स्क्रिप्ट लेखनका लागि कार्यशाला

स्क्रिप्ट लेखनका लागि कार्यशाला


काठमाडौं:-

तेस्रो बुद्ध थिएटर फेस्टिवललाई लक्षित गरी सांस्कृतिक संस्थान र डबली थिएटरले ‘स्क्रिप्ट राइटिङ वर्कसप’ आयोजना गरेको छ । बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत विश्वमाझ पुर्याउने उद्देश्यका आयोजित बुद्ध थिएटर फेस्टिभलका लागि स्क्रिप्ट लेखन कार्यशाला २०७९ असोज ४ देखि १४ सम्म चलेको थियो । बुद्ध दर्शनकी अध्येता एवं फिनल्यान्डकी नाटक निर्देशक मारिया सोमिनेनले कार्यशालामा प्रशिक्षण दिनु भएको थियो । 

3.jpg


सांस्कृतिक संस्थानका नाट्य शाखा प्रमुख वीरेन्द्र हमालसहित लक्ष्मण देउवा, गीता थापा, निकिता गुरुङ, सस्मिल पुनमगर, रमेश देवकोटा, जोफेन लामा, प्रशान्त वाग्लेलगायत सहभागी सो कार्यशालामा प्रणायम, ध्यानसहित बुद्धको जीवनी, उहाँका भनाइ तथा उपदेशसहित विविध पक्षमा जानकारी गराइनुका साथै स्क्रिप्ट लेखनका बारेमा प्रशिक्षण दिइएको थियो । 

2.jpg
कार्यशालामा सहभागीहरूलाई बुद्धसम्बन्धी गहन जानकारी गराउन काठमाडौं र आसपासका विभिन्न गुम्बाहरूको अवलोकन भ्रमण पनि गराइएको थियो । गुम्बा भ्रमणका क्रममा ती गुम्बाका भिक्षुहरूले बुद्धका विभिन्न रोचक कथा, गुम्बा निर्माण र भिक्षुहरूको जीवनीबारे पनि अनुभवसहित जानकारी दिनुभएको थियो ।


कार्यशालामा सहभागी १२ जना प्रशिक्षार्थीहरूले बुद्धसम्बन्धी एकएक वटा थिएटर स्क्रिप्ट तयार गर्नुभएको छ । तीमध्ये उत्कृष्ट स्क्रिप्ट छनोट गरी आगामी चैत १३ गतेदेखि सुरु हुने सप्ताहव्यापी तेस्रो बुद्ध थिएटर फेस्टिभलमा मञ्चन गरिने सांस्कृतिक संस्थानका नाट्य शाखा प्रमुख वीरेन्द्र हमालले जानकारी दिनुभयो । 


कार्यशालामा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई एवं बुद्ध थिएटर फेस्टिभलका फेस्टिभल डाइरेक्टर पुष्कर गुरुङले समापन समारोहमा धन्यवादसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij