"तिहार विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न"
काठमाडौँ, २०८१ कार्तिक १४ गते, सांस्कृतिक संस्थानले नेपालीहरूको महान् सांस्कृतिक पर्व तिहारको अवसरमा आयोजना गरेको "तिहार विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८१" भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थानमा लामो समयदेखि योगदान पुर्याएर अवकाशप्राप्त हुने कर्मचारीहरूको सम्मान गरिएको थियो।
वरिष्ठ संस्कृतिविद् तुलसी दिवसज्यूको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा महिला आयोग अध्यक्ष माननीय कमला कुमारी पराजुलीज्यू, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय नारदमणी हार्तम्छालीज्यू, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक शुभासचन्द्र जोशीज्यू, प्राज्ञ टीका पुनज्यू, समाजसेवी सावित्री अधिकारीज्यू, नेपाल सरकारका सहसचिव तथा उपसचिवज्यूहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको विशेष अवसरमा २०८१ कार्तिक १५ गते अवकाशप्राप्त नृत्य प्रबन्धक श्री मनोज जोशीज्यूलाई संस्थानप्रति समर्पित सेवाका लागि उच्च सम्मानकासाथ कदरपत्र प्रदान गरी बिदाई गरिएको थियो। उहाँप्रति संस्थानले सुखद भविष्य, सुस्वास्थ्य, र दीर्घायुको कामना गरेको छ।
कार्यक्रममा तिहार पर्वको सांस्कृतिक महत्त्व झल्किने विभिन्न नृत्य, संगीत, र भजन प्रस्तुतिहरूले उपस्थित दर्शकहरूको मन जितेको थियो। कार्यक्रमका सबै प्रस्तुति तिहारको परम्परागत सौन्दर्य र सांस्कृतिक महत्त्व उजागर गर्ने खालका थिए।
कार्यक्रमको अन्त्यमा उपस्थित अतिथि, विशिष्ट व्यक्तित्वहरू, र सांस्कृतिक संस्थानका कर्मचारीहरूले परम्परागत तिहारको मिठास बाँड्दै शुभकामना आदानप्रदान गरे।
सांस्कृतिक संस्थानले यस्तो कार्यक्रमले नेपाली कला, संस्कृति, र परम्पराको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र सांस्कृतिक धरोहरलाई नयाँ पुस्तासम्म पुर्याउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा आफ्नो सारा जीवन संस्थानलाई अर्पिएर २०८१ कार्तिक १५ गते अवकाशप्राप्त गर्नुहुने नृत्य प्रबन्धक श्री मनोज जोशीज्यूलाई बाँकी जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै उच्च-सम्मानकासाथ कदरपत्र सहित बिदाई गरिएको छ ।