स्वर किन्नरी तारादेवीको २० औं स्मृति दिवस श्रद्धार्पणका साथ मनाइयो
९ माघ २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थानका पूर्वकर्मचारी स्वर किन्नरी तारादेवीज्यूको २० औं स्मृति दिवसको अवसरमा संस्थानले श्रद्धार्पणका साथ “सम्झनामा तारादेवी साङ्गीतिक समर्पण कार्यक्रम, २०८२” सम्पन्न गरेको छ । संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूको सभाध्यक्षता, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय श्री नारदमणी हार्तम्छालीज्यूको प्रमुख आतिथ्यता, संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, संस्थान सञ्चालक समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू लगायतको आतिथ्यतामा संस्थानको मिनी हल, जमल, काठमाडौँमा सो कार्यक्रम सम्पन्न गरिएको हो । संस्थानका कलाकार तथा प्रशिक्षार्थीद्वारा उच्च सम्मानका साथ श्रद्धार्पण भाव सम्प्रेषण हुने गरी स्वर किन्नरी तारादेवीद्वारा स्वरबद्ध कालजयी गीतहरूको प्रस्तुतीकरणसँगै स्मृति दिवस मनाइएको हो ।


सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरूको सम्मानार्थ विभिन्न व्यक्तित्वहरूको स्मृति दिवस विशेष कार्यक्रम सांस्कृतिक संस्थानले गत आ.व.देखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने प्रणाली विकास गरेको थियो भने आ.व.२०८२/८३ को नीति तथा कार्यक्रममा स्वर किन्नरी तारदेवीज्यूको स्मृति दिवस समेटेको हो ।



कार्यक्रम पूर्व सरस्वती पूजा गर्दै स्वर किन्नरी तारादेवीज्यूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा माल्यार्पण तथा मौन धारण गरी कार्यक्रम सुरुवात गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्णलाई हार्दिक स्वागत सहित स्वर किन्नरीज्यूलाई श्रदाञ्जली अर्पण गर्दैै संस्थानका महाप्रबन्धक किरण बाबु पुनज्यूले भन्नुभयोः–

“अद्भुत क्षमता, बौद्धिकता, कौशलता र रचनात्मक क्रियाकलापद्वारा विभिन्न कला अभिव्यक्त गर्दै राष्ट्रिय अस्तित्वलाई बचाउने विशिष्ट एवम् लोकोत्तर प्राणी हो कलाकार । मानव जीवनका जन्मदेखि मृत्यु पर्यन्त क्रियाकलाप सम्बन्धी कुनैनकुनै कला, ज्ञान तथा सीप भएको सिर्जनशील प्राणी हो कलाकार । मरेर गएपनि आफ्ना कृतिहरू मार्फत अजरअमर रहिरहने, कहिल्यै नमर्ने प्राणी हो कलाकार । अभौतिक संस्कृतिभित्रको उच्चकोटिको कला मानिने सङ्गीत तथा नाट्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु हुने राष्ट्रिय व्यक्तित्व अजरअमर व्यक्तित्व संस्थानका पूर्वकर्मचारी तारादेवीज्यूको २० औं स्मृति दिवसमा हामी छौं कि जसले बाँचुञ्जेली सिर्जनशील कला मार्फत यो देशको अस्तित्व बचाउन सारा जीवन समर्पण गर्नुभयो । साङ्गीतिक आकाशका एक नक्षेत्र, एक राष्ट्रिय धरोहर स्वर किन्नरीलाई हरनेपाली तथा राज्यले सदा उच्च सम्मानका साथ खोजी गर्नुपर्छ । उहाँको योगदानको पुस्तौंपुस्तासम्म अक्षुण्ण रूपमा पुस्तान्तरण हुनुपर्छ । नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले स्वर किन्नरीको स्मृति दिवसलाई आ.व.२०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा समेटेको छ, यसको निरन्तरताको पनि कामना गर्दछु । स्मृति दिवस भन्नु मृतात्माको उच्च सम्मान स्वरूप श्रद्धार्पण गर्नु हो । वर्तमान परिवेशमा डिजिटलयुगसँगै वैश्वीकरण (विश्वव्यापीकरण वा भूमण्डलीकरण) को प्रभावले संस्कृति हराउँदै गयो । कि स्मृति दिवस भनेको मृतात्माका चिर शान्तिका लागि सोही बमोजिमको क्रियाकलाप मार्फत श्रद्धार्पण गर्ने हो तर आजभोलि कताकता यो मर्म हराउँदै गएको महसुस हुन थालेको छ । संस्थानद्वारा कार्यक्रमको मूलमर्म बमोजिम आजका प्रस्तुति मार्फत स्वर किन्नरी प्रति उच्च सम्मानका साथ श्रद्धार्पण गरिनेछ । मैले बारम्बार एउटा एजेन्डा बडो गम्भीरतापूर्वक उठाउँदै आएको छु कि मृत्युवरण गरिसक्नुभएका सिर्जनशील प्राणीका कृतिहरूको प्रतिलिपि अधिकार, बौद्धिक अधिकारलाई संरक्षण गर्दै उहाँलाई राज्यबाट न्यायोचित शिष्टाचारको सम्मान दिलाउनु नै मुख्य शर्त हो । यी विषयमा गम्भीरतापूर्वक चिन्तन गर्न सकेनौं भने स्वर किन्नरी जस्ता थुप्रै राष्ट्रिय व्यक्तित्वहरूको अस्तित्व संकटमा पर्नसक्छ । स्वर किन्नरीका कालजयी कृतिहरूको रोयल्टी बारे वकालत कसले गर्ने ? हालसम्म प्राप्त रोयल्टी के कति छ ? कसले भोगचलन गर्दैछ ? उहाँको प्रतिलिपि तथा बौद्धिक अधिकारको रक्षा कसले गर्ने ? परिवारजनले रोयल्टी प्राप्त गरेका छन् कि छैनन् ? यी बारे सत्यतथ्य खोज गर्न संस्थान प्रतिबद्ध छ । यहाँ एक स्रष्टालाई जानीजानी मार्ने भ्रष्ट मतिका व्यक्तित्वहरूको हाबी छ । उदाहरणको लागि महाकवि लक्ष्मिप्रसाद देवकोटा कृत संस्थानको ऐतिहासिक गीति नाटक “मुनामदन” जसलाई स्वर किन्नरीज्यूले प्रमुख आवाज स्वरूप गाउनुभएको हो । त्यो कृति समेत मेटाउन यहाँ हरदम कोसिस गरिएको थियो । वर्षौंसम्म श्रव्य सामग्री हराएर अब कहिल्यै पनि नाटक मञ्चन तथा प्रदर्शन हुँदैन भन्ने अवस्था बनेको थियो । तर वर्तमान नेतृत्वले उत्खनन् गरी मरेको नाटकलाई पुनर्जन्म दिन सफल भएका छौं । एउटा कृति मेटिनु भनेको कृतिसँगै सम्बन्धित स्रष्टाको अस्तित्व मेटिनु हो । त्यसैले स्रष्टालाई अजरअमर बनाउन उसका कृतिलाई प्रतिलिपि तथा बौद्धिक अधिकार सहित बचाउन अपरिहार्य छ । आज विशेष दिन सरस्वती पूजा तथा वसन्त ऋतुको प्रारम्भ भएको दिन, आजको विशेष दिनदेखि नयाँ कार्यको थालनीदेखि प्रकृतिमा नयाँ पालुवाको आगमन हुने, सिर्जनशील प्राणीले अनुष्ठान गर्ने सरस्वती पूजाको दिन भएकाले सबैले एउटा प्रण गर्नुहोस् कि आजबाट नयाँ जोश जाँगर सहित सत्कर्मको कार्य गर्न प्रतिबद्धता गर्नुहोस् । स्वर किन्नरी तारादेवीज्यूको स्मृति दिवस र सरस्वती पूजा संयोगले एकैदिन हुनुले पनि स्वर किन्नरी सरस्वतीकै प्रतिबिम्ब हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ । सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान पुर्याउने स्वर किन्नरी जस्ता राष्ट्रिय धरोहरलाई युगौंयुग बचाउने स्पष्ट राज्यनीति हुनुपर्छ । त्यसका लागि सरकारी तवरबाट नीतिगत आवाज उठाउने अभिभारा संस्थानको भएकाले यसबारे संकीर्ण सोचबाट माथि उठी गम्भीर ढंगले चिन्तन गर्न यहाँका कर्मचारी साथीहरूलाई अनुरोध गर्दछु । अन्ततः स्वर किन्नरीको स्मृति दिवस देशैभरी तथा अन्तर्राष्ट्रियस्तरसम्म छरिएर रहेका नेपालीहरूले श्रद्धार्पण गरी मनाउने संस्कृतिको विकास हुनुपर्छ । फेरिपनि स्वर किन्नरी तारादेवीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”


कार्यक्रममा प्रमुख अतिथि माननीय कुलपति श्री नारदमणी हार्तम्छालीज्यूले सङ्गीतको उत्पत्ति, प्राचीन कालदेखि सङ्गीतका मूल्यमान्यताको वर्णन गर्नुहुँदै मातृ सङ्गीतको रूपमा सरस्वतीको पूजन गरिने दिन र आजकै दिन स्वर किन्नरी तारादेवीको स्मृृति दिवस हुनुले मातृ सङ्गीतको पूजन गर्नुको सार्थकता पुष्टि गरेको बताउनु भयो । उहाँले आलाप प्रधान मातृ सङ्गीत तथा ताल प्रधान पितृ सङ्गीत भएको विभिन्न ग्रन्थ र इतिहासमा समावेश गरिएकाले सोही बमोजिम नेपाली सङ्गीतलाई पनि व्याख्या गर्ने हो भने मातृ सङ्गीतको खानीको रूपमा नेपाल रहेको बताउनु भयो । उहाँले हिमालको काखबाट बग्ने सङ्गीत पहाड हुँदै तराईसम्म पुग्दा भूगोल विशेष पर्यावरणीय हिसाबले सङ्गीतको लबजमा विविधता पाइने बताउनु हुँदै स्वयंले गाएर उदाहरण समेत दिनुभएको थियो । स्वर किन्नरी साँच्चिकै नेपालका लागि सरस्वतीको प्रतिबिम्ब भएको धारणा सहित उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा प्रस्तुत भएका गीतहरूले साँच्चिकै श्रद्धार्पण भएको बताउनु हुँदै संस्थानले सङ्गीतलाई संस्थागत हिसाबले अगाडि बढाउन गरेको पहल प्रति उच्च सम्मान व्यक्त गर्नुभयो । उहाँले महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको दीर्घकालीन रणनीति अनुसार संस्थानले पछिल्लो समय गति लिएकाले थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थानका कलाकारहरूद्वारा प्रस्तुत गरिएका गीतहरू यसप्रकार रहेका थिएः–
१.उकाली ओरालीहरूमा (प्रस्तुतिः प्रशिक्षार्थी)
(शब्दः चाँदनी शाह, सङ्गीतः नातीकाजी , स्वरः तारादेवी)

२.साँगुरी बारी नि हो (प्रस्तुतिः शिला विष्ट)
(शब्दः पुण्यप्रसाद सुवेदी, सङ्गीतः नातीकाजी, स्वरः तारादेवी)

३.नौ सय खोला (प्रस्तुतिः राधिका भण्डारी)
(शब्दःयादव खरेल , सङ्गीतः शिव शंकर, स्वरः तारादेवी)

४.उसको ममता मेरो हो (प्रस्तुतिः विपिन घिमिरे र शिला विष्ट)
(शब्दःलक्ष्मण लोहनी, सङ्गीतःनातीकाजी, स्वरः नारायण गोपाल र तारादेवी)

वाद्यवादनमा संस्थानका कलाकारहरू श्री तिर्थराज पोख्रेल ज्यू, श्री दुर्गाप्रसाद खतिवडा ज्यू, श्री रोहित सुवेदी ज्यू, श्री नरेश प्रजापति ज्यू र श्री शुक्रिमाया मोक्तानज्यूले साथ दिनुभएको थियो ।




कार्यक्रम सञ्चालन संस्थानका कलाकार श्री विपिन घिमिरेज्यूले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो । कार्यक्रम समापन गर्नुहुँदै संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूले सांस्कृतिक संस्थानले स्रष्टाहरूको सम्मानका लागि यसप्रकारका नीति तथा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तर्फ जोड दिनुभयो ।























