“नेपाली उपशास्त्रीय सङ्गीत समारोह – २०८३” भव्यताका साथ सम्पन्न
५ जेठ २०८३ काठमाडौँ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सजीव कला प्रदर्शनी सम्बन्धी नेपाल सरकारको एकमात्र आधिकारिक निकाय तथा संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको आयोजनामा नेपाली उपशास्त्रीय सङ्गीतको संस्कृति निर्माणार्थ नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ आयोजित “नेपाली उपशास्त्रीय सङ्गीत समारोह – २०८३” सभ्य–भव्य रूपमा सु–सम्पन्न भएको छ । मिति २०८२ जेठ ५ गते संस्थानको मिनी प्रेक्षालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा सभाध्यक्ष संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, प्रमुख अतिथि वरिष्ठ उपशास्त्रीय गायिका श्री संगीता प्रधान राना ज्यू, अतिथिहरू ललितकला केन्द्रीय विभाग प्रमुख श्री डा.अञ्जु उप्रेती ज्यू, वरिष्ठ सितार वादक श्री प्रा.डा.ध्रुवेश चन्द्र रेग्मी ज्यू, वरिष्ठ शास्त्रीय गुरु श्री धन बहादुर गोपाली ज्यू, वरिष्ठ शास्त्रीय साधक श्री डा.रमेश पोखरेल ज्यू, वरिष्ठ शास्त्रीय साधक श्री श्री केसी ज्यू, प्राध्यापक श्री गोकुल लिम्बु ज्यू, समाजसेवी तथा सगरमाथा फाउन्डेशन अध्यक्ष श्री सावित्री अधिकारी ज्यू लगायत शास्त्रीय सङ्गीतका दिग्गजदेखि अनुजसम्मका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थानका कलाकारको तर्फबाट गंगा माई गायन, उपशास्त्रीय विशेष धून र लहचारी गायन प्रस्तुति गरिएको थियो भने काठमाडौँ विश्वविद्यालयको तर्फबाट वरिष्ठ सारङ्गी वादक श्री भरत नेपालीज्यूको समूहले सारङ्गीमा धून, वरिष्ठ सितार वादक श्री प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीज्यूले उपशास्त्रीय विशेष कार्यपत्र प्रस्तुत, सङ्गीत प्रविण नरराज ढकाल स्मृति प्रतिष्ठानको तर्फबाट वरिष्ठ शास्त्रीय सङ्गीतका साधकद्वय श्री प्रभुराज ढकाल र श्री प्रतीकराज ढकालज्यूको समूहबाट उपशास्त्रीय विशेष ठुमरी गायन, रत्नराज्यलक्ष्मी क्याम्पसको तर्फबाट शास्त्रीय तथा लोक सङ्गीतका साधक श्री अजर जंगमज्यूको समूहबाट उपशास्त्रीय विशेष गायन, ललितकला केन्द्रीय विभागको तर्फबाट प्राध्यापक तथा लोक सङ्गीतका अनुसन्धानकर्ता श्री गोकुल लिम्बुज्यूको समूहबाट नेपाली उपशास्त्रीय विशेष मघौटामा मौलिक प्रस्तुति, ध्रुपद सेन्टर नेपालको तर्फबाट वरिष्ठ शास्त्रीय साधक श्री श्री के.सी.ज्यूको समूहबाट नेपाली उपशास्त्रीय विशेष वसन्तमा उपशास्त्रीय गायन प्रस्तुत गर्नुभएको थियो ।










कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो उहाँले राख्नुभएको मन्तव्यको सारांशः–

“हामीले संस्थानको आ.व.२०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरी पहिलोपटक नेपाली उपशास्त्रीय सङ्गीत समारोहलाई समेटेर गत वर्षदेखि कार्यक्रमको औपचारिक शिलान्यास गरेका हौँ । संस्थानले आफ्नो नीति तथा कार्यक्रम तोकिएको समयसीमामै सम्पन्न गर्न वार्षिक नीति तथा कार्यक्रमयुक्त भित्ते पात्रो अनुसार नेपाली उपशास्त्रीय सङ्गीत समारोह कार्यक्रमको मिति जेठ ५ गतेलाई स्पष्ट रूपमा उल्लेख गरेतापनि गत वर्ष पहिलोपटको कार्यक्रम भएकाले तयारीको गृहकार्य गर्नुपर्ने भएकाले ५ गते अन्तरक्रिया कार्यक्रम गरी संवत् २०८२ साल जेठ १२ गते सम्पन्न गरेका थियौं । तर यसपटक हामीले तोकिएकै समयसीमामा कार्यक्रम सम्पन्न गर्ने जमर्को गरेका छौं । जेठ ५ गते नै संस्थानमा उपशास्त्रीय सङ्गीतको कार्यक्रम हुन्छ भन्ने प्रणालीको विकास गरी एउटा ब्रान्ड स्थापना गर्न संस्थान प्रतिबद्ध छ । उपशास्त्रीय सङ्गीत (अर्धशास्त्रीय सङ्गीत) भनेको शास्त्रीय सङ्गीत र लोक सङ्गीतलाई नङमासुको सम्बन्ध स्थापित गराउने सेतु भएकाले उपशास्त्रीय सङ्गीतको मूल मर्म नमर्ने गरी नेपालीपन भएको, नेपालीहरूले आफ्नोपनको आभास गर्नसक्ने नेपाली उपशास्त्रीय सङ्गीतको सत्यतथ्य खोज–अनुसन्धान गरी यसको वेग्लै संस्कृति निर्माण गर्नु नै अनिवार्य शर्त हो । यो कार्यक्रमले त्यसतर्फ नवजागरण प्रवाह गर्नेछ भन्ने उद्देश्यका साथ नीति तथा कार्यक्रममै समावेश गरिएको हो । मैले बारम्बार उद्घोष गर्दै आएको छु, कि सिर्जनशील प्राणीको प्रमुख समस्या नीतिगत चेतनास्तरको विकास नहुनु हो । हामी कलाकार भन्ने नचाहिँदो क्षणिक मानमर्यादामा अभ्यस्त हुने प्रवृत्तिका कारण उपभोग्य साधनको रूपमा आजसम्म प्रयोग भएका छौँ । तसर्थ नीतिगत चेतनास्तर अभिवृद्धि भएपछि मात्र कला सम्बन्धी स्पष्ट राज्यनीति सहितको अधिकार सुनिश्चित हुनसक्छ । त्यसका लागि सिर्जनशील प्राणीको साझा आवाज आजको आवश्यकता हो । सिर्जनशील प्राणीले आफ्नो सिर्जनामा संसार अटाउने सामथ्र्य राख्न सक्नुपर्छ । तर विडम्बना सिर्जनशील प्राणीको नीतिगत चेतनामा दिनहुँ ह्रास हुँदै गएको छ । सबैभन्दा ठूलो शत्रु भनेको मानवको सोच हो । सकारात्मक सोचले शिखर चुमाउँछ, नकारात्मक सोचले आफ्नै अस्तित्व गुमाउँछ । म कलाक्षेत्रकै पृष्ठभूमि भएको नाताले पनि मेरो चाहना यत्ति हो कि मैले यहाँ नेतृत्व गर्दैगर्दा नेपाली सङ्गीतका हरेक विधा बीचको अन्तर मतभेद अन्त्य गरी कलाको स्पष्ट राज्यनीति बनाउन सम्पूर्ण सिर्जनशील प्राणीहरूको साझा आवाजको लागि नवजागरण प्रवाह गर्नु हो । नेपाली समाजले अंगीकार गर्दै आएका सङ्गीतका विधाहरूमा चाहे लोक, सुगम, पप, र्याप, चलचित्र, शास्त्रीय, उपशास्त्रीय लगायत भोलिका दिनहरूमा समेत निर्माण हुने अन्य विधाको अस्तित्वलाई स्वीकार्ने गरी हरेक लोकतान्त्रिक पद्धति अनुसार हरेक विधालाई समान ढंगले समावेश गरी वर्तमान नेतृत्वको पहलमा यस आ.व.मा ७१ भन्दा बढी वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरी अगाडि बढेका हौँ । त्यतिमात्र होइन यी नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गर्न निकायगत कार्यप्रकृति बमोजिम अपरिहार्य तथा सिर्जनशील प्राणीका लागि त झनै अपरिहार्य हालसम्मको इतिहासमा कार्ययोजनामै सीमित रेकर्डिङ स्टुडियो, सेमिनार हल, अभ्यास कक्ष, डिजिटल युगसँगै श्रव्यदृश्य सामग्री प्रकाशनका लागि युटुब, एप–एप्लिकेसन जस्ता प्रविधिको व्यवस्था गरी युगौंयुगसम्मका लागि वैज्ञानिक मार्गचित्रणको निर्माण गरेर अगाडि बढेका छौँ । थाहा छैन यी नीति तथा कार्यक्रमले भोलि निरन्तरता पाउँछन् कि पाउँदैनन्, यी संरचना र प्रविधिले सार्थकता पाउँछन् कि पाउँदैनन् ? आजको यही कार्यक्रमको मूल भावमा रहेर म यहाँ कार्यरत सिर्जनशील प्राणीहरूलाई भन्न चाहन्छु कि वर्तमान नेतृत्वले प्राणको दाउमा राखेर बडो मुस्किलले निकायगत कार्यप्रकृतिलाई शिरोधार्य गर्दै संस्थानको नीति तथा कार्यक्रममा समावेश गरिएको नेपाली उपशास्त्रीय सङ्गीत समारोह कार्यक्रमले भोलिका दिनमा निरन्तरता पाएन भने एकपटक आफ्नो अनुहार राम्रोसँग ऐनामा हेर्नु, ७१ भन्दा बढी नीति कार्यक्रम मध्ये जतिजति कार्यक्रमले निरन्तरता पाउँदैनन् त्यति नै पटक आफ्नो अनुहार ऐनामा हेर्नु त्यो भन्दा पनि हामीले निर्माण गरेका संरचना र प्रविधिले सार्थकता पाएनन् भने कम्तीमा हजारपटक आफ्नो अनुहार ऐनामा हेर्नु त्यति गर्दा पनि नीतिगत चेतनास्तरमा लागेको धूलो पहिचान गर्न नसकी ऐनालाई नै दोषी बनाएर ऐना पुछ्ने तिरै लाग्नुभयो भने सिर्जनशील प्राणीको कलानीतिलाई राज्यनीति बनाउने कुरा त कुन चराको नाम ? नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय जहाँ सिर्जनशील प्राणीहरू नै कर्मचारीको रूपमा कार्यरत हुन्छन् । कलानीतिलाई राज्यनीति बनाउन कलाको औचित्य पुष्टि गर्दै नवजागरण प्रवाह गर्नु तपाईंहरू सिर्जनशील प्राणीहरूको प्रमुख अभिभारा भएकाले यी हाम्रा नीति तथा कार्यक्रमले निरन्तरता पाएभने तथा वैज्ञानिक ढंगले सार्थकता पाएभने मात्र एकदिन अवश्य कलाको स्पष्ट राज्यनीति निर्माण हुने दिशाबोध हुनसक्छ । भोलिका दिनमा यदि यी नीति तथा कार्यक्रम यो या त्यो बहानामा मेटाइएछ भने किनकी यहाँ त फेरि मेटाउने र मेट्नेको प्रतिस्पर्धा चल्छ, त्यस्तो घडीमा यति बजेट कोडको यो नीति तथा कार्यक्रम खोई ? कार्यक्रमको औचित्य पुष्टि हुँदाहुँदै के कारण हटाइयो भनेर प्रश्न गर्ने नीतिगत चेतनास्तरको खोजी वर्तमान नेतृत्वले गरिरहेको छ । फेरि पनि भन्छु स्मरण रहोस् दीर्घकालीन संस्थानको हित तथा स्पष्ट कलाको राज्यनीतिका लागि दिशाबोध गर्ने अभिप्रायका साथ वर्तमान नेतृत्वले आफ्नो ज्यान दाउमा राखेर तर्जुमा गरेका यी नीति तथा कार्यक्रम हुन् । मैले कार्यभार सम्हालेसँगै मेरो काम तपाईंहरूलाई नीतिगत पक्षको कखरा अभिमुखीकरण गर्ने कार्यमै व्यतीत गरेको छु । त्यसैले अब तपाईंहरूले थोरै भएपनि नीतिगत चेतनाको स्तर वृद्धि गर्नैपर्छ । सम्झिनुहोस् ती दिनहरू मैले कार्यभार सम्हाल्नुपूर्वको अवस्था तपाईंहरूको सेवा सुविधा पुर्याउनै गाह्रो, वर्षौंदेखि सञ्चयकोष, नागरिक लगानी कोषमा करोडौं दायित्व सिर्जना भएको, उपदानको करोडौँ दायित्वले संस्थान उठ्नै नसक्ने गरी थला परेको अनि फेरि तपाईंहरू मूकदर्शक भएर बस्ने ? यत्ति कुरा त स्मरण छ नि कि यहाँ हामीले आफै उत्पादन गरेर कर्मचारी सेवा सुविधा र नीति तथा कार्यक्रम सम्पन्न गर्नुपर्ने हुन्छ । यस्ता किसिमका कठिन परिस्थितिको बाबजुद पनि वर्तमान नेतृत्वले संस्थानलाई वर्षौंदेखि अहिततर्फ लैजाने स्वार्थ समूहको जालोलाई भत्काउँदै सुशासन स्थापना गरी हरेक समस्याका समाधानका लागि पहल गरी ७१ भन्दा बढी नीति तथा कार्यक्रम सम्पन्न गर्ने कठोट गरेका छौं । गरेपछि सम्भव छ भन्ने व्यावहारिक उदाहरण तपाईंहरूको सामू प्रमाणित भएको छ । अबको युग सक्किनेहरू सक्किएरै जाने, सच्चिनेहरू सच्चिएरै जाने भएकाले सिर्जनशील प्राणीहरू नीतिगत ढंगले सच्चिएर