स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस श्रद्धार्पणका साथ सम्पन्नः सांस्कृतिक संस्थान
१९ मंसिर २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूको ३५ औं स्मृति दिवसको अवसरमा संस्थानले श्रद्धार्पणका साथ “सम्झनामा नारायण गोपाल साङ्गीतिक समर्पण कार्यक्रम, २०८२” सम्पन्न गरेको छ । संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूको सभाध्यक्षता, पशुपति क्षेत्र विकास कोषका नि.सदस्य सचिव तथा कार्यकारी निर्देशक श्री सुभाषचन्द्र जोशीज्यूको प्रमुख आतिथ्यता, संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, संस्थान सञ्चालक समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू, नारायण गोपालज्यूको परिवारजनका सदस्य श्री निराल गोपाल गुरुवाचार्य ज्यू लगायतको आतिथ्यतामा संस्थानको मिनी हल, जमल, काठमाडौँमा सो कार्यक्रम सम्पन्न गरिएको हो । संस्थानका कलाकारद्वारा उच्च सम्मानका साथ श्रद्धार्पण भाव सम्प्रेषण हुने गरी स्वरसम्राट नारायण गोपालद्वारा स्वरबद्ध कालजयी गीतहरूको प्रस्तुतीकरणसँगै स्मृति दिवस मनाइएको हो ।


सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरूको सम्मानार्थ विभिन्न व्यक्तित्वहरूको स्मृति दिवस विशेष कार्यक्रम सांस्कृतिक संस्थानले गत आ.व.देखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने प्रणाली विकास गरेको थियो भने आ.व.२०८२/८३ को नीति तथा कार्यक्रममा सोही क्रियाकलापलाई निरन्तरता दिएको हो ।


स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा माल्यार्पण तथा मौन धारण गरी कार्यक्रम सुरुवात गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्णलाई हार्दिक स्वागत सहित आभार प्रकट तथा पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूलाई श्रदाञ्जली अर्पण गर्दैै संस्थानका महाप्रबन्धक किरण बाबु पुनज्यूले भन्नुभयोः–

