नेपाल मगर संघद्वारा आयोजित “माघे सकराती, २०८२” सांस्कृतिक संस्थानको सहकार्यमा सम्पन्न
१ माघ २०८२, टुडिँखेल, काठमाडौँ ।
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थान लगायतका संस्थाको सहकार्यमा काठमाडौँको टुँडिखेलमा माघे सकराती २०८२ शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सांस्कृतिक संस्थानको आ.व.२०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत रहेको सांस्कृतिक पर्व माघे संक्रान्ति विशेष कार्यक्रमलाई संस्थानले नेपाल मगर संघसँग सहकार्य गरेको हो । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शुशीला कार्कीज्यूको प्रमुख आतिथ्यता, सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री जगदीश खरेल ज्यू, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख श्री सुरेश सुरश श्रेष्ठ ज्यू, राष्ट्रिय सभा सदस्य मा.श्री सुरेश कुमार आले मगर ज्यू, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष श्री नविन रोका मगर ज्यू लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका सभाध्यक्ष नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर ज्यू, कार्यक्रम सञ्चालक महासचिव श्री टेक बहादुर नाम्जाली मगर ज्यू, स्वागत मन्तव्य सहअध्यक्ष गंगा बहादुर थापा मगरज्यूले राख्नुभएको थियो । कार्यक्रममा करिब २५ हजार भन्दा बढी सहभागिता रहेको थियो ।


प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नुभएको मन्तव्यः
“वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो रहेकाले सांस्कृतिक चाडपर्वले त्यसलाई विशेष भूमिका निर्वाह गर्ने बताउनु हुँदै माघ १ गतेलाई माघी, मकर संक्रान्ति र माघे सकराती जस्ता विभिन्न नामले यो पर्व मनाइरहेका छौं । नाम फरक भएपनि यसको आत्मा एउटै हो । यी पर्वहरूले हामी नेपाली बीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउँदै आएका छन् । माघे सकरातीले हामी सबैलाई एकताबद्ध भएर शान्ति, स्थायित्व र समृद्धि तर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । मौलिक संस्कृति र परम्पराको संवद्र्धन गर्दै यसलाई पर्यटनसँग पनि जोड्नु पर्दछ । विश्वले नेपाललाई हेर्ने मुख्य कारण दुईवटा छन् हाम्रो अनुपम प्राकृतिक सौन्दर्य र यहाँ बसोबास गर्ने विविध जातजातिको समृद्ध संस्कार, संस्कृति र जीवनशैली । प्रकृति र संस्कृति यी दुवै कुरालाई हामीले पर्यटनसँग जोड्नुपर्छ । बहुजातीय र बहुसांस्कृतिक राष्ट्रको रूपमा हामीले हरेक समुदायको पहिचानलाई सम्मान गर्दै त्यसलाई पर्यटनको अभिन्न अंगका रूपमा विकास गर्न आवश्यक छ । समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ रहेको छ । हाम्रा संस्कृति र परम्परा पनि प्रकृतिसँग अभिन्न रूपमा गाँसिएको छ । नेपाली समाज मूलतः प्रकृति प्रेमी र प्रकृतिवादी हौँ । हामी प्रकृतिलाई भगवान् मानेर पूजा गर्छौं । प्रकृतिको लय अनुसार आफ्ना आचार–व्यवहार र जीवनशैली निर्धारण गर्छौं । उधौली–उभौलीदेखि माघे सकरातीसम्मका पर्वहरू प्रकृतिसँग हाम्रो गहिरो सम्बन्धका जीवन्त उदाहरण हुन् । वि.सं.२०६५ सालमा नेपाल सरकार ले माघे संक्रान्ति पर्वलाई मगरहरूको राष्ट्रिय मौलिक चाडका रूपमा मान्यता दिई यस पर्वको अवसरमा सार्वजनिक बिदा दिँदै आएको पनि स्मरण गर्नुहुँदै यो पर्वको संरक्षणका लागि नेपाल सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।”