नेपाली उपशास्त्रीय सङ्गीत समारोह सहित सम्पूर्ण नीति तथा कार्यक्रमले युगौंयुगको निरन्तरता पाउन् भन्ने कामना गर्दछु । आजको दिन फेरिपनि म मेरा सम्पूर्ण गुरुवर्गलाई साक्षी राखेर भन्न चाहन्छु, हरेक समस्याले ग्रस्त निकायमा सुशासन स्थापना गरी प्राणको दाउमा राखेर हरेक समस्या समाधानतर्फ जोडदिँदै गत वर्ष झण्डै ७० प्रतिशत आयमा वृद्धि गर्नुले “सिर्जनशील प्राणीहरू इमानदार, कर्तव्यनिष्ठ र स्वाभिमानी हुन्छन् भन्ने एउटा सशक्त उदाहरण राज्यसामू खडा भएको छ ।” सिर्जनशील प्राणीहरूको अधिकार सहितको स्पष्ट राज्यनीतिका लागि इमानदार, कर्तव्यनिष्ठ र स्वाभिमानी बनी नीतिपरक साझा आवाज अपरिहार्य छ भन्ने कुरालाई विशेष शिरोधार्य गर्नुहुन म सम्पूर्ण सिर्जनशील प्राणीलाई अनुरोध गर्दछु ।”

कार्यक्रममा प्रमुख अतिथि श्री संगीता राना प्रधानज्यूले मन्तव्य राख्नुहुँदै नेपाली लोक सङ्गीत र शास्त्रीय सङ्गीतको मतभेदलाई अन्त्य गर्न नेपाली उपशास्त्रीय सङ्गीत समारोहले विशेष पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली उपशास्त्रीय सङ्गीतमा शास्त्रीय सङ्गीतमा जस्तो कडा नियम पालना गर्नु नपर्ने भएतापनि यसको वेग्लै संस्कृति भएकाले प्रस्तुतीकरणमा त्यसलाई विशेष ध्यान दिनुपर्नेतर्फ जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ सितार वादक श्री प्रा.डा.ध्रुवेश चन्द्र रेग्मीज्यूले उपशास्त्रीय सङ्गीत विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै सङ्गीतको कुनै भूगोल, परिधि तथा सीमा नहुने तर्फ विशेष जोड दिनुहुँदै फराकिलो सोचको विकास हुनुपर्ने बताउनु भएको थियो । उहाँको कार्यपत्र पूर्ण पाठ संस्थानको आगामी बुलेटिनमा प्रकाशन गरिनेछ ।

शुभकामना मन्तव्य दिनुहुँदै प्राध्यापक एवम् लोक सङ्गीतका अनुसन्धानकर्ता श्री गोकुल लिम्बुज्यूले नेपाली उपशास्त्रीय सङ्गीतको मानक तयार गर्न गहन खोजको जरुरी रहेको बताउनुभयो । त्यस्तै शुभकामना मन्तव्य दिनुहुँदै वरिष्ठ शास्त्रीय सङ्गीतका साधक श्री डा.रमेश पोखरेलज्यूले नेपाली सङ्गीतका विधागत मतभेद अन्त्य गर्न संस्कृतिको दायराबाट गरिने विश्लेषण र राज्याधिकारको दायराबाट गरिने विश्लेषणलाई गहिरो ढंगले एकीकृत गरी बुझ्ने चिन्तनको विकास हुनु अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रम समापन गर्नुहुँदै सभाध्यक्ष तथा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले उपस्थित सबैप्रति आभार प्रकट गर्नुभयो । साथै, उहाँले उपशास्त्रीय सङ्गीतलाई नीति तथा कार्यक्रम मार्फत समेट्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण गुरुहरूको स्मरण गर्दै उहाँहरूको मार्गनिर्देशनलाई शिरोधार्य गर्दै जतिसुकै बाधा अड्चन आएपनि त्यसको सामना गर्दै नयाँ नयाँ सिर्जनशील क्रियाकलापका नीति तथा कार्यक्रम आगामी दिनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रम सञ्चालन संस्थानका वाद्यवादन अधिकृत श्री दुर्गा प्रसाद खतिवडा ज्यू र संस्थानका कलाकार श्री दिपेन्द्र बज्राचार्यज्यूले गर्नु भएको थियो । कार्यक्रमको संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो ।







































