नयाँ वर्षको अवसरमा “शुभारम्भ सांस्कृतिक साँझ – २०८३” भव्यताका साथ सम्पन्नः सांस्कृतिक संस्थान
१ वैशाख २०८३ काठमाडौँ ।
नयाँ वर्ष – २०८३ सालको शुभकामना स्वरूप “सांस्कृतिक पर्यटन मार्फत नेपालको आयमा वृद्धि, अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणबाटै समृद्धि” भन्ने मूल भावका साथ सांस्कृतिक संस्थानको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य, लालीगुराँस मिडिया नेटवर्क मिडिया पार्टनर, रैथाने कृषि एग्री प्रडक्टस्को फूड पार्टनरमा सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम “शुभारम्भ सांस्कृतिक साँझ – २०८३” मिति २०८३ साल वैशाख १ गते सांस्कृतिक संस्थानको मेगा हल, जमल, काठमाडौँमा प्रतिनिधि सभा सदस्य माननीय श्री पुकार बमज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न गरिएको छ । संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूको सभाध्यक्षता रहेको कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखा प्रमुख श्री डा.सुरेश सुरश श्रेष्ठ ज्यू, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष श्री राम प्रसाद सापकोटा (कमल) ज्यू, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्री देवेन्द्र कुमार काफ्ले ज्यू, सांस्कृतिक संस्थानका समिति सदस्यद्वय श्री निर्मला न्यौपाने ज्यू र श्री पूजा श्रेष्ठ ज्यू, नेपाल सरकारका उपसचिवज्यूहरू, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिक्मतसिंह ऐर ज्यू, ललितकला केन्द्रीय विभागका प्राध्यापक श्री गोकुल लिम्बु ज्यू, समाजसेवीद्वय श्री हिमराज पौडेल ज्यू र श्री सावित्री अधिकारी ज्यू लगायत विविध सामुदायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरूको आतिथ्यता रहेको थियो ।


नयाँ वर्षको आरम्भसँगै हरेक नेपालीमा नयाँ उमङ्ग र नयाँ सङ्कल्प सहित आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना सुदृढीकरण गर्दै अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण, सांस्कृतिक पर्यटनको विकास तथा सांस्कृतिक उद्योगको विकास सहित समृद्धिको आधार दिशाबोध गर्न नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली संस्कृतिको समग्र प्याकेजः मौलिक गीत, धून, नृत्य, ललितकला, सांस्कृतिक तथा साहित्यिक पुस्तक, भेषभूषा, मिथकीय अनुष्ठान सहितको मञ्चन कला, रैथाने कृषि उत्पादन तथा सात प्रदेशको रैथाने खाद्यपरिकार, सांस्कृतिक सीपबाट उत्पादित सामग्री लगायतका अभौतिक सांस्कृतिक सम्पदाको प्रदर्शनी र सांस्कृतिक संस्थानका कलाकार तथा अन्य लोकप्रिय कलाकारको प्रस्तुति प्रदर्शन गरिएको थियो ।



कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य श्री पुकार बमज्यूले मन्तव्य राख्नुहुँदै भन्नुभयोः– “८२ सालको अन्तिम दिन संस्कृतिकै विषयमा सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष छलफल गरिएको र ८३ को आरम्भको दिनपनि संस्कृतिकै कार्यक्रममा सहभागी हुन पाउनु आफैमा गौरवको विषय बनेको महसुस भएको छ । आज ३/४ वटा विविध कार्यक्रम भएकाले मैले एक घण्टाको लागि मात्रै भनेर यहाँ आएको थिएँ तर सात प्रदेशको प्रस्तुति प्रदर्शन हुने भनेपछि संस्कृतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्दै सातै प्रदेशको संस्कृतिलाई समानपूर्वक सम्मान गर्नु मेरो अभिभारा सम्झेर मैले अन्य कार्यक्रममा जाने सेडुल रद्द गरेर पुरा कार्यक्रम अवलोकन गर्ने निर्णय गरेको हुँ । सात प्रदेशका प्रस्तुति तथा सांस्कृतिक संस्थानका कलाकारको प्रस्तुति हेर्दै गर्दा आफूले विगतका दिनहरू सम्झिएको भन्दै थुप्रै प्रख्यात कलाकारको नाम समेत लिँनुहुँदै कला क्षेत्रलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको तथा कला–संस्कृतिबाटै देशको पहिचान बोल्ने भएकाले कला–संस्कृतिको संरक्षण गर्नु अपरिहार्य रहेको बताउनुभयो । उहाँले कलाकारलाई राष्ट्रको गहणा भनेर सम्बोधन गरेतापनि व्यावहारिक हुन नसकेकाले देशमा सुशासन स्थापना गर्दै कला क्षेत्रमा राज्यनीति बनाउने विषयमा आफूले सकेको योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले संस्थानका महाप्रबन्धकज्यूले राख्नुभएका संस्थानका समस्या समाधानको लागि म अहिले गर्नसक्छु भनेर आश्वासन दिन चाहन्न तर कुनैपनि विषयको काम हुन्छ भनेर अल्झाउने, कार्यान्वयन नहुने प्रणालीको अन्त्य गर्नु वर्तमान सरकारको आधारभूत लक्ष्य भएकाले संस्थानको विषयमा के–के गर्न सकिने भन्ने कुरा अध्ययन गरेर सकारात्मक ढंगले आफूले सकेको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”



कार्यक्रममा स्वागत मन्तव्य मार्फत संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले राख्नुभएको सारांशः
“नेपाली नयाँ वर्षको अवसरमा नयाँ ऊर्जा र जोश सहित सुशासन तथा सभ्य संस्कृति सहितको समृद्धिका लागि सम्पूर्ण नेपालीहरूले नयाँ सङ्कल्पको साझा आवाज बनाउनुपर्दछ भन्ने नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ नयाँ वर्षको शुभारम्भकै दिन “शुभारम्भ सांस्कृतिक साँझ” लाई नीति तथा कार्यक्रममा समेटेर आयोजना गर्दै आएको बताउनुभयो । उहाँले साँच्चिकै देशमा यतिबेला नयाँ युगको शुभारम्भ भएको बताउँदै विश्व परिवेशलाई नजिकबाट नियाल्दै परिवर्तनको मार्ग खोजिरहेका नेपाली जनताले सभ्य सुशासनयुक्त संस्कृतिसँगै उन्नत नेपाली सभ्यता निर्माणका लागि परिवर्तनका संवाहक युवा शक्तिलाई राज्यको अभिभारा सुम्पिएकाले राष्ट्रियताको सवालमा, सुशासनको सवालमा, आर्थिक समृद्धिको सवालमा, भ्रष्टाचार निर्मूलनको सवालमा, डिजिटल युगसँगै प्रविधिमैत्री स्वरोगारको सवालमा युवाको साझा आवाज हुनुपर्दछ भन्ने सन्देश प्रवाह गर्न तथा युवाशक्तिको जोश, जाँगर, श्रम–सीपलाई स्वदेशमै सभ्य ढंगले सदुपयोग गर्न युवाशक्तिको ऐक्यबद्धता हुनुपर्दछ भन्ने सन्देश सम्प्रेषण गर्न कार्यक्रम आयोजना गरेको बताउनु भयो । त्यतिमात्र नभई उहाँले विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी हरेक जातजातिका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदालाई विश्व सांस्कृतिक सम्पदामा सूचीकरण गरी राष्ट्रिय पहिचानलाई कायम गर्दै सांस्कृतिक पर्यटनको विकासलाई जोड दिन सक्यौंभने हरेक समुदाय आफ्नै संस्कृति मार्फत जीविकोपार्जन गर्नसक्ने तथा आत्मनिर्भर बन्ने लक्ष्यमा चुम्न सकिन्छ भन्ने नवजागरण प्रवाह गर्ने उद्देश्यले पनि यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले राष्ट्रको विभिन्न परिवर्तनका लागि अमूल्य जीवन दिनुहुने सम्पूर्ण सहिदहरूदेखि भर्खरै जेन जी आन्दोलनमा अमूल्य जीवन दिनुहुने सहिदहरूकै त्यागका कारण आज हामी यो परिवेशमा भएकाले सम्पूर्ण सहिद प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदको बलिदानलाई उच्च सम्मान गर्नेहरूलाई सत्मार्गमा लम्किने ऊर्जा प्राप्त हुने र सत्कर्म गर्नेहरूले समाजमा कृति छोड्ने काम गर्ने तथा सहिदको बलिदानलाई अवमूल्यन गर्नेहरूलाई कुमार्गमा लम्किनुपर्ने तथा दुष्कर्मको फल भोग्नैपर्ने तर्फ जोड दिनुहुँदै सहिदको बलिदानलाई सदा उच्च सम्मान गर्दै सहिदको सपना साकार पार्न अरू केही गर्नु पर्दैन राज्यका जिम्मेवार व्यक्तिहरूले आफ्नो काम, कर्तव्य, जिम्मेवारी निष्ठापूर्वक पुरा गरिदिए पुग्ने बताउँदै संस्थानको वर्तमान नेतृत्व यी कुरामा स्पष्ट भई वैज्ञानिक ढंगले नीति तथा कार्यक्रम तर्जुमा गरी व्यावहारिक रूपमा पुष्टि गर्न तत्पर भएकै कारण देशैभरीका सामाजिक क्षेत्रका सार्वजनिक निकाय मध्ये मात्रै सांस्कृतिक संस्थानले अर्थ मन्त्रालयको समीक्षा प्रतिवेदन अनुसार आ.व.