गुरु पूर्णिमाको शुभकामना
गुरुको शाब्दिक अर्थ “गु” भन्नाले अन्धकार र “रु” भन्नाले प्रकाश भन्ने हुन्छ । अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हुन् । यसरी अज्ञानरुपी अन्धकारबाट ज्ञानतर्फ डोर्याउने गुरुको सम्मान–श्रद्धा प्रकट गर्ने तथा स्मरण गर्ने दिनका रूपमा गुरु पूर्णिमालाई लिइने गरिन्छ । गुरुकै मार्गदर्शनबाट मानवजातिले नैतिक ज्ञान, सिप ग्रहण गर्दछ । हरेक मानवका लागि आमा पहिलो गुरु हुन् । आमाबाटै एक सन्ततिले सभ्य संस्कृति ग्रहण गर्दछ । आमापछि बाबा, परिवारजन, शिक्षक/शिक्षिका लगायत विभिन्न क्षेत्रगत हिसाबले कुनैपनि किसिमको सीप, ज्ञान प्रदान गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई गुरुकै दर्जा दिइनुपर्छ । त्यस्तै विज्ञानको युगले ल्याएका आविष्कारबाट प्राप्त हुने ज्ञानलाई समेत गुरूतत्त्वको रूपमा लिइनुपर्छ ।
आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा पर्दछ । गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा सभ्य सांस्कृतिक पर्व हो । मानव जीवनको प्रारम्भिक कालदेखि अन्त्यसम्म नै गुरुहरूको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरामा समेत गुरुले प्रदान गर्ने शिक्षामा निर्भर हुने गर्दछ । गुरु पूर्णिमासँग पौराणिक मान्यताहरू पनि जोडिएका छन् । प्राचीनकालदेखि नै गुरुको भूमिका महत्त्वपूर्ण रहेको छ ।
समाजमा नैतिक संस्कृति निर्माण गर्नु आजको आधारभूत शर्त हो । सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँगै सिर्जनशील कला मार्फत सभ्य संस्कृति निर्माणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । गुरु पूर्णिमाले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्दै नैतिक संस्कृति निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा सहित गुरु पूर्णिमा २०८२ को शुभकामना व्यक्त गर्दछु ।
२६ असार २०८२
ने.सं.११४५ दिल्लाथ्व पुन्हि
किरण बाबु पुन
महाप्रबन्धक