“अद्भुत क्षमता, बौद्धिकता, कौशलता र रचनात्मक क्रियाकलापद्वारा विभिन्न कला अभिव्यक्त गर्दै राष्ट्रिय अस्तित्वलाई बचाउने विशिष्ट एवम् लोकोत्तर प्राणी हो कलाकार । मानव जीवनका जन्मदेखि मृत्यु पर्यन्त क्रियाकलाप सम्बन्धी कुनैनकुनै कला, ज्ञान तथा सीप भएको सिर्जनशील प्राणी हो कलाकार । मरेर गएपनि आफ्ना कृतिहरू मार्फत अजरअमर रहिरहने, कहिल्यै नमर्ने प्राणी हो कलाकार । अभौतिक संस्कृतिभित्रको उच्चकोटिको कला मानिने सङ्गीत तथा नाट्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु हुने राष्ट्रिय व्यक्तित्व अजरअमर व्यक्तित्व संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूको ३५ औं स्मृति दिवसमा हामी छौं कि जसले बाँचुञ्जेली सिर्जनशील कला मार्फत यो देशको अस्तित्व बचाउन सारा जीवन समर्पण गर्नुभयो । साङ्गीतिक आकाशका एक नक्षेत्र, एक राष्ट्रिय धरोहर स्वरसम्राटलाई हरनेपाली तथा राज्यले सदा उच्च सम्मानका साथ खोजी गर्नुपर्छ । उहाँको योगदानको पुस्तौंपुस्तासम्म अक्षुण्ण रूपमा पुस्तान्तरण हुनुपर्छ । नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले गत आ.व.देखि स्वरसम्राटको स्मृति दिवसलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको हो भने आ.व.२०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा निरन्तरता दिएको छ भने निरन्तरता पाइरहनुपर्छ भन्ने कामना पनि छ । स्मृति दिवस भन्नु मृत्मात्माको उच्च सम्मान स्वरूप श्रद्धार्पण गर्नु हो । आजका प्रस्तुति मार्फत स्वरसम्राट प्रति उच्च सम्मानका साथ श्रद्धार्पण गरिनेछ ।
आज स्वरसम्राटज्यूको परिवारका सदस्य, खुनका नातेदार (Bloodline Relation) उहाँका सहोदर भाइ उहाँ आफैमा कलाकार पनि हो श्री लक्ष्मण गोपाल गुरुवाचार्यज्यूलाई हामीले परिवारजनको तर्फबाट सम्मान पनि गर्दै छौं । उहाँ स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सक्नु भएन त्यसैले उहाँको छोरा अर्थात् नारायण गोपाल गुरुवाचार्यज्यूको भतिजा श्री निराल गोपाल गुरुवाचार्य ज्यू हुँदै गर्दा म गम्भीर ध्यानाकर्षण सहित आह्वान गर्न चाहन्छु कि राष्ट्रिय व्यक्तित्व स्वरसम्राटलाई अजरअमर बनाउन, उहाँका कृतिहरू पुस्तान्तरण गर्न उहाँका कृतिहरूको प्रतिलिपि अधिकार, बौद्धिक अधिकारलाई संरक्षण गर्दै उहाँलाई राज्यबाट सदा शिष्टाचारको सम्मान दिलाउन तर्फ चिन्तन गर्न हुन जरुरी छ । यी विषयमा गम्भीरतापूर्वक चिन्तन गर्न सकेनौं भने स्वरसम्राटको अस्तित्व संकटमा पर्नसक्छ । स्वरसम्राटका कालजयी कृतिहरूको रोयल्टीबारे वकालत कसले गर्ने ? हालसम्म प्राप्त रोयल्टी के कति छ ? कसले भोगचलन गर्दैछ ? उहाँको प्रतिलिपि तथा बौद्धिक अधिकारको रक्षा कसले गर्ने ? परिवारजनले रोयल्टी प्राप्त गरेका छन् कि छैनन् ? सम्बन्धित स्रष्टा मृत्यु पश्चात् ५० वर्षसम्म प्रतिलिपि तथा बौद्धिक अधिकार संरक्षित हुने व्यवस्था प्रतिलिपि अधिकार ऐनमै छ । यी बारे सत्यतथ्य खोज गरी स्वरसम्राटलाई न्याय दिनका लागि संस्थानले पछिल्लो समय छानबिन समिति नै तयार पारी अगाडि बढेको छ । यो अभियान सफल पार्न परिवारजनले साथ दिनुपर्ने छ । यहाँ एक स्रष्टालाई जानीजानी मार्ने भ्रष्ट मतिका व्यक्तित्वहरूको हाबी छ । उदाहरणको लागि महाकवि लक्ष्मिप्रसाद देवकोटा कृत संस्थानको ऐतिहासिक गीति नाटक “मुनामदन” जसलाई