सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच सम्झौता [MOU]
२८ कार्तिक २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिकाको बीच सम्झौता भएको छ । बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ काठमाडौँ महानगरपालिकाको गौरवको योजना अन्तर्गत रहेको “गरी खाने शिक्षा, महानगरको इच्छा” श्लोकनका साथ महानगरले सुरुवात गरेको सामुदायिक विद्यालयमा पुस्तक रहित [Book Free Friday] कार्यक्रमलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच G to G प्रणालीमा Book Free Friday अन्तर्गत सङ्गीत (गायन, वादन, नृत्य) तथा नाट्य अभिनय सम्बन्धी प्रशिक्षण क्रियाकलाप सञ्चालनका लागि सो सम्झौता [MOU] गएिको हो ।


सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र कामनपा शिक्षा विभाग निमित्त प्रमुख श्री केशव ज्ञवालीज्यूले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौता कार्यक्रममा कामनपा शिक्षा विभाग वरिष्ठ शाखा अधिकृत श्री सुशिल सुवेदी ज्यू, संस्थानका लेखा अधिकृत प्रेम ध्वज जि.सी ज्यू, गायन संयोजक श्री तिर्थराज पोख्रेल ज्यू, कलाकार सेवामा कार्यरत श्री रोहित सुवेदी ज्यू लगायतको उपस्थिति रहेको थियो ।
यस कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गर्न सांस्कृतिक संस्थानले संस्थानकै सेमिनार हलमा एक कार्यक्रम आयोजना गरी प्रशिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । संवत् २०८२ साल कार्तिक २८ गतेदेखि संस्थानले कामनपाका सामुदायिक विद्यालयहरूमा सो प्रशिक्षण कार्यक्रम सञ्चालन थालनी गरेको छ ।








