नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणार्थ अन्तरक्रिया कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान
१७ पुस २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थानले विगतदेखि नै सांस्कृतिक पर्व वसन्त पञ्चमी तथा सङ्गीत/विद्याकी देवी सरस्वती पूजाको अवसरमा आयोजना गर्दै आएको वसन्त शास्त्रीय सङ्गीत उत्सवलाई नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणार्थ प्रभावकारी ढंगले नयाँ शिराबाट प्रदर्शन गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थानको आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत समावेश गरिएको उक्त क्रियाकलापलाई व्यावहारिक बनाउन संस्थानको सेमिनार हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको अध्यक्षतामा शास्त्रीय सङ्गीत क्षेत्रका दिग्गज धरोहरदेखि अनुजसम्मका व्यक्तित्वहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।



कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले भन्नुभयोः– “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, राष्ट्र हराए मानवको अस्तित्व हराउँछ” भन्ने नेपाली जनमानसमा प्रचलित कथनबाट के प्रष्ट हुन्छ भने शास्त्रबाट प्राप्त ज्ञानले संस्कार (आचरण) को जग बसाल्छ, संस्कारले हाम्रो जन्मदेखि मृत्यु पर्यन्त संस्कृतिलाई बचाउने चिन्तनको विकास गर्छ, संस्कृतिले राष्ट्रको अस्तित्व बचाउँछ, राष्ट्र बाँचेपछि मात्र मानव जातिको अस्तित्व रहन्छ । संस्कृति हराएमा मानवको अस्तित्व नै मेटिने भएकाले उक्त प्रचलित उक्तिबाट नेपाली समाजमा संस्कृति जोगाउन प्रेरित गर्ने एउटा महत्वपूर्ण सन्देश सम्प्रेषण हुने गर्दछ । संस्कृति हराउनु भनेको मानिस अविवेकी बन्नु हो । संस्कृतिबाट नै परिवार, समाज र राष्ट्र गतिशील भएको हुन्छ । संस्कृति बिना मानिस जंगली जनावरभन्दा पनि तल्लोस्तरको बन्न पुग्दछ । सभ्य संस्कृतिबाटै समाज सुसंस्कृत बन्दछ । मानव जातिको उत्पत्तिकालदेखि हालसम्म जीवन यापन गर्ने क्रममा जन्मदेखि मृत्यु पर्यन्त अङ्गीकार गरेका क्रियाकलापहरू मार्फत विभिन्न चरणहरूमा संस्कृति निर्माण भए, सोही संस्कृतिले नै राष्ट्रिय तथा मानवीय अस्तित्व बचाउँदै ल्यायो । यसर्थ संस्कृति शास्त्र सम्मत हुने तथा संस्कृतिले नै शास्त्रीय मूल्यमान्यतालाई जीवन्त बनाउने भएकाले नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण नै आधारभूत शर्त जस्तो मलाई लाग्छ । यस्तो संस्कृति निर्माण गरौं कि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी साझा अस्तित्व कायम रहोस्, संस्कृति निर्माण पश्चात् नै हरनेपालीले स्वीकार्न सक्ने नेपालीपन भएको शास्त्रीय सङ्गीत विधाको विकास हुन्छ । नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणको लागि आधारभूत शर्त नवजागरण नै हो । यस आ.व.को वसन्त शास्त्रीय सङ्गीत उत्सव, २०८२ मार्फत नेपालीहरू माझ नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण हुने किसिमको नेपालीमन तथा नेपालीपन भएको सिर्जनशील शास्त्रीय प्रस्तुतिहरू प्रस्तुत गरी नवजागरण प्रवाह गरौं । विद्वत् वर्गहरूको प्रभावकारी सल्लाह सुझावको अपेक्षा गर्दछौं । हामी सबै विधाका कलाकार एक भएर राज्यसँग अधिकारका लागि जुट्नुपथ्र्यो तर विडम्बना हामी आफ्नै कलाकारको चियो चर्चो गर्दै अभ्यस्त भएका छौँ फलानो यस्तो फलानो उस्तो, सबै विधाको एकाकारका लागि धेरै चुनौतिका पहाडहरू छिचोल्नु पर्नेछ । त्यसको आधार भनेको हरेक विधाको आन्तरिक एकता पूर्व शर्त हो । तसर्थ शास्त्रीय विधाका कलाकारमा एकता, सामूहिकता, एक–अर्काको अस्तित्व स्वीकार्ने साझा आवाज प्रवाह हुने संस्कृति निर्माण गरौं । कलाकारको प्रमुख समस्या नीतिगत हो । हामी कलाकार भन्ने नचाहिँदो क्षणिक मानमर्यादामा अभ्यस्त हुँदा देखावटी क्षणिक मानसम्मानले उपभोग्य साधनको रूपमा विगतदेखि आजसम्म प्रयोगका साधन भएका छौँ । अब संकीर्ण सोचबाट माथि उठौँ । उच्चकोटिको कला तथा कलालाई नीतिगत मार्गनिर्देशन गर्ने शास्त्रीय विधा र त्यसलाई पूजन गर्ने कलाकार मिलेर सबै नेपालीले आफ्नोपनको आभास सहित अङ्गीकार गर्ने सभ्य नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणका लागि गोलबद्ध हुन आह्वान गर्दछु । हामीले नेपाली समाजमा प्रचलित सम्पूर्ण विधालाई समान रूपमा विकास गर्ने हेतुका साथ शास्त्रीय सङ्गीत विधालाई पनि विशेष प्राथमिकतामा राखेका छौं । यसर्थ यी कार्यक्रमको निरन्तरताको लागि संस्थानको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी वसन्त शास्त्रीय सङ्गीत उत्सवका अलावा गत आ.व.देखि नेपाली उपशास्त्रीय सङ्गीत समारोह (कोड नं.२२५५०) को पनि थालनी गरेका छौं । वर्तमान नेतृत्व र संस्थान परिवारको तर्फबाट नेपाली शास्त्रीय सङ्गीतको विकासका लागि प्रतिबद्धता व्यक्त गर्दछौं ।”