स्वरसम्राटज्यूले प्रमुख आवाज स्वरुप गाउनुभएको हो । त्यो कृति समेत मेटाउन यहाँ हरदम कोसिस गरिएको थियो । वर्षौंसम्म श्रव्य सामग्री हराएर अब कहिल्यै पनि नाटक मञ्चन तथा प्रदर्शन हुँदैन भन्ने अवस्था बनेको थियो । तर वर्तमान नेतृत्वको अथक प्रयासमा उत्खनन् गरी मरेको नाटकलाई पुनर्जन्म दिन सफल भएका छौं । एउटा कृति मेटिनु भनेको कृतिसँगै सम्बन्धित स्रष्टाको अस्तित्व मेटिनु हो । त्यसैले स्रष्टालाई अजरअमर बनाउन उसका कृतिलाई प्रतिलिपि तथा बौद्धिक अधिकार सहित बचाउन अपरिहार्य छ ।
आज पशुपति क्षेत्र विकास कोषका प्रमुख नै प्रमुख अतिथिको रूपमा पाउँदा कार्यक्रमको प्रकृति अनुसार सार्थकता पाएको मेरो बुझाई रहेको छ । किनकी हामी दुबै निकायको तालुक मन्त्रालय पनि एउटै र अभौतिक सांस्कृतिक सम्पदाको वकालत गर्नुपर्ने प्रमुख अभिभारा पनि एउटै भएकाले कार्य प्रकृतिगत हिसाबले पनि हामी एकीकृत हुन जरुरी छ । अभौतिक सांस्कृतिक सम्पदाभित्र भाषा, धर्म तथा समग्र जन्मदेखि मृत्यु पर्यन्तका सांस्कृतिक क्रियाकलाप पर्दछन् । त्यसमाथि संस्थानको अभिभारा अभौतिक सांस्कृतिक सम्पदाभित्रका चाडपर्व, अनुष्ठान, मौलिक कला (गायन, वादन, नृत्य, नाटक) सम्बन्धी कार्य गर्नु, गराउनु हो । धार्मिक हिसाबले बहुसंख्यात्मक हिन्दू धर्मलाई अंगिकार गर्ने नेपाली छौँ । यति भन्दै गर्दा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रको विशेषतालाई आत्मसात् गरी सबै धर्मलाई समान ढंगले वकालत गर्दै सांस्कृतिक ऐक्यबद्धता कायम राख्नु हाम्रो दायित्व हो । तर आजको प्रमुख पाहुना तथा उहाँ सम्बद्ध निकायको हिसाबले मात्रै म धारणा राख्न चाहेको छु । हामीले वकालत गर्ने अभौतिक सांस्कृतिक सम्पदाभित्रका प्रमुख चाडहरू र जन्मदेखि मृत्युसम्मका अनुष्ठानको वकालत गर्ने वर्तमान समयमा उहाँको नेतृत्वको उहाँ सम्बद्ध निकायले गर्दछ । साथै आजको यस स्मृति दिवस भन्नु अनुष्ठानको क्रियाकलाप हो । किनकी हरनेपालीले मरेर गएका आफन्तहरूको स्मृतिमा मृतात्माको चिर शान्तिको कामना गर्दै पितृ पूज्ने मौलिक संस्कृति छ । हो संस्थानको हिसाबले पूर्वमहाप्रबन्धक अभिभावक हो त्यसैले आज हामी उहाँको स्मृतिमा अनुष्ठानको क्रियाकलाप गर्दैछौं । तसर्थ मृतात्माको चिर शान्तिको कामना सहित श्रद्धापूर्वक साङ्गीतिक अनुष्ठान गरिने भएकाले यो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नुहुने अनन्य मित्रको कारण कार्यक्रमले थप सार्थकता पाएको छ । दुबै निकायको अभिभारा नैतिक अनुशासन कायम गरी समाजलाई सकारात्मक दिशातर्फ डोर्याउनु भएकाले दुबै निकायको सहकार्य मजबुत पर्छ, त्यसका लागि संस्थानको प्रतिबद्धता व्यक्त गर्दछु ।
स्वरसम्राटको स्मृति दिवस देशैभरी तथा अन्तर्राष्ट्रियस्तरसम्म छरिएर रहेका नेपालीहरूले श्रद्धार्पण गरी मनाउने संस्कृतिको विकास हुनुपर्छ । सिर्जनशील प्राणी तथा संस्कृति सम्बन्धी वकालत गर्ने राज्यका हरेक निकायले आफ्नो अभिभारा, काम, कर्तव्य, नैतिक जिम्मेवारी कर्तव्यनिष्ठ भई वहन गर्ने नीतिगत प्रणालीलाई आत्मसात गर्नैपर्छ । कलाकारले राष्ट्रको अपनत्व गर्न जान्नुपर्छ र राज्यले कलाकारको संरक्षण गर्नुपर्छ । सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान पुर्याउने स्वरसम्राटजस्ता राष्ट्रिय धरोहरलाई युगौंयुग बचाउने स्पष्ट राज्यनीति हुनुपर्छ ।”


कार्यक्रममा प्रमुख अतिथि श्री सुभाषचन्द्र जोशीज्यूले स्वरसम्राट नारायण गोपाल जस्तो राष्ट्रिय व्यक्तित्वको स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी हुनुमा गर्वको अनुभुति भएको बताउनुभयो ।

उहाँले आफ्नो बुवाले पनि नारायण गोपालज्यूका कालजयी गीत सुन्ने गरेको, आफूले पनि सुन्दै आएको र आफ्नो आठ वर्षीय छोराले समेत सङ्गीतको सिक्दै गरेकाले झनै सुन्दै, गाउँदै आएकाले आफ्नै घरमा स्वरसम्राटज्यूको कृति पुस्तान्तरण भएको उदाहरण सुनाउनु हुँदै यो सबै नेपालीको घरघरको कहानी भएकाले स्वरसम्राट पुस्तौंपुस्तासम्म आम नेपाली माझ अजरअमर रहनेतर्फ विश्वास व्यक्त गर्नुभयो । साथै महाप्रबन्धक किरण बाबु पुनज्यूको भनाई प्रति सहमति जनाउँदै सांस्कृतिक संस्थान र पशुपति क्षेत्र विकास कोष बीच G to G प्रणाली मार्फत तालुक मन्त्रालय एउटै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भएकाले अन्तर निकायगत सहकार्य मजबुत बनाउने तर्फ जोड दिनुहुँदै गत आ.व.देखि सहकार्यको यात्रा शुभारम्भ गरिएकाले यो सहयात्रालाई बलियो बनाउन आ.व.२०८२/०८३ देखि विकास कोषको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नै सहकार्यलाई समेटिएकाले थप प्रभावकारी ढंगले सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थानका कलाकारहरूद्वारा प्रस्तुत गरिएका गीतहरू यसप्रकार रहेका थिएः–
१.भक्तिभावले ओतप्रोत गीतः सबलाई सुख होस् (प्रस्तुतिः तिर्थराज पोख्रेल)
(शब्दः लक्ष्मण लोहनी, सङ्गीतः नातिकाजी, स्वरः नारायण गोपाल)

२.लौ सुन म भन्छु (प्रस्तुतिः राधिका भण्डारी)
(शब्द/सङ्गीतः गोपाल योञ्जन, स्वरः नारायण गोपाल)

३.तुयुगु भ्वं जिगु जिन्दगी खः (प्रस्तुतिः दिपेन्द्र बज्राचार्य)
(शब्दः गिरिजाप्रसाद जोशी, सङ्गीत/स्वरः नारायण गोपाल)

४.झरेको पात झैँ (प्रस्तुतिः शिला विष्ट)
(शब्दः कालिप्रसाद रिजाल, सङ्गीत/स्वरः नारायण गोपाल)

५.मलाई नसोध (प्रस्तुतिः विपिन घिमिरे)
(शब्दः हरिभक्त कटुवाल, सङ्गीत/स्वरः नारायण गोपाल)

६.सिरिमा सिरी (प्रस्तुतिः सामूहिक गायन)
(शब्द/सङ्गीतः जनकवि केशरी धर्मराज थापा, स्वरः नारायण गोपाल र ज्ञानु राना)

वाद्यवादनमा संस्थानका कलाकारहरू श्री तिर्थराज पोख्रेल ज्यू, श्री दुर्गाप्रसाद खतिवडा ज्यू, श्री रोहित सुवेदी ज्यू, श्री नरेश प्रजापति ज्यू, श्री सितामैयाँ राजचल ज्यू, श्री दिपेन्द्र बज्राचार्य ज्यू, श्री शुक्रिमाया मोक्तान ज्यू र श्री लोकराज राईज्यूले साथ दिनुभएको थियो ।






कार्यक्रममा स्वरसम्राट नारायण गोपालको परिवारजनको तर्फबाट उहाँको सहोदर भाइ श्री लक्ष्मण गोपाल गुरुवाचार्यज्यूलाई सम्मान गरिएको थियो । सञ्चालन संस्थानका कलाकार श्री विपिन घिमिरेज्यूले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो । कार्यक्रम समापन गर्नुहुँदै संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूले सांस्कृतिक संस्थानले स्रष्टाहरूको सम्मानका लागि यसप्रकारका नीति तथा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तर्फ जोड दिनुभयो ।

















