मुनामदन” को श्रव्य सामग्री वर्षौंदेखि हराएकोले मञ्चन तथा प्रदर्शन हुन गर्न सकेको थिएन । तर वर्तमान नेतृत्वको अथक प्रयासमा खोजगरी श्रव्य सामग्री प्राप्त गरिएकोले सो अत्यधिक रूचाइएको गीति नाटक मुनामदनलाई मञ्चन गरी “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत समुद्घाटन गरी नियमित प्रदर्शन गरिने तयारी गरिएको छ ।
गीति नाटक मुनामदन सम्बन्धी धारणा : प्रा.डा.पद्म देवकोटा
महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र तथा साहित्यकार प्रा.डा. श्री पद्म देवकोटाज्यूले गीति नाटक मुनामदन वर्षौंपछि प्रदर्शन हुन लागेकोमा संस्थानलाई सफलताको शुभकामना सहित परिवारको तर्फबाट आभार प्रकट गर्नु भएको छ । मिति २०८१ साल फागुन ४ गते, सोमबारका दिन सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू सँगको भेटघाटमा उहाँले भन्नु भयो, “लोकप्रिय खण्डकाव्य मुनामदनलाई गीति नाटकको रूपमा संस्थानद्वारा मञ्चन तथा प्रदर्शन गरिएको ५० वर्ष पुरा भइसकेछ, ५० वर्ष पश्चात् पुनः प्रदर्शन हुनु, नयाँ पुस्तामाझ व्यावहारिक रूपमा गीति नाटकको रूपमा मुनामदन प्रदर्शीत हुने कुराले असाध्यै खुशी लागेको बताउनु भयो । संस्थानले लगातार प्रदर्शनी गर्नुपर्ने तर बीचमा धेरै वर्ष प्रदर्शन नहुँदा दुःख लागेको तर्फ जोडदिँदै सायद उक्त गीति नाटक अब प्रदर्शन हुँदैन होला भन्ने लागेको थियो तर पुनः प्रदर्शन हुन लागेको कुराले हर्षित भएको छु । मात्रै यत्ति हो कि मुनामदनको मर्म नमर्नेगरी प्रदर्शन गरिदिन तथा पहिले प्रकाशित संस्करणहरूमा मुनामदनको केही अंश छुटेकाले आफूले स्वयं खोज अनुसन्धान गरी पछिल्लो समय आदर्श पब्लिकेशनबाट प्रकाशनमा ल्याएको मुनामदनमा पुरा भाग समेटिएको बताउँदै सोही पुरा भाग समेटिएको मुनामदन अध्ययन गरी सोही अनुरूप मञ्चन तथा प्रदर्शन गरिदिन समेत अनुरोध गर्नु भयो । नेपालमा राज्यबाट कवि, साहित्यकार, स्रष्टा, सर्जकका बौद्धिक अधिकारको नीति स्पष्ट नभएकोमा दुःख व्यक्त गर्नु भयो । बौद्धिक अधिकार बारे अन्तर्राष्ट्रिय प्रयासहरूलाई मध्यनजर गर्दै सम्बन्धित स्रष्टा मरेपछि कम्तीमा ८५ वा १०० वर्षसम्म आर्थिक र नैतिक अधिकार संरक्षित हुने प्रावधान ल्याइनु पथ्र्यो तर त्यसो हुन नसेकेकोले त्यसमा संस्थानले पहल गर्नुपर्ने बताउनु भयो । साथै प्रतिलिपि अधिकार सम्बन्धी कानून जेसुकै भएपनि अन्तर्राष्ट्रिय हिसाबमा सम्बन्धित स्रष्टालाई शिष्टाचारले सम्बोधन गर्ने चलन छ, तर नेपालमा सम्बन्धित स्रष्टालाई शिष्टाचारको सम्मान हुने प्रचलन कहिले आउला र ? भन्ने चिन्ता व्यक्त गर्नु भयो । गीति नाटक मुनामदनको गरिमा कायम रहनेगरी प्रदर्शन गर्नुहुन अनुरोध गर्दै त्यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारको पुरा साथ रहने प्रतिबद्धता सहित हालको महाप्रबन्धकले हराइसकेको गीति नाटक मुनामदन खोजगरी पुनः प्रदर्शनको तयारी गर्नु भयो तसर्थ यो अत्यन्तै सराहनीय कदम रहेको भन्दै महाप्रबन्धकज्यूप्रति आभार प्रकट गर्नु भयो ।
संस्थानको तर्फबाट प्रतिबद्धता : महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू
उक्त भेटघाटमा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थान पछिल्लो समय सुशासन स्थापना गर्ने अठोटकासाथ अगाडि बढेकोतर्फ जोडदिँदै संस्थानका विकृति–बेथिति विरुद्ध अझै सशक्त रूपमा लाग्ने एवम् राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका नेपाल सरकारको सांस्कृतिक सम्पत्तिको उत्खनन गरी संस्कृतिलाई संरक्षण सहित उत्पादनतर्फ जोड दिई समृद्धिको आधार तय गर्ने वर्तमान नेतृत्वको दीर्घकालीन सोच अनुसार संस्थानका हरेक नीति तथा कार्यक्रमलाई अगाडि बढाउने प्रयास गरेको जानकारी दिनु भयो । साथै उहाँले सांस्कृतिक संस्थानको कार्यप्रकृति विशिष्ट प्रकृतिको हुने भएकाले संस्थानमा कार्यरत कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी भनेकै नेपालको पहिचानयुक्त संस्कृतिलाई सिर्जनशील कला (गायन, वादन, नृत्य, अभिनय, लेखन, संगीत, कोरियोग्राफर, निर्देशन आदि) मार्फत अभिव्यक्त गरी संरक्षण गर्ने भएकाले संस्थानमा कार्यभार ग्रहण गरुञ्जेलसम्म संस्थानको नीति तथा कार्यक्रम बमोजिम नेतृत्व तथा कर्मचारीले गरेका सिर्जनशील क्रियाकलापको आजीवन सर्वाधिकार नेपाल सरकारको स्वामित्वमा हुने भएकाले राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका सम्पूर्ण सांस्कृतिक सम्पत्तिको उत्खनन गरिने तथा यदि कुनै व्यक्ति वा संस्थाले मनपरी सांस्कृतिक संस्थान (नेपाल सरकार) को सांस्कृतिक सम्पत्तिको दुरुपयोग गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने बताउनु भयो । गीति नाटक मुनामदनको प्रमुख श्रेय महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जाने भएकाले महाकविलाई उच्च सम्मानकासाथ संस्थानले सदा कदर गर्ने तथा गीति नाटक मुनामदनसँग आबद्ध सम्पूर्ण स्रष्टा, कलाकारलाई समेत सदा कदर गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सम्बन्धित स्रष्टा सर्जकको बौद्धिक अधिकारलाई नेपाल सरकारको आधिकारिक निकाय सांस्कृतिक संस्थानले संरक्षणको लागि कदम चाल्नेछ । राष्ट्रका अंगहरू जसले कृति छोडेर मरेर जान्छ तर मरेर गइसकेका राष्ट्रिय व्यक्तित्वहरूको कृति माथि भोगचलन गर्ने परिपाटी प्रति संस्थानको विशेष ध्यानाकर्षण भएको तर्फ जोडदिँदै यस्ता बेथितिलाई निर्मूलन गर्न वर्तमान नेतृत्व विशेष कदम चाल्दै अगाडि बढ्ने प्रयास गरेकोले गीति नाटक मुनामदनलाई मर्म नमर्नेगरी प्रदर्शन गर्ने तथा सम्बन्धित स्रष्टाको कृतिको सम्मान सहित सजीव प्रदर्शनीद्वारा व्यावहारिक ज्ञान नयाँ पुस्तामाझ सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै गीति नाटक मुनामदन वर्तमान नेपालको प्रतिविम्ब भएकाले यसबाट समाजमा नवजागरणमूलक सन्देश प्रवाह हुनेतर्फ विश्वास व्यक्त गर्नु भयो । गीति नाटक मुनामदन नयाँ वर्षको अवसरमा “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत समुद्घाटन भई निरन्तर रूपमा संस्थानको मेगा प्रेक्षालयमा र देशैभरी तथा अन्तर्राष्ट्रिय रूपमा समेत जनचाहना अनुसार प्रदर्शन गरिने समेत बताउनु भयो ।
ऐतिहासिक गीति नाटक मुनामदनको शुभारम्भ कहिले र कसरी भयो ?
वि.सं.२०१६ सालमा स्थापित राष्ट्रिय नाचघरको नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुर्नगठन भएपश्चात् सांस्कृतिक संस्थानको तेस्रो वार्षिकोत्सवको अवसरमा वि.स.२०३२ साल असार ५ गते गीति नाटक मुनामदन पहिलोपटक प्रदर्शन गरिएको थियो । तत्कालीन महाप्रबन्धक श्री इन्द्रप्रसाद काफ्लेज्यूको नेतृत्वको संस्थान सञ्चालक समितिको मिति २०३२/०२/२४ को बैठकबाट असार १ देखि ४ गतेसम्म रिहर्सल गर्ने र असार ५ देखि ७ गतेसम्म प्रदर्शन गर्ने भनी निर्णय भए बमोजिम गीति नाटक मुनामदनलाई आधिकारिक ढंगले प्रदर्शनीको लागि तय गरिएको हो । गीति नाटक मुना मदनलाई न्यायोचित उत्पादन र प्रदर्शन गर्नका निम्ति तत्कालीन संस्थानका कर्मचारीहरू प्रदर्शन शाखा प्रमुख श्री गोविन्द प्रसाद तिमिल्सिनालाई निर्देशन, संगीत प्रबन्धक श्री चन्द्रराज शर्मालाई संगीत तथा गायन प्रबन्धक श्री नारायणगोपाल गुरुवाचार्यलाई गायन संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको लोकप्रिय खण्डकाव्य “मुनामदन” मा आधारित गीति नाटक मुनामदनलाई संस्थानले मञ्चन तथा प्रदर्शन गरेको हो । तत्कालीन ने.भा.प्र. समितिबाट वि.सं.२००७ सालमा प्रकाशन गरिएको मुनामदनको तेस्रो संस्करणमा कृतज्ञता र परिचय शीर्षक अन्तर्गत ने.भा.प्र. समिति मार्फत लेखकद्वारा सर्वाधिकार राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) लाई हस्तान्तरण गरेको र सो हस्तान्तरण गरे बापत संस्थानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी धर्मपत्नी श्री मनदेवी देवकोटालाई केही आर्थिक सहयोग समेत प्रदान गरेको व्यहोरा संस्थान सञ्चालक समितिको मिति २०३२/०५/२० को बैठक निर्णयमा स्पष्ट उल्लेख गरिएको छ । संस्थानमा सबैभन्दा सर्वाधिक सफलता हासिल गर्न सफल गीति नाटक मुनामदनले ऐतिहासिकता कायम गरेको तथ्यहरू सञ्चालक समितिको मिति २०३२/०६/०९, मिति २०३२/०६/२४, मिति २०३२/०८/०१, मिति २०३२/०८/१९ लगायतका बैठकहरूको निर्णयानुसार गरिएका क्रियाकलापहरू जस्तै : १०० दिन मनाएको, लगातार ६/७ महिनाभन्दा बढी प्रदर्शन भएको, रजत जयन्ती मनाएको, तत्कालीन अभिनय गर्ने कलाकारहरू, निर्देशक, गायक/गायिका, संगीतकार, वाद्यवादकहरू, प्राविधिकहरू तथा गीति नाटक मुनामदनमा आबद्ध सम्पूर्णलाई सम्मान गरिएको, तत्कालीन राजारानीबाट बक्सिस दिइएकोबाट स्पष्ट हुन्छ ।
गीति नाटक मुनामदनको स्थापकहरूको विवरण :
कुनैपनि गीति नाटक एक कृतिको रूपमा जन्म हुनको निम्ति त्यसमा थुप्रै श्रमजीवी मनहरूको अतुलनीय योगदान रहेको हुन्छ । गीति नाटक मुनामदनको उत्पादनका निम्ति शुभारम्भमा सिर्जनशील क्रियाकलाप मार्फत विशेष योगदान दिने ती महान् राष्ट्रिय अंगहरू बारे तपसिलमा उल्लेख गरिन्छ ।
गीति नाटक : मुनामदन
लेखक : महाकवि लक्ष्मीप्रसाद देवकोटा
सङ्गीत : नेपाल कलाभूषण चन्द्रराज शर्मा
गायन : स्वरसम्राट नारायण गोपाल, तारादेवी, गणेश रसिक, कमला श्रेष्ठ, मणिक रत्न, इन्द्रनारायण मानन्धर, कमल क्षेत्री, नविन किशोर राई, भुवन चन्द थापा आदि ।
वादन : विश्वनाथ कार्की, प्रेमदेव गिरी, कृष्ण परियार, धिर्ज लाल कुलु, न्हुछेमान डंगोल, अर्जुन श्रेष्ठ, रामशरण नेपाली, लालबहादुर आदि ।
पहिलो निर्देशन : गोविन्द प्रसाद तिमिल्सिना
पहिलोपटक अभिनय गर्ने संस्थानका कलाकारहरू : विमला श्रेष्ठ, कोकिल गुरुङ, श्याम प्रजापति, वसुन्धरा भुसाल, कृष्णा प्रधान, सुभद्रा अधिकारी, पुष्पलता तिखत्री, नारायण कृष्ण श्रेष्ठ, सरिता श्रेष्ठ, आशा रजपूत, टेकराज भारती, वेदकुमार, रामबहादुर, अर्जुन गुरुङ, गोपाल बस्नेत, भरतराज, दिलबहादुर, बालकलाकार : मोहन गुरुङ र कुमारी शान्ता आदि ।
आभूषण तथा मेकअप डिजाइनर : श्री कृष्ण रत्न कंसाकार
प्राविधिकहरू : शिव प्रसाद, श्याम मानन्धर, जगत बहादुर
पहिलोपटक गीति नाटक मुनामदन मञ्चन तथा प्रदर्शन सम्पन्न हुनका निम्ति विशेष योगदान दिने नेतृत्व तथा सम्पूर्ण कर्मचारीहरूलाई उच्च सम्मान प्रकट गर्दै संस्थानको विभिन्न कालखण्डमा प्रदर्शन भएका गीति नाटक मुनामदनमा विशेष योगदान दिने सम्पूर्ण नेतृत्व तथा कर्मचारीहरूलाई समेत हार्दिक आभार प्रकट गर्दछौं । गीति नाटक मुनामदन बारे कपोलकल्पित इतिहास बनाइने र इतिहास मेट्ने दुष्प्रयास भएको यदाकदा पाइने गरेकोले त्यसप्रति संस्थानको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउँदै इतिहास मेट्ने छुट कसैलाई नरहेकोले यस्तो संवेदनशील विषयमा सत्यतथ्य पृष्ठभूमि नबुझी इतिहास मेट्ने दुष्प्रयास नगरिदिनुहुन सम्बन्धित सबैमा विनम्रतापूर्वक अनुरोध गर्दै गीति नाटक मुनामदनको सत्यतथ्य इतिहास माथि उल्लेखित नै शत् प्रतिशत भएको व्यहोरा समेत सम्पूर्णमा जानकारी गराउँदछौं ।
वर्षौंपछि ऐतिहासिक गीति नाटक मुनामदन प्रदर्शन हुँदै
६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल सांस्कृतिक संस्थान संस्कृतिलाई सजीव रूपमा प्रदर्शन गरी संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्नु प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ । यसै अनुरूप संस्थानको इतिहासमै ऐतिहासिक गरिमा कायम राख्न सफल “गीति नाटक मुनामदन” को श्रव्य सामग्री वर्षौंदेखि हराएकोले मञ्चन तथा प्रदर्शन हुन गर्न सकेको थिएन । तर वर्तमान नेतृत्वको अथक प्रयासमा खोज गरी श्रव्य सामग्री प्राप्त गरिएकोले सो अत्यधिक रूचाइएको गीति नाटक मुनामदनलाई मञ्चन गरी “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत समुद्घाटन गरी नियमित प्रदर्शन गरिने तयारी गरिएको छ । गीति नाटक मुनामदनलाई जनचाहना अनुसार देशैभरी तथा अन्तर्राष्ट्रिय रूपमा समेत प्रदर्शन गरिने बताइएको छ ।
संस्थानमा पछिल्लो समय सुशासन स्थापना गर्ने अठोटकासाथ अगाडि बढेकोतर्फ जोड दिँदै संस्थानका विकृति बेथिति विरुद्ध अझै सशक्त रूपमा लाग्ने एवम् राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका नेपाल सरकारको सांस्कृतिक सम्पत्तिको उत्खनन गरी संस्कृतिलाई संरक्षण सहित उत्पादनतर्फ जोड दिई समृद्धिको आधार तय गर्ने वर्तमान नेतृत्वको दीर्घकालीन योजना अनुसार संस्थानका हरेक नीति तथा कार्यक्रमलाई अगाडि बढाइने महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले जानकारी दिनुभयो । साथै उहाँले सांस्कृतिक संस्थानको कार्यप्रकृति विशिष्ट प्रकृतिको हुने भएकाले संस्थानमा कार्यरत कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी भनेकै नेपालको पहिचानयुक्त संस्कृतिलाई सिर्जनशील कला (गायन, वादन, नृत्य, नाटक, लेखन, संगीत, कोरियोग्राफर, निर्देशन आदि) मार्फत अभिव्यक्त गरी संरक्षण गर्ने भएकाले संस्थानमा कार्यभार ग्रहण गरुञ्जेलसम्म संस्थानको नीति तथा कार्यक्रम बमोजिम नेतृत्व तथा कर्मचारीले गरेका सिर्जनशील क्रियाकलापको आजिवन सर्वाधिकार नेपाल सरकारको स्वामित्वमा हुने भएकाले राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका सम्पूर्ण सांस्कृतिक सम्पत्तिको उत्खनन गरिने तथा यदि कुनै व्यक्ति वा संस्थाले मनपरी सांस्कृतिक संस्थान (नेपाल सरकार) को सांस्कृतिक सम्पत्तिको दुरुपयोग गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने समेत बताउनु भयो । गीति नाटक मुना मदनलाई टिकट शो, प्रायोजनमैत्री तथा डिजिटल उत्पादनमैत्री बनाउने उद्देश्य राखिएको छ ।
हाल प्रदर्शन हुने तयारीमा रहेको गीति नाटक मुनामदनमा आबद्ध संस्थानका कर्मचारीहरू :
हाल प्रदर्शन हुने तयारीमा रहेको गीति नाटक मुनामदनमा आबद्ध संस्थानका कर्मचारीहरू बारे तपसिलमा उल्लेख गरिन्छ ।
हालको निर्देशन : माया थापा
हाल अभिनय गर्ने संस्थानका कलाकारहरू : रेखा कुमारी कटुवाल श्रेष्ठ, माया थापा, सुशिला थापा, रामभजन कामत, दिपेन्द्र बज्राचार्य, रोहित सुवेदी, नरेश प्रजापति, गीता थापा, विपिन घिमिरे, अक्कल पाख्रिन आदि ।
पात्रहरू विशेष भूमिका :
मुना : सुशिला थापा
मदन : विपिन घिमिरे
मदनका साथीहरू : रोहित सुवेदी, नरेश प्रजापति, रामभजन कामत
आमा : माया थापा
दिदी : रेखा कुमारी कटुवाल श्रेष्ठ
नैनी : गीता थापा
भोटे : दिपेन्द्र बज्राचार्य
भोटेको साथी : अक्कल बहादुर पाख्रिन
भोटेको छोरा : अनमदर्शि बज्राचार्य