कार्यक्रमा शास्त्रीय सङ्गीतका दिग्गज धरोहरदेखि अनुजसम्मका व्यक्तित्वहरूले प्रस्तुत गर्नुभएका धारणाहरूः
वरिष्ठ शास्त्रीय सङ्गीतक साधक तथा नेपाली शास्त्रीय सङ्गीतका शास्त्री श्री श्रीराम आचार्यज्यूले “स्वरहरू उत्पत्ति विषयदेखि शास्त्रीय सङ्गीतको विकासक्रम बारे प्रष्ट पार्नुहुँदै मौलिकपन सहितको नेपाली शास्त्रीय सङ्गीतको विकासका लागि आफूले विगतदेखि नै पहल गर्दै पुस्तकहरू प्रकाशन गरेको बताउनुहुँदै संस्थानले आफूले चाहेजस्तो कदम चालेको प्रति आभार प्रकट गर्नुभयो । उहाँले हाम्रो सात प्रदेशका मौलिक संस्कृति नै रागमय भएकाले यसको पहिचान गर्नुपर्ने, राग पहाडीमा नेपाली लोकसङ्गीतको जग अडेकाले शास्त्रीय विधिसम्मत नेपाली लोकसङ्गीत छ भन्ने कुरा खोज गर्नुपर्ने, नेपाली शास्त्रीय सङ्गीतमा जनताका गीतहरूलाई पनि समेट्ने कार्यको थालनी गर्दै देशको पहिचानयुक्त राग पशुपतिनाथ, राग सगरमाथा आदि निर्माण गरेको बताउनुभयो । साथै वि.सं.२०१६ सालदेखि पटना विश्वविद्यालको पाठ्यक्रमलाई आधारित बनाएर नेपालमा सङ्गीत शिक्षा पद्धतिको सुरुवात गरिएको, सोही पाठ्यक्रम हालसम्म लागू भएकाले तुरुन्तै परिष्कृत गरी नेपालीपन भएको सङ्गीतको पाठ्यक्रम लागू गर्नतर्फ सबैले ध्यानाकर्षण गर्नुपर्ने बताउनुभयो ।”