सो कार्यक्रममा नेपाल मगर संघका सहअध्यक्ष गंगा बहादुर थापा मगरज्यूले स्वागत मन्तव्य राख्नुहुँदै मगर समुदायका मौलिक चाड माघे संक्रान्ति मगर समुदायको प्रमुख चाड भएकाले यसको संरक्षणका लागि नेपाल सरकारको विशेष ध्यानाकर्षण गर्नुभयो । उहाँले मगर समुदाय संस्कृतिको धनी भएकाले नेपाल सरकारले सूचीकरणमा पनि विशेष प्राथमिकता दिनुपर्ने माग राख्नुहुँदै टुँडिखेलमा माघे सकराती मनाउने मगर समुदायको प्रमुख हक लाग्ने तर्फ जोड दिँदै यहाँ मनाउन नदिन विभिन्न प्रयास भएकाले खबरदारी समेत गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री जगदीश खरेलज्यूले मगर समुदाय विशेष राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा माघे संक्रान्तिलाई नेपाल सरकारले मान्यदा दिइसकेकाले अव यसको प्रवर्द्धनका लागि सबै एक भई लाग्नुपर्ने बताउनुहुँदै देशको विशेष परिस्थितिले युवाको नेतृत्व चाहेकाले मगर युवाहरूले यस्ता पर्वको संरक्षण गर्न नेतृत्व गर्नुपर्ने बताउनुभयो ।


राष्ट्रिय सभा सदस्य मा.सुरेश आले मगरज्यूले शुभकामना मन्तव्य राख्नुहुँदै मगर समुदायको पहिचान सहितको अधिकार र माघे सकराती जस्ता मौलिक चाडपर्वको संरक्षणका लागि राज्यसँग अझै पनि आन्दोलन जारी रहेकाले त्यस तर्फ एकाकार हुन सबैलाई आह्वान गर्नुभयो ।
अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष तथा नेपाल मगर संघका निवर्तमान अध्यक्ष श्री नविन रोका मगरज्यूले शुभकामना मन्तव्य राख्नुहुँदै मगर समुदायको सभ्यता सहितको संस्कृति संरक्षण तर्फ एक हुनुपर्ने, मगर समुदायको पहिचानको लागि संघर्ष गर्नुपर्ने तर्फ जोड दिनुहुँदै आदिवासी जनजाति मध्ये जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदाय भूमिको रक्षक भएकाले देश बचाउने तर्फ सदा एकबद्ध हुने तर देश जलाउनहरूसँग कहिले सम्झौता नगर्ने तर्फ विशेष ध्यानाकर्षण गराउनु भयो ।


नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख (सहसचिव) एवम् अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणलाई नीतिगत हिसाबले अगाडि बढाउने प्रमुख नेतृत्वकर्ता श्री डा.सुरेश सुरश श्रेष्ठज्यूले शुभकामना मन्तव्य राख्नुहुँदै मगर समुदाय संस्कृतिको धनी हो भन्ने प्रमाण मगर समुदाय विशेष राष्ट्रिय सांस्कृतिक पर्व माघे संक्रान्तिभित्र प्रतिविम्बित अभौतिक सांस्कृतिक सम्पदाले पुष्टि गरेका छन् । उहाँले मगर समुदायको पहिचानको संरक्षण सहित समृद्धिका लागि नेपाल सरकारले पहिलोपटक सुरुवात गरेको अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण अभियानमा एकीकृत हुनु नै अनिवार्य आवश्यकता भएकाले सूचीकरण अभियानमा नवजागरण प्रवाह गर्नतर्फ जोड दिन नेपाल मगर संघ केन्द्रीय समितिलाई आह्वान गर्नुभयो । सूचीकरणका लागि सहजीकरण गर्न संस्कृति महाशाखादेखि तपाईंहरूकै भाइछोरा संस्कृति प्रति चिन्तन भएका व्यक्ति महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले नै नेतृत्व गर्नुभएको सांस्कृतिक संस्थानदेखि मन्त्रालयका संस्कृति सम्बन्धी सबै निकायले साथ दिने समेत बताउनुभयो ।

कार्यक्रममा चेली पूज्ने संस्कृतिदेखि विभिन्न अभौतिक सांस्कृतिक सम्पदाहरू प्रदर्शन गरिएको थियो भने सांस्कृतिक संस्थानका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो ।


सम्माननीय प्रधानमन्त्री शुशीला कार्कीज्यूले मगर माघे सकराती पर्व विशेषको मौलिक अभौतिक सांस्कृतिक सम्पदा धनुकाँड (तारो हान्ने) खेल र भूमे पर्वको अनुष्ठान ध्वजा टंगाई गरिने पूजामा स्वयं सहभागी भई कार्यक्रम समुद्घाटन गर्नुभएको थियो ।



कायक्रममा सांस्कृतिक संस्थानले आफ्नो अभिभारा बमोजिम मौलिक सांस्कृतिक चाडपर्वको संरक्षणका लागि सहकार्य गरेकोमा सञ्चार तथा सूचना मन्त्री माननीय श्री जगदीश खरेलज्यूको हातबाट संस्थानलाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका सभाध्यक्ष नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष एवम् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव श्री ज्ञानेन्द्र पुन मगरज्यूले कार्यक्रम सम्पन्न गर्न साथ दिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सम्पूर्ण सहकार्यात्मक संस्था, मगर संघका भातृ संस्था लगायत उपस्थित सम्पूर्ण जनमनलाई आभार प्रकट गर्दै मगर समुदायको प्रमुख सांस्कृतिक चाड माघे संक्रान्तिलाई संरक्षण गर्न सबै एक हुनुपर्ने बताउनुहुँदै मगर समुदायका अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न सबै आ–आफ्नो ठाउँबाट लाग्न आह्वान गर्नुभयो ।
माघे संक्रान्तिलाई मगर समुदायले माघे सकराती, माघ्या सकराटी, माघे संकराई आदि नाम दिएर मनाउने गरेको छ । मगर समुदायले माघे सकरातीलाई आदिवासी मुलवासी भएको प्रतीकका रूपमा सिकारी युगको झल्को दिने संस्कृति तथा कृषि युगको सुरुवात भएको झल्को दिने संस्कृति समेत प्रदर्शन गर्ने गर्दछ । यस पर्वलाई विभिन्न जातिले फरकफरक नाम दिएको पाइन्छ, जस्तैः मगर जातिले माघे वा माघ्या, थारु जातिले माघी । मगर, थारू लगायत थुप्रै जनजातिले विशेष रूपमा मनाउने माघे संक्रान्ति पर्वलाई नेपालको हिमाल, पहाड, तराई एवम् सातै प्रदेशमा बसोबास गर्ने सबै जाति एवम् सम्पूर्ण नेपालीले आ–आफ्नो परम्परा अनुसार मनाउने गरेको पाइन्छ । ज्योतिषशास्त्र अनुसार सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर सङ्क्रान्ति भनिन्छ । सूर्यको उदय बिन्दू दक्षिणदेखि उत्तरतर्फ सर्ने भएकोले यस दिनबाट उत्तरायण सुरू हुन्छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई विस्तारै गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । माघे संक्रान्तिका दिन विशेष गरी तरुल, पिँडालु, सेल रोटी, खिचडी, खुँदो, चिउरा, घिउ, चाकु लगायत विभिन्न परिकार खाने गरिन्छ । धार्मिक र सांस्कृतिक मात्र नभई वैज्ञानिक दृष्टिकोणबाट पनि यस पर्वको महत्त्व रहेको छ । माघेसंक्रान्ति जनजातिसँग विशेष सम्बन्ध राख्ने पर्व भएकोले यसबाट राष्ट्रिय एकता र सद्भावको सन्देश सम्प्रेषण हुने गरेको पाइन्छ ।








डा.मीन श्रीस मगरका अनुसार मगर संस्कृति अनुसार वर्षायाममा लगाइएको बालीनाली हिउँदयाममा पाक्छ । नयाँ अन्नबाट बनाइएको खिचडी, सेलरोटी, बारा आदि परिकार बनाइन्छ । तरुल, पिँडालु जस्ता परिकार पनि बनाइन्छ । मगरहरूले चेली सत्कारको पर्व वा चेली पूज्ने पर्वका रूपमा माघे सकरातीलाई लिने गरेको छ । माघेसंक्रान्तिका बेला चेलीबेटीलाई निम्तो गरेर मीठो खानेकुरा खुवाउने र टीका लगाई दिएर दक्षिणा दिने चलन छ । यसले दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम, सद्भाव, विश्वासको वातावरण तय गर्ने एउटा महत्वपूर्ण पर्वका रूपमा रहेको छ । यस चाडमा दाजुभाइले बिहे गरेर गइसकेका दिदीबहिनीलाई निम्ता दिन्छन् । माइत आएका दिदीबहिनीले सकरातीको दिन बिहानै नुहाइ धुवाई गरेर पँधेराबाट ल्याएको चोखो पानी र जौको जमराले घरको धुरीखाँबो पूज्ने गरिन्छ । त्यसपछि चेलीहरूलाई दाजुभाइले चामलको सेतो टीका र जौको जमरा लगाई दिएर दक्षिणासँगै मिस्रा दिने गर्छन् । छोरीचेलीलाई दिइने तरुल, गिठा, भ्याकुर, पिँडालु, रोटी, खिचडी लगायतको परिकारलाई मिस्रा भनिन्छ । मगर समुदायले वर्षभरीको समयलाई दुई भागमा विभाजन गरी माघे संक्रान्तिदेखि असार मसान्तसम्म उभेली र साउने संक्रान्तिदेखि पुस मसान्तसम्म उधेलीका रूपमा लिने गरेका छन् । उभेली सुरु हुनुलाई नै मगरहरूले नयाँ वर्ष आरम्भको मान्यता दिने गरेको पाइन्छ । त्यसैले माघे सकरातीलाई मगर समुदायले नयाँ वर्षको रूपमा समेत मनाउने गरेको पाइन्छ । मगर संस्कृतिमा माघे संक्रान्तिको बेला तारो हान्ने खेल खेलिन्छ । प्रतियोगिता जित्नेलाई विभिन्न पुरस्कार दिइन्छ । पहिले पहिले तारो हान्ने खेल जितेर सालीलाई विवाह गर्ने समेत चलन थियो । कतिपय ठाउँमा तरुनीले तन्नेरीलाई निसाना बनाएर तारो हान्न चुनौती दिएर विवाह गर्ने शर्त राख्थे । तारो हान्ने बाजी जितेर विवाह भएका धेरै उदाहरण मगर समुदायमा पाइन्छ । तारो खेलले मगरहरू सिकारी जाति भएको संकेत दिन्छ । प्राचीन तथा मध्यकालमा बाबुबाजेले आफ्ना सन्तानलाई धनुकाँड चलाउन सिकाउने गरेको र कालान्तरमा त्यो खेलका रूपमा विकसित भएको पाइन्छ । सिकारी युगमा विभिन्न जनावरको सिकार गर्न र खतरनाक जनावरको आक्रमणबाट बच्न धनुकाँड चलाउने गरिन्थ्यो । धनुकाँड चलाउने सीप अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सिकाउने चलन थियो । जुन माघे संक्रान्तिकै आसपासमा हुन्थ्यो । त्यसैकारण पछि आएर माघे सकरातीमा मगर समुदायमा खेलिने एउटा महत्त्वपूर्ण खेलका रूपमा यसको विकास भएको मान्यता छ ।
वरिष्ठ संस्कृतिविद् बम कुमारी बुढामगर (२०६५ः १७–३१) का अनुसार मगर जातिले परम्परागत रुपमा दुई वटा ऋतु मान्ने गर्दछन् । ती ऋतुलाई उधेली र उभेली भनिन्छ । दुईवटा ऋतु सावनदेखि पुषसम्म उधेली र माघदेखि असारसम्म उभेली ६/६ महिनाको दुई ऋतु मान्यता रहेको छ । किंवदन्ती अनुसार उधेली ऋतुमा गायन, वादन, नृत्यजस्ता संस्कृतिका रसहरू प्रदर्शन गर्न मिल्ने तर उभेली ऋतुमा प्रदर्शन नहुने मगर जनविश्वास रहेको छ । जव उधेली ऋतु सुरु हुन्छ, मगरहरूको प्रमुख बाजा मादल बाजा विधिवत रूपमा फुकाएर पूजा गरी बजाइन्छ । साउन १ गते साउने संकराई (साउने संक्रान्ति) का दिन भूमिको पूजा गरी मादल बाजा फुकाई ओखला पूजा गरी गायन, वादन र नृत्यको शुभारम्भ गरिन्छ । उभेली ऋतुको सुरुवातसँगै माघ १ गते माघे संकराई (माघे संक्रान्ति) का दिन गायन, वादन र नृत्यजस्ता संस्कृतिका रसहरू प्रदर्शन गरी मगर