काठमाडौं :-
गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत विश्वमाझ पुर्याउने उद्देश्यका साथ संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा ‘बुद्ध थिएटर फेस्टिभल’ आयोजना हुँदै आएको छ ।
सन् २०२१ देखि सुरु भएको महोत्सवको दुई संस्करण सम्पन्न भइसकेको छ भने तेस्रो संस्करणको तयारी भइरहेको छ । २०७९ वैशाख २ गतेदेखि एक सातासम्म चलेको महोत्सवमा बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भगवान गौतम बुद्धको जीवन दर्शनलाई आत्मसात् गर्नेहरूको संख्या संसारमा धेरै भएकाले नेपालको पर्यटन विकास र बुद्ध नेपालमा जन्मेको हो भन्ने सत्य स्थापित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘बुद्ध थिएटर फेस्टिभल नेपालमा आयोजना हुनु गौरवको विषय हो’, तत्कालीन मन्त्री श्रेष्ठले भन्नुभयो ।
‘बुद्ध थिएटर फेस्टिभल २०२२’ एक सातासम्म चलेको थियो । महोत्सवमा शारदा शर्माको उपन्यास ‘ताप’माथि पुष्कर गुरुङको परिकल्पना तथा निर्देशनमा नाटक ‘ताप’, पार्वती ज्ञवालीको लेखनमा वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा नाटक ‘तथागत बिज’, अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा नाटक ‘बुद्ध र भिखारी’ र दीपेन्द्र बज्राचार्यको लेखन एवं शारदा सिलवालको निर्देशनमा ‘बोधी यात्रा’ मञ्चन गरिएको थियो ।
महोत्सवप्रति नाट्यकर्मी र दर्शकको आकर्षणले उत्साहित बनाएको सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले बताउनुभयो । ‘बुद्ध थिएटर फेस्टिभलले उठान गरेका विषय रंगकर्ममात्र नभएर नेपालको राष्ट्रिय पहिचान र पर्यटन विकाससँग पनि जोडिएको छ’, महाप्रबन्धक राईले भन्नुभयो, ‘महोत्सवप्रति रंगकर्मी तथा दर्शकको उत्साहपूर्ण सहभागिताले हामीलाई हौसला मिलेको छ ।’
फेस्टिभल डाइरेक्टर पुष्कर गुरुङले यस महोत्सवमा मञ्चन भएका नाटकमा नेपाली माटोको सुवास आउने बताउनुभयो । ‘संसारले बुद्धलाई कसरी चिन्छन्, कसरी बुझ्छन् भन्ने कुरा रंगमञ्चमा प्रस्तुत गर्न महोत्सव आयोजना गरिएको हो’, गुरुङले भन्नुभयो, ‘महोत्सवको आगामी संस्करण विभिन्न मुलुकको सहभागितासहित अझ भव्य रूपमा आयोजना हुनेछ ।’