वरिष्ठ शास्त्रीय गुरु श्री धन बहादुर गोपालीज्यूले “नेपाली शास्त्रीय सङ्गीतको विकासका लागि नौलो प्रकारको कार्यक्रम गरेकोमा संस्थानलाई आभार प्रकट गर्नुहुँदै रागको सौन्दर्य पक्षलाई मध्यनजर गरी नेपालीपन भएका बन्दीशहरू बनाउन सिर्जनशीलताको प्रयोग गर्न सबैलाई आह्वान गर्नुभयो । आफूले पुस्तक प्रकाशन गर्दा धार्मिक शब्दमात्रै रागमा हुन्छन् भन्ने भ्रमलाई चिर्दै मायाप्रीतिका शब्दहरू अधिकांश प्रयोग गरेकाले त्यसबाट युवाको राग गायनप्रति आकर्षण बढेको बताउनुभयो । साथै नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणका लागि युवा आकर्षणको पक्षलाई जोड दिनुपर्ने बताउनुभयो ।”

वरिष्ठ उपशास्त्रीय गायिका श्री सङ्गीता प्रधान रानाज्यूले “नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण हुनुपर्छ भन्ने पक्षमा पहिलेदेखि आफू प्रतिबद्ध रहेकाले सोही मर्म अनुकूलको कार्यक्रम आयोजना गरेकोमा संस्थानलाई आभार प्रकट गर्नुहुँदै नेपाली शब्द सहितको ठूमरी गायनलाई अगाडि बढाएकोमा अहिले गर्व महसुस हुने बताउनुभयो । नेपाली संस्कृति समेटेर बन्दीशहरू निर्माण गरी शास्त्रीय परम्परालाई शिरोपर गर्दै प्रस्तुत गर्ने प्रचलन सुरुवात गर्नुपर्ने बताउनुभयो ।”

वरिष्ठ साधक डा.रमेश पोख्रेलज्यूले “नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणका लागि सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा संस्थान प्रति आभार प्रकट गर्दै संघीय राजधानीमा मात्रै केन्द्रीकरण नभई सातैप्रदेशका मुख्य स्थलहरूमा र पर्यटकीय स्थलहरूमा विदेशी पर्यटक सहितको नेपाली शास्त्रीय सङ्गीतको जागरणमैत्री कार्यक्रम प्रस्तुत गर्नुपर्ने बताउनुभयो । नेपाली शास्त्रीय सङ्गीतलाई नीतिगत ढंगले लैजानुपर्ने तथा नयाँ पुस्तालाई शास्त्रीय सङ्गीतको गरिमा बारे ज्ञान बोध गराउनुपर्ने गरी सप्ताहव्यापी नेपाली शास्त्रीय महोत्सव प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।”

ललितकला केन्द्रीय विभाग प्रमुख डा.अन्जु उप्रतीज्यूले “संस्थानले नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणका लागि गरेको कार्यक्रम सान्दर्भिक लागरै यसप्रकारको कार्यक्रममा पहिलोपटक उपस्थित रहेको बताउनुभयो । उहाँले वसन्त शास्त्रीय उत्सवलाई एक दिवसीय होइन कम्तीमा दुईदेखि तीन दिवसीय बनाउनुपर्ने धारणा राख्नुभयो ।”