२०८१/८२ मा ७० पतिशत हाराहारीमा आयमा वृद्धि गर्न सफल भएको बताउनुभयो । साथै युवाहरू सत्यलाई शिरमा राखेर हरेक राम्रो पक्षको अस्तित्वलाई शिरोधार्य गर्दै सुशासनको संवाहक बन्नुपर्छ भन्ने कुरामा समेत स्पष्ट भई आफूले नेतृत्व सम्हालेसँगै आफ्नो ज्यानै दाउमा राखी संस्थानमा सुशासन स्थापना गरेको जसको प्रतिफल मृत्युशैयाको संस्थानमा मुठी प्राण भरिएको, कर्मचारी तलब सुविधा, सञ्चय कोष, नागरिक लगानी कोषमा समेत वर्षौंदेखि करोडौं दायित्वको समस्या समाधान गरेको, निकायगत कार्यप्रकृृति बमोजिम श्रव्यदृश्य सामग्री उत्पादनका लागि रेकर्डिङ स्टुडियो निर्माण तथा सेमिनार हल निर्माण गरिएको, डिजिटल युगसँगै प्रविधिमैत्री संयन्त्र मार्फत डिजिटल आम्दानीको स्रोत निर्माण गरिएको बताउनु भयो । उहाँले आफूले सुशासन स्थापना गर्दा विचलित पार्ने कुप्रवृत्तिका मानवहरूले दुःख समेत दिएको बताउनुहुँदै परिआए सुशासनको सवालमा प्रमाण पेश गर्ने बताउनु भयो । उहाँले माननीय ज्यू मार्फत हाम्रो तालुक मन्त्रालय तथा सदनमा समेत संस्कृति सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गर्न पहल हुने विश्वास व्यक्त गर्दै समृद्ध राष्ट्र निर्माणका लागि नेपालको मुख्य स्रोत मध्ये सांस्कृतिक स्रोत भएकाले एकपटक मात्र एकपटक संस्कृतिमा लगानी गरेर हेरौं, सम्पूर्ण सांस्कृतिक सीपहरू तथा अभौतिक सांस्कृतिक सम्पदालाई एकीकृत गरी सांस्कृतिक उद्योगको विकास गरी सांस्कृतिक रोजगार सिर्जना गर्ने वातावरण निर्माण गर्नसके देश समृद्धितर्फ जाने कुरामा ध्यानाकर्षण गरिदिनु हुन अनुरोध गर्नुभयो । त्यस्तै संस्कृति, सम्पदा, कला, संस्कृतिविद्, साहित्यकार, कलाकार तथा जन्ममृत्युपर्यन्त सभ्य क्रियाकलाप सम्बन्धी सांस्कृतिक सीप भएका सिर्जनशील प्राणीहरूका लागि छुट्टै ऐन, कानूनको तर्जुमा गरी लागू गर्नसके तथा संस्कृति तथा सम्पदा मन्त्रालय स्थापना गरी संस्कृति तथा सम्पदा सम्बन्धी सम्पूर्ण निकायलाई स्पष्ट क्षेत्राधिकार तोकेर कार्यसम्पादन गर्ने प्रणाली विकास गरे संस्कृतिबाटै समृद्धि सम्भव हुनसक्ने धारणा राख्नुभयो । संस्कृति सम्बन्धी निकायका नीतिगत सुधारलाई विशेष प्राथमिकता दिई तुरुन्तै समस्या समाधान गर्नुपर्ने तर्फ जोडदिँदै उदाहरणका लागि संस्कृति विभाग, राष्ट्रिय नाचघर हुँदै सांस्कृतिक संस्थानसम्म आइपुग्दा ६६ वर्षीय सांस्कृतिक विरासत बोकेको निकायले जति आम्दानी वृद्धि गरेतापनि संस्थानको भवन निर्माणार्थ नेपाल सरकारबाट अनिवार्य अनुदान प्राप्त हुनुपर्नेमा त्यसो नभई त्रुटिपूर्ण ढंगले ऋण हुन गएकाले सधैँ समस्याग्रस्त भएकाले तुरुन्तै नेपाल सरकारको अनुदानकै रूपमा परिणत गरी संस्थानको गरिमा बचाउनुपर्ने धारणा राख्नुहुँदै समस्या समाधानको लागि पहल गरिदिनुहुन अनुरोध गर्नुभयो । साथै संस्थानको इतिहास, क्षेत्राधिकार र कार्यप्रकृति अन्य कुनै निकायसँग तादात्म्यता नराख्ने भएकाले कसैसँग गाभेर पुनर्र्संरचना नभई छुट्टै ऐनका साथ नीतिगत पुनर्संरचना आवश्यकता रहेको बताउनु भयो । उहाँले माननीय प्रमुख अतिथिज्यूलाई विनम्रतापूर्वक अनुरोध गर्नुहुँदै हालसम्मको इतिहासमा सदनमा प्राथमिकताका साथ संस्कृतिको बहस नभएकाले संस्कृति सम्बन्धी बहसको विषय बन्नुपर्ने र सो विषयमा माननीयज्यूको आवाज सुन्न पाइयोस् भन्ने अनुरोध गर्नुभयो । संस्थानको निमन्त्रणालाई स्वीकार्दै पाल्नुहुने प्रमुख अतिथि ज्यू तथा सम्पूर्ण अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्णलाई नयाँ वर्षको शुभकामना तथा हार्दिक आभार प्रकट गर्दै जतिसुकै बाधाहरू आए पनि, परि आए ज्यानै दाउमा लाउन परे पनि, एक इञ्च पनि विचलित नभई वर्तमान सरकारले अघि सारेका सुशासनको नीतिलाई कार्यान्वयन गर्ने यात्रामा अक्षुण्ण लम्किने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”


