कला समर्पण कार्यक्रम २०८१ तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
२०८१ माघ २०, काठमाडौँ
सांस्कृतिक संस्थानद्वारा सञ्चालित कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३३औं समूहका प्रशिक्षार्थीहरूको प्रतिभा प्रस्तुतीकरण तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। सिर्जनशील कला मार्फत शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले आयोजित "कला समर्पण कार्यक्रम २०८१" मा प्रशिक्षार्थीहरूले गायन, नृत्य, वाद्यवादन तथा नाटक विधामा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए।
कार्यक्रमका सभाध्यक्ष संस्थानका अध्यक्ष चन्द्र कुमार राई हतुवाली रहनुभएको थियो भने प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक श्री दिपक शर्मा हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा संस्थानका महाप्रबन्धक किरण बाबु पुन रहनुभएको थियो। साथै, संस्थानका सम्पूर्ण प्रशिक्षक, शाखा प्रमुख, कर्मचारी, कलाकार, प्रशिक्षार्थीका अभिभावक तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम माघ २० गते दिउँसो १२:१५ बजे प्रारम्भ भएको थियो। प्रारम्भमा अतिथिहरूले आसन ग्रहण गरेपछि राष्ट्रिय गान प्रस्तुत गरियो। प्रमुख अतिथि दिपक शर्माले औपचारिक रूपमा कार्यक्रम उद्घाटन गर्नुभयो। त्यसपछि विभिन्न विधामा प्रशिक्षार्थीहरूद्वारा सिर्जनात्मक प्रस्तुति प्रदान गरियो।
कार्यक्रमका प्रमुख आकर्षणहरूमा नाटक विधाका प्रशिक्षार्थीहरूले कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा "छिमेकी" लाई किरण बरालद्वारा नाट्य रूपान्तरण गरी उत्कृष्ट रूपमा मञ्चन गरेका थिए। यस नाटकले सामाजिक सम्बन्ध, मानवता र छिमेकीको भूमिकाबारेमा दर्शकलाई गहिरो सन्देश दिएको थियो। शास्त्रीय तथा लोक नृत्य, तबला वादन, मादल वादन, बाँसुरी वादन तथा लोक, शास्त्रीय र राष्ट्रिय गीतका प्रस्तुति रहे। कार्यक्रमको दौरानमा महाप्रबन्धक किरण बाबु पुनले स्वागत मन्तव्य राख्दै प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभयो। प्रमुख अतिथि दिपक शर्माले कला शिक्षाको महत्व र प्रशिक्षार्थीहरूको उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गर्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि श्री दिपक शर्माज्यू ले कला शिक्षाको विकासमा यस्ता कार्यक्रमहरूको महत्वबारे चर्चा गर्दै प्रशिक्षार्थीहरूको मेहनतको उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले सिर्जनशीलतालाई व्यावसायिक क्षेत्रमा रूपान्तरण गर्न आवश्यक नीति र कार्यक्रमहरूबारे जानकारी गराउनु भयो।

विशेष अतिथि किरण बाबु पुनज्यू ले संस्थानको आगामी योजना तथा कला प्रशिक्षणको प्रभावबारे जानकारी दिँदै ३४औं समूहका लागि नयाँ भर्ना प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो। उहाँले नयाँ समूहमा गायन, वाद्यवादन, नृत्य तथा नाटक विधाका प्रशिक्षार्थीहरूलाई भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो।

कार्यक्रम समापन गर्दै संस्थानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष तथा संस्थानका अध्यक्ष चन्द्र कुमार राई हतुवालीज्यूले कला शिक्षाको दीर्घकालीन प्रभाव र यसको अवसरबारे जानकारी गराउँदै ३४औं समूहको भर्ना प्रक्रिया खुला भइसकेको घोषणा गर्नुभयो।
माघ २१ गते,
वसन्त पञ्चमी तथा सङ्गीत/विद्याकी देवी सरस्वती पूजाको अवसरमा संस्थानले "वसन्त शास्त्रीय संगीत उत्सव तथा दीक्षान्त समारोह २०८१" आयोजना गर्यो। यस अवसरमा ३३औं समूहका प्रशिक्षार्थीहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय नारदमणि हार्तम्छालीज्यूको हातबाट औपचारिक रूपमा दीक्षित गरियो।
प्रमुख अतिथि माननीय नारदमणि हार्तम्छालीज्यू ले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सङ्गीत, नृत्य र नाटकको महत्व दर्शाउँदै कलाकारितालाई जीवनको महत्वपूर्ण पक्षको रूपमा विकास गर्न प्रेरित गर्नुभयो। संस्थानले प्रदान गर्ने प्रशिक्षणको गुणस्तरप्रति उहाँले उच्च प्रशंसा प्रकट गर्नुभयो।
"कला समर्पण कार्यक्रम २०८१" तथा "दीक्षान्त समारोह २०८१" ले प्रशिक्षार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मात्र नभई कला र संस्कृतिको प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ। उपस्थित अतिथिहरू, प्रशिक्षकहरू, अभिभावकहरू तथा कलाकारहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको थियो।
संस्थानले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ, जसले नेपाली कला, संस्कृति तथा शिक्षालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

