ललितकला केन्द्रीय विभागका प्राध्यापक श्री गोकुल लिम्बुज्यूले “संस्थान प्रति आभार प्रकट गर्नुहुँदै नेपाली सङ्गीतका हरेक विधाहरूको विकासका लागि खोज नपुगेकोले त्यतातिर ध्यानाकर्षण गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले शास्त्रीय सङ्गीतको अपनत्व लिने चिन्तनको विकास नभएको प्रति दुःख व्यक्त गर्दै सम्पूर्ण शास्त्रीय साधकहरूले संकीर्ण चिन्तन त्याग्दै शास्त्रीय सङ्गीतका कार्यक्रममा सहभागी हुने बानी बसाल्न आह्वान गर्नुभयो । साथै वसन्त शास्त्रीय सङ्गीत उत्सवमा संस्थागत प्रतिनिधित्व हुने गरी जिम्मेवारी प्रदान गर्नुपर्ने, नेपाली लोकसङ्गीतका शास्त्रीय पक्षलाई खोज गरी नेपाली शास्त्रमा आधारित शास्त्रीय संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।”

वरिष्ठ साधक श्री चण्डीप्रसाद काफ्लेज्यूले “संस्थान प्रति आभार प्रकट गर्दै नेपाली संस्कृतिलाई झल्काउने किसिमका शब्दहरू प्रयोग गरी नेपाली शास्त्रीय सङ्गीतलाई प्रस्तुत गर्ने शैली ल्याउनुपर्ने बताउनुभयो । पाठ्यक्रम निर्माणमा विशेष ध्यान दिई मौलिक संस्कृतियुक्त शास्त्रीय पद्धतिको विकास गर्न सकिने बताउनुहुँदै शास्त्रीय सङ्गीतको रोग एकले अर्कालाई स्वीकार्न नसक्ने प्रणालीको अन्त्य गरी शास्त्रीय सङ्गीतको विकासमा लाग्नुपर्ने बताउनुभयो ।”

वरिष्ठ साधक एवम् ललितकला केन्द्रीय विभागका प्राध्यापक श्री श्री केसीज्यूले “संस्थान प्रति आभार प्रकट गर्नुहुँदै सङ्गीतको विश्वभाषा हुने भएकाले यसलाई कुनै परिधिभित्र बाँध्न नसकिने तर नेपालीपन भएको शास्त्रीय सङ्गीतको विकास अपरिहार्य भएकाले चरिया, डाफा जस्ता नेपाली शास्त्रीय सङ्गीत हुन् भनेर पहिचान गरी सोही बमोजिम स्थान दिनुपर्ने धारणा राख्नुभयो ।”

वरिष्ठ वाद्यवादक श्री जीवन आलेज्यूले “संस्थान प्रति आभार प्रकट गर्नुहुँदै नेपाली शब्द सहित गायन, वादनमा पनि नेपालीपन ल्याउनुपर्ने धारणा राख्नुभयो । नेपाली शास्त्रीय सङ्गीतको विकासका लागि यस क्षेत्रमा लागेका व्यक्ति÷संस्थाले नै नेपालीपनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।”

युवा साधक श्री हेमराज पुन (आश्रम)ज्यूले “नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण शीर्षकले नै अत्यन्तै लोभ्याएको तर्क गर्नुहुँदै संस्थान प्रति आभार सहित नेपाली शास्त्रीय साधकहरूमा सहिष्णुताको खडेरी लागेको बताउनुभयो । उहाँले शास्त्रीय सङ्गीतका साधकहरूमा धार्मिक भावना, सांस्कृतिक भावनाले प्रभावित पार्ने भएकाले एकअर्काको अस्तित्वलाई नस्वीकार्ने प्रथा हाबी भएकाले सबैले स्वीकार्ने नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण गर्नुपर्ने बताउनुभयो ।”







कार्यक्रममा श्री प्रतीक ढकाल ज्यू, श्री विकासनाथ योगी ज्यू, श्री नगेन्द्र राई ज्यू, श्री उमेश खड्का ज्यू, श्री यतिराज अधिकारी ज्यू र श्री माधव पाण्डेज्यूले पनि आ–आफ्ना सान्दर्भिक भनाई राख्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थानका वाद्यवादन संयोजक श्री दुर्गाप्रसाद खतिवडाज्यूले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो ।













