स्वरसम्राट नारायण गोपालज्यूप्रति उच्च सम्मान गर्दै उहाँको परिवारजनलाई सम्मान

स्वरसम्राट नारायण गोपालज्यूप्रति उच्च सम्मान गर्दै उहाँको परिवारजनलाई सम्मान


गीति नाटक मुनामदनका सिर्जनशील राष्ट्रिय व्यक्तित्व स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूप्रति  उच्च सम्मान गर्दै उहाँको परिवारजनलाई शिष्टाचार सम्मान 

संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको प्रस्तुति, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य,  नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा नयाँ वर्ष २०८२ सालको अवसरमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा वैशाख १ गते सांस्कृतिक संस्थानको मेगा हल जमल काठमाडौँमा सभ्यभव्य ढंगले सम्पन्न गरिएको “शुभारम्भ सांस्कृतिक साँझ २०८२” कार्यक्रम मार्फत गीति नाटक मुनामदन उत्पादन हुनुमा पहिलोपटक सिर्जनशील कला मार्फत अतुलनीय योगदान दिनुहुने सिर्जनशील राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

मृत्युवरण गरिसक्नु भएका सिर्जनशील राष्ट्रिय व्यक्तित्वहरूको हकमा उहाँहरूको परिवारजनलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा कुनै राष्ट्रिय व्यक्तित्वहरू स्वास्थ्य अवस्थाको कारण उपस्थित हुन नसक्नु भएको, कुनैसँग सम्पर्क हुन नसकेकाले निरन्तर सम्पर्क गर्ने कोसिस गरी सम्मान गर्ने बताइएको थियो । सोही अनुरूप स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूको परिवारजनको तर्फबाट उहाँको सहोदर भाइ श्री लक्ष्मण गोपाल गुरुवाचार्यज्यूलाई सांस्कृतिक संस्थानले शिष्टाचारको सम्मान गरेको छ । गीति नाटक मुनामदनका सिर्जनशील राष्ट्रिय व्यक्तित्वको रूपमा सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायण गोपाल गुरुवाचार्य प्रति उच्च सम्मान गर्दै उहाँको परिवारजनलाई सम्मान गरिएको हो । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यू तत्कालीन सांस्कृतिक संस्थानमा कर्मचारीको रूपमा कार्यरत रहँदा उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत, नेपाल कलाभूषण चन्दराज शर्माको संगीतमा मदनको भूमिकाको गायन गर्नुभएको थियो । 

IMG_3761.jpg

सम्मान गरेकोमा खुशी व्यक्त गर्दै श्री लक्ष्मण गोपाल गुरुवाचार्यज्यूले भन्नुभयो “स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूका कृतिहरूलाई युगौंयुग बचाउन सांस्कृतिक संस्थानले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दछु । हामी परिवारलाई स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूको बढी चिन्ता हुने भएतापनि स्वरसम्राट नारायण गोपालज्यूका कृतिहरू प्रकाशन गर्ने निकायहरू र उहाँको वकालत गर्न स्थापित निकायहरूले हामीलाई समेटेर लैजाने कुराको वेवास्ता गरेझैँ लाग्छ । साथै उहाँले आफूलेपनि सांस्कृतिक संस्थानमा कलाकार सेवामा कर्मचारीको रुपमा २ वर्षजति काम गरेकाले सांस्कृतिक संस्थान मेरा लागि एक सांगीतिक पाठशाला जस्तो लाग्ने कुरा समेत बताउनु भयो ।”

IMG_3762.jpg

 

सम्मान पत्रको व्यहोरा :

 सम्मान पत्र

महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत लोकप्रिय खण्डकाव्य “मुनामदन” जस्तो अमर कृतिमा गीति नाटक मञ्चन तथा प्रदर्शन गर्न पाउँदा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) परिवार धन्य भएका छौँ । वि.सं.२०३२ साल असार ५ गते संस्थानको वार्षिकोत्सवको अवसरमा पहिलोपटक मञ्चन तथा प्रदर्शन गरिएको गीति नाटक मुनामदन ६/७ महिनासम्म लगातार प्रदर्शन भई रजत जयन्तीसम्म मनाउन सफल राष्ट्रिय नाचघर घरदेखि सांस्कृतिक संस्थानको इतिहासमा कालजयी गीति नाटकको रूपमा स्थापित हुनुमा सिर्जनशील कला गायनको माध्यमबाट योगदान दिनुहुने संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूप्रति नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको तर्फबाट उच्च सम्मानकासाथ उहाँलाई नेपथ्यबाट साथ दिनुहुने उहाँको महान् परिवारजनलाई   “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” श्लोकनकासाथ सांस्कृतिक संस्थानको प्रस्तुति, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचपत्र तथा पञ्जीकरण विभागको सहकार्य र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा आयोजित कार्यक्रम “शुभारम्भ सांस्कृतिक साँझ २०८१” मार्फत यो सम्मान पत्र प्रदान गरिएको छ । 


राष्ट्रको अस्तित्वसँग जोडिएको संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि यहाँहरूको यात्रा अक्षुण्ण लम्किरहोस् भन्ने शुभेक्षा प्रकट गर्दै सदा सुखमय, समृद्धमय एवम् प्रगतिमय जीवनको कामना छ ।

माननीय श्री बद्री प्रसाद पाण्डे
प्रमुख अतिथि : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री 

                                     
       किरण बाबु पुन
महाप्रबन्धक : सांस्कृतिक संस्थान

  चन्द्र कुमार राई हतुवाली
अध्यक्ष : सांस्कृतिक संस्थान 

 

IMG_3771.jpg

IMG_3774.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij