राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थान बीच सम्झौता (MOU)
२५ भदौ २०८३, काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थान बीच “तलबी बचत खाता सञ्चालन, कर्जा लगानी तथा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी कार्यक्रम” संवत् २०८३ साल भदौ २५ गते सु–सम्पन्न गरिएको छ । G to G प्रणाली अन्तर्गत सेवा प्रवाहलाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउन, दुबै निकायका वार्षिक नीति तथा कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न गर्न सहकार्यात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ सो सम्झौता गरिएको हो ।



राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) श्री देबेन्द्र रमण खनाल ज्यू, नायव प्रमुख कार्यकारी अधिकृत श्री पवन रेग्मी ज्यू, विभागीय प्रमुख श्री ध्रुव प्रसाद अर्याल ज्यू र सांस्कृतिक संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, प्रशासन अधिकृत श्री सुदर्शन थापा ज्यू, लेखा अधिकृत श्री प्रेम ध्वज जिसीज्यूले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त समझदारी कार्यक्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री विनय रमण पौडेल ज्यू, नायव कार्यकारी अधिकृतहरू क्रमशः श्री दुर्गा कुमारी कँडेल ज्यू, श्री राम कुमार थापा ज्यू, श्री मिम्बल श्रेष्ठ ज्यू लगायतका अन्य कर्मचारीहरू र भोटाहिटी शाखाको तर्फबाट शाखा प्रबन्धक श्री इश्वरी न्यौपाने ज्यू र सहायक शाखा प्रबन्धक श्री ओमा शिवाकोटी ज्यू सहभागी रहनु भएको थियो भने संस्थानको तर्फबाट बजार व्यवस्थापक श्री अनुपम शर्मा ज्यू र सचिवालय सचिव श्री राजु पुन मगरज्यूको सहभागी रहनु भएको थियो ।


समझदारी कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले G to G प्रणाली अन्तर्गत नेपाल सरकारको स्रोत साधनको पारदर्शी रूपमा सदुपयोग हुनुका साथै मैत्रीपूर्ण एवम् प्रभावकारी ढंगले नीति तथा कार्यक्रम सम्पन्न गर्न एकआपसमा दुबै निकायले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुहुँदै संस्थानमा सम्बद्ध कर्मचारीहरूले नियमसम्मत सहुलियतपूर्ण सेवा लिन पाउनेमा विश्वस्त रहेको धारणा राख्नुभयो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) श्री देबेन्द्र रमण खनालज्यूले G to G प्रणाली अन्तर्गत सेवा प्रवाहलाई चुस्त, दुरुस्त, पारदर्शी बनाउन तथा दुबै निकायका नीति तथा कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न गर्न संस्थानसँग सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटी शाखाबाट संस्थानको बैंक खाता सञ्चालन गरिनेछ ।



















