कार्यालय प्रवेशद्वारमा फरक क्षमता व्यक्तिमैत्री र्याम्प (सिँढी) निर्माणः सांस्कृतिक संस्थान
३ कार्तिक २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थानको प्रवेशद्वारमा फरक क्षमता भएका व्यक्तिमैत्री र्याम्प (सिँढी) निर्माण गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरूले संस्थानबाट सेवा लिनुपर्दा तथा उहाँहरू सम्मिलित थुप्रै कार्यक्रमहरू भइरहने संस्थानका मेगा हल, मिनी हल र सेमिनार हलमा आवत–जावत गर्दा कठिन परिस्थितिको सामना गर्नुपरेको थियो । तर अब र्याम्प निर्माण भएसँगै सहज हुने भएको छ ।
संस्थानका महाप्रबन्धक किरण बाबु पुन ज्यू नियुक्ति भएसँगै सेवा प्रवाहलाई चुस्त, दुरुस्त, पारदर्शी बनाउन हरेक समस्याको पहिचान गरी समाधान गर्नतर्फ अग्रसर रहेको पाइन्छ । विभिन्न कार्यक्रम भइरहने निकाय संस्थानमा दिनमै हजारौं मान्छेको आवत–जावत हुने गर्दछ । त्यसमा विशेष क्षमता भएका व्यक्तिहरू पनि हुने गर्दछन् । फरक क्षमता व्यक्तिमैत्री र्याम्प निर्माण गर्नुपर्ने संवेदनशील विषयमा पनि हालसम्म किन संस्थानले चासो नदिएको होला ? राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको ६६ वर्षीय इतिहासमा संस्थानको मुख्य प्रवेशद्वारमा फरक क्षमता भएका व्यक्तिहरू तथा वृद्ध व्यक्तिहरूका लागि अपरिहार्य र्याम्प निर्माणमा ध्यानाकर्षण किन नभएको होला ? यसबारे संस्थानका महाप्रबन्धक किरण बाबु पुनज्यूले भन्नुभयो, “यस विषयमा संस्थानको भवन निर्माण गर्दैगर्दा नै र्याम्प बनाएको भए उत्तम हुन्थ्यो । संस्थानको राष्ट्रिय नाचघरदेखि हालसम्मको इतिहासलाई फर्केर हेर्दा फरक क्षमता भएका व्यक्तिहरूको वकालत गर्ने निकायबाट पटकपटक सचेत बनाउँदा समेत त्यसको कार्यान्वयन भएको पाइएन । सायद कार्यान्वयन गर्न नसक्नु संस्थानका आन्तरिक समस्याहरूको कारण पनि हुनसक्छ । यो विषयमा संस्थान मात्रै नभएर हाम्रो देशकै समस्या जस्तो लाग्छ । किनकी हामीमा आवरणीय एउटा रूप र आन्तरिक कुरूप हुने प्रवृत्तिले यो समस्या आएको जस्तो लाग्छ । बाहिर चाहिँ फरक क्षमता भएका व्यक्ति हुन् सम्मान गर्नुपर्छ, अन्य व्यक्ति सरह समान व्यवहार गर्नुपर्छ भन्ने तर आन्तरिक चाहिँ अशक्त, असहाय व्यक्ति हुन् उहाँहरूका समस्या विस्तारै समाधान गरौंला नि भन्दै प्राथमिकता नदिने प्रवृत्ति हाबी हुँदा संवेदनशील विषयको समाधान गर्नतर्फ ध्यान नपुगेको होकी ? तर आफू नियुक्ति भएपश्चात् सम्बन्धित निकायबाट र्याम्प बनाउनुपर्ने विषय लिएर आएको पहिलो भेटमै आफूले गम्भीर ध्यानाकर्षण गरी संस्थानको वार्षिक नीति तथा कार्यक्रममै र्याम्प बनाउने पक्ष समेटेर कार्यान्वयन गरेको बताउनु भयो । साथै फरक क्षमता भएका दाजुभाइ तथा दिदीबहिनी र वृद्ध आमाबुवाहरूलाई आवत–जावत गर्न सहजीकरणका लागि तिहारको शुभकामना स्वरूप संस्थानको तर्फबाट र्याम्प निर्माण गर्न सफल भएकाले अब उहाँहरूको गुनासो दीर्घकालीन रूपमा समाधान भएको बताउनु भयो ।”
त्यसोत महाप्रबन्धक पुन नेतृत्वको संस्थानले विभिन्न कार्यकालका सञ्चालक समितिका निर्णयहरूमा मात्रै सीमित निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य श्रव्यदृश्य सामग्री उत्पादनका लागि अत्याधुनिक डिजिटल रेकर्डिङ स्टुडियो निर्माण गर्न सफल भई पहिलोपटक सञ्चालनमा आएको छ । त्यसैगरी सांस्कृतिक पर्यटनमैत्री सेमिनार हल निर्माण गर्न सफल भई पहिलोपटक सञ्चालनमा आएको छ । त्यतिमात्रै नभई संस्थानका विभिन्न समस्याको समाधान गर्दै उत्पादनमैत्री क्रियाकलापलाई जोड दिई सुशासन स्थापना गर्दा महालेखा परिक्षकको कार्यालको रिपोर्ट अनुसार अर्थ मन्त्रालयले सार्वजनिक गरेको “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२” को प्रतिवेदन अनुसार संस्थानले गत आ.व.को तुलनामा ६९.४७ प्रतिशतले आयमा वृद्धि गर्न सफल भएको छ ।