कार्यक्रममा सभाध्यक्ष संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण निकाय, प्रमुख अतिथि लगायत सम्पूर्ण प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रम सञ्चालन हरि पुन मगरज्यूले गर्नुभएको थियो भने कार्यक्रम संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा प्रमुख श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो ।


कार्यक्रमका प्रमुख उद्देश्यहरू यसप्रकार रहेका थिएः–
१.नयाँ वर्षको शुभारम्भकै दिन नयाँ संकल्प सहित संस्कृतिबाटै समृद्धिको आधार निर्माणका लागि सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण सहित संस्कृति सम्बन्धी स्पष्ट राज्यनीतिको आवश्यकता बारे सांस्कृतिक सन्देश सम्प्रेषण गर्नु,

२.नेपाली संस्कृतिको समग्र प्याकेज (मौलिक गीत, धून, नृत्य, ललितकला, सांस्कृतिक तथा साहित्यिक पुस्तक, भेषभूषा, मिथकीय अनुष्ठान सहितको मञ्चन कला, रैथाने खाद्य परिकार सुदूर पश्चिम प्रदेश – माडा, कर्णाली प्रदेश– कागुनोको खीर, लुम्बिनी प्रदेश– बटुक र चुकौनी, गण्डकी प्रदेश– सेल रोटी, बागमती प्रदेश– योःमरी, मधेश प्रदेश– आलु चप, कोशी प्रदेश– भक्का) प्रदर्शनी मार्फत सांस्कृतिक पर्यटनको विकास सहित सांस्कृतिक उद्योगको निर्माणको आधार निर्माण गर्नु,




३.सांस्कृतिक संस्थानको नीति तथा कार्यक्रमयुक्त समय सूचक भित्तेपात्रो विमोचन मार्फत तोकिएको समयसीमा भित्र चुस्त, दुरुस्त र पारदर्शी ढंगले कार्ययोजना सम्पन्न गर्नु,

४.डिजिटल युगसँगै संस्कृतिलाई प्रविधिमैत्री ढंगले उत्पादनमा जोड्नु,
५.डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले नेपाली संस्कृतिको अस्तित्व संकटमा पर्ने जोखिम बढेकाले संस्कृतिको गरिमा बारे नयाँ पुस्तामाझ सांस्कृतिक सन्देश सम्प्रेषण गर्नु ।
कार्यक्रममा समावेश गरिएका प्रस्ततिहरूः–
१.मौलिक धूनः सांस्कृतिक संस्थान

२.चण्डालीका नृत्यः सांस्कृतिक संस्थान

३.सुदूर पश्चिम प्रदेशको प्रस्तुतिः छलिया नाच

४.सांस्कृतिक प्रहसनः खड्ग बहादुर पुन मगर (खबपु) र दिनेश काफ्ले (हाउडे दाइ)

५.हिमाली भेगको प्रस्तुतिः वालुङ नृत्य

६.कर्णाली प्रदेशको प्रस्तुतिः मयुर नाच

७.पहाडी भेगको प्रस्तुतिः कोइञ्च काइश्य सिल

८.लुम्बिनी प्रदेशको प्रस्तुतिः झाङ्करी (झाँक्री) नाच

९.तराई भेगको प्रस्तुतिः झुमरा नाच

१०.गण्डकी प्रदेशको प्रस्तुतिः कौराहा नाच

११.बागमती प्रदेशको प्रस्तुतिः धिमे बाजा तथा नृत्य

१२.मधेश प्रदेशको प्रस्तुतिः झिझिया नाच

१३.कोशी प्रदेशको प्रस्तुतिः सेमुना सिली

१४.नयाँ वर्ष विशेष गीतः सांस्कृतिक संस्थान


वि.सं.२०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएकोे सांस्कृतिक संस्थान नेपाल सरकारको संस्कृति प्रदर्शनी सम्बन्धी ज्येष्ठ निकाय हो । अनेकन् समस्याले ग्रसित सांस्कृतिक संस्थान पछिल्लो समय महाप्रबन्धक श्री किरण बाबु पुनले नेतृत्व सम्हालेसँगै प्रगतितर्फ लम्किरहेको छ । आफ्नो ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय डिजिटल युगसँगै नयाँ शिराबाट अगाडि बढेको छ । सांस्कृतिक संस्थानले नेपाल सरकार अर्थ मन्त्रालयको “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा – २०८२” को प्रतिवेदन अनुसार देशैभरीका सामाजिक क्षेत्र अन्तर्गतका संस्थानहरू मध्ये एकमात्र उत्कृष्ट निकायको रूपमा स्थापित गर्दै ६९.४७ प्रतिशतका दरले आम्दानी वृद्धि गर्न सफल भएको थियो ।

















