बाजा मादललाई मान चाला बजाएर ध्वजा टंगाई विधिवत रूपमा बन्द गर्ने गरिन्छ । सहभागी कलाकारहरुको प्रतीकको रुपमा माघे संक्रान्तिको दिनमा व्याउली (पुतली) बनाएर जलाइन्छ । व्याउली (पुतली) जलाउने ठाउँमा युवतीहरुले वनभोजको आयोजना गरी दाजुभाइबाट विहानै खिञ्चरी भाग खाई वनभोजमा सामेल हुन्छन् । जहाँ उधेली ऋतुभरी ६ महिना सम्मको रसरङ्गको संस्मरण स्वरुपमा विधिवत रुपले नाच समापन गरीएको संस्कृति हो । जसलाई व्याउली हिप्न्या (पुतली पोल्ने) भनिन्छ । माघे सकराती मनाउने शैली र खानाका परिकारहरूका आधारमा यो चाडको विकास सिकारी युगमा भएको बुझिन्छ । माघे सङ्क्रान्तिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कन्दमूल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ । रुकुमका मगरहरूले माघे सङ्क्रान्तिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको बँदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ । यसरी यी संस्कृतिबाट हेर्दा माघे सकरातीको प्रारम्भ मगर जातिबाटै भएको मान्न सकिने उहाँको तर्क छ ।
मगर समाजमा माघे सङ्क्रान्तिलाई उभेलीको पहिलो चाड वा नयाँ वर्षको रूपमा मनाउने गरिएको पाइन्छ । मगरहरूले विशेषतः सांस्कृतिक चाडको रूपमा मनाउने गरेपनि कुलपितृको पूजा स्मरण गर्ने आफ्नै खाले धार्मिक विश्वास र मान्यता रहेको छ । मगर समाजमा हरेक चाडवाड एवम् संस्कारजन्य कार्यहरूमा सर्वप्रथम आफ्नै कुलपितृ र स्थानीय देवदेवीको आराधना गर्ने परम्परा रहेको पाइन्छ । माघे सङ्क्रान्तिको बिहानै स्नान गरी घर–आँगन सरसफाई गरेपछि कुलपितृलाई धूप, दीप, जल, ध्वजा र प्रसाद चढाएर सुख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको निम्ति कामना गरिन्छ । डा.मीन श्रीस मगरका अनुसार बागलुङ गलकोट खुवाक्षेत्रका मगरहरूले पितृको नाउमा माघेको पातमा सुकुटी र घिउमा फुराएको चामल राखेर अगेनाको नजिक अम्टोमा र छानामा घुसार्ने गर्दछन् । गण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा माघेसक्रातिको विहानै घरमुलीले खोला वा पँधेरामा गएर स्नान गरी केराको पातमा एक÷एक मुठी चामल र मासको दाल, अदुवाको टुक्रा, सिद्रा, फलफूल र जाँडरक्सी सात ठाउँमा राखेर धूपदीप सहित पितृलाई चढाउने चलन छ, जसलाई ‘मुठी याहाके’ (मुठी दिने) वा ‘डी डाके’ (पानी चढाउने) भनिन्छ । वरिष्ठ संस्कृतिविद् बम कुमारी बुढामगरका अनुसार रुकुम रोल्पाको मगर समाजमा छोरीचेलीहरूले बिहान स्नान गरी बारीमा उम्रेका जौंको झोप्ल्यानी (फूलको रूपमा प्रयोग गरिने जौंको पात) र दही चामलको सेतो टीकाले पँधेरो, धुरीखाँबो र अगेना पूजा गरी घर परिवारका सबै सदस्यहरूलाई टीका लगाइदिन्छन् । त्यसपछि छोरीचेलीहरूलाई मिसरा (चामल, तरुल, पिडालु, दाल र पैसा) दिइन्छ । माघे सङ्क्रान्तिका दिनमा गरिने यस प्रकारका रीथिथितिलाई मगर जातिको पितृ र प्रकृति पूजक धार्मिक परम्परा र मान्यताको रूपमा लिन सकिन्छ । माघे सकरातीको समयमा पिडालु, तरुल, अदुवा जस्ता कन्दमुलहरू एवम् मास, सिमी जस्ता गेडागुडी तयार हुने भएकाले नै मुख्य परिकारको रूपमा प्रयोग गरिएको पाइन्छ । माघे सकरातीमा तरुल खाएमा शरीरका रोगव्याधी पखालिने र वर्षभरी नै रोग नलाग्ने विश्वास पनि लिइन्छ ।