काठमाडौं:- दुबई सरकारले आयोजना गरेको ‘दुबई एक्स्पो’मा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । सन् २०२१ अक्टोवर १ देखि २०२२ अप्रिल १ सम्म दुबईको अल वासी प्लाजामा १९२ देशको प्याभिलियन बनाएर ‘दुबई एक्स्पो’ आयोजना गरिएको थियो ।
![1.jpg](https://sanskritiksansthan.sobiztrend.com.np/media-file/images/2024/05/1715155270-b7O0R.jpg)
२०२२ फेब्रुअरी ३ मा नेपाल्स नेसनल डे कार्यक्रमअन्तर्गत नेपाली कलाकार टोलीले २० मिनेटको विशेष कार्यक्रम प्रस्तुत गरेको हो । त्यहाँ रहेको नेपाली प्याभिलियनमा विभिन्न प्रस्तुतिमार्फत नेपाललाई चिनाउन दुबईस्थित नेपाली दूतावासको निमन्त्रणामा सांस्कृतिक संस्थानका कलाकार टोली दुबई पुगेका थिए ।
कार्यक्रम सुरु हुनुअघि दुबईमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले नेपाल प्याभिलियनमा रहेको रथलाई गुढाएर पूरै एक्पो घुमाएर पुनः प्याभिलियनमा ल्याई विसर्जन गरेका थिए । सो अवसरमा नेपाली लोकसंस्कृति झल्कने झाँकी पनि निकालिएको थियो । ३ फेब्रुअरी साँझ रथ परिक्रममा र झाँकी प्रस्तुतिपछि नेपालको राष्ट्रगान बजाएर नेपाल्स नेसनल डे कार्यक्रम सुरु भएको थियो ।
![2.jpg](https://sanskritiksansthan.sobiztrend.com.np/media-file/images/2024/05/1715155287-EEgq9.jpg)
कार्यक्रममा फरेन अफेयर्स एन्ड इन्टरनेसन कोअपरेसन फर इन्टरनेसनल अर्गनाइजेसन अफेयर्सका असिस्टेन्ट मिनिस्टर याकुव युसेफ अल हुसेन र दुबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल विशिष्ट अतिथिका रूपमा हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रारम्भमा संस्थानका बाद्यवादक कलाकारद्वारा मादल, बाँसुरी, सारंगी एवं टेम्बोरिनमार्फत नेपाली लोकधुन प्रस्तुत गरिएको थियो । त्यसपछि नेपाल चिनाउने लोक नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा कलाकारहरूले नेपाल र यूएईको झन्डा एकआपसमा सटेर एकअर्कालाई अभिवादनसहित कार्यक्रम समापन गरिएको थियो ।
विशिष्ट अतिथि राजदूत ढकाल र यूएईका असिस्टेन्ट मिनिस्टर अल हुसेनले कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमपछि राजदूत ढकालले सांस्कृतिक संस्थानका कलाकारका लागि रात्रिभोज दिनुभएको थियो ।
कार्यक्रमका लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका एकएक जना प्रतिनिधिसहित संस्थानबाट प्रभाकर शर्मा, नृत्य संयोजक शारदादेवी सिलवाल, सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा, तालवादक नरेश प्रजापति नृत्य कलाकार शवनम सिलवाल, माया थापा, दीपेश माझी सहभागी हुनुहुन्थ्यो ।