“गाईजात्रा महोत्सव २०८२” विशेष प्रेस विज्ञप्ति सहित भेटघाट कार्यक्रम सम्पन्न
सांस्कृतिक संस्थानको आयोजनामा “गाईजात्रा महोत्सव २०८२” विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मिति २०८२ असार २९ गते आइतबारका दिन संस्थानको मिनी हलमा आयोजित कार्यक्रममा मिडियाकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले गाईजात्रा महोत्सव विशेष प्रेस विज्ञप्ति सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रमा गाईजात्रा महोत्सवमा अनुबन्धित लोकप्रिय हास्यकलाकारहरू तथा संस्थानका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्षता संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राईज्यूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन श्री हरि पुन मगरज्यूले गर्नु भएको थियो । कार्यक्रममा पत्रकारकार र कलाकार बीच अन्तरक्रियात्मक सवालजवाफ कार्यक्रम समेत गरिएको थियो । मिति २०८२ साउन २४ गतेदेखि ३१ गतेसम्म आयोजना गर्ने तय गरिएको गाईजात्रा महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका अलावा लोकप्रिय कलाकारहरू लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मुला साग), शिव शंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोख्रेल, हिमेश पन्त, भरतमणी पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहनेछ । टिकट संस्थानको कार्यालय र संस्थानको वेभसाइट मार्फत डिजिटल रूपमा उपलब्ध गराइनेछ ।
प्रेस विज्ञप्ति यसप्रकार छ :-
प्रेस विज्ञप्ति
नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले पछिल्लो समय बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको राष्ट्र नेपालको पहिचान रक्षार्थ संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण सहित उत्पादनमा जोडदिने उद्देश्यका साथ विभिन्न सांस्कृतिक चाडपर्वहरूको अवसरमा प्रभावकारी कार्यक्रम प्रदर्शन गर्दै आइरहेको विदितै छ । यसै अनुरूप नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” मिति २०८२ साउन २४ गतेदेखि ३१ गतेसम्म आयोजना गर्ने तय गरिएको व्यहोरा अनुरोध छ ।
संस्थानले गतवर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको हो । आ.व.२०८२/८३ मा पनि नीति तथा कार्यक्रममा समावेश गरी झनै आकर्षक ढंगले मौलिक संस्कृति सहित भरपूर मात्रामा हास्य रस प्रदायक बनाउने लक्ष्यका साथ संस्थानका कलाकारहरू र लोकप्रिय हास्यकलाकारहरूको प्रस्तुति रहनेछ । संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका अलावा लोकप्रिय कलाकारहरू लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मुला साग), शिव शंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोख्रेल, हिमेश पन्त, भरतमणी पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहनेछ । टिकट संस्थानको कार्यालय र संस्थानको वेभसाइट मार्फत डिजिटल रूपमा उपलब्ध गराइनेछ ।
डिजिटल युग तथा वैश्वीकरणको प्रभावले समाजमा विकृति, विसंगति बढ्नुका साथै नेपाली संस्कृति नै संकटमा पर्ने खतरा बढेको परिवेशमा नयाँ पुस्तामाझ प्राचीन संस्कृतिको मूलमर्म सही रूपमा सम्प्रेषण गर्न संस्थानले नेपालका सम्पूर्ण सांस्कृतिक चाडपर्व विशेष कार्यक्रम प्रस्तुत गर्दै आइरहेकाले सांस्कृतिक पर्व गाईजात्रा (सापारू) को अवसरमा गाईजात्रा महोत्सव आयोजना गर्न लागेको हो ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको सांस्कृतिक पर्व गाईजात्राको मौलिक संस्कृति लोप हुने खतरा बढेकाले यसको संरक्षणका लागि नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र निकाय सांस्कृतिक संस्थानले आफ्नो मूल अभिभारा बमोजिम गाईजात्रा महोत्सव गर्ने परम्परा गतवर्षदेखि थालनी गरेको हो । शोक र मृत्युसँगको पृष्ठभूमि रहेको गाईजात्रा पर्वले नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पाइन्छ । यसर्थ गाईजात्रा पर्वभित्र आँसु र हाँसोको अलौकिक सङ्गम रहेकाले वेग्लै मौलिक संस्कृति पाइन्छ । गाईजात्राको अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने चलन बढेको पाइन्छ ।
गाईजात्रामा पछिल्लो समय अभिव्यक्त गरिने व्यङ्ग्यात्मक प्रस्तुतिमा सामाजिक पक्षभन्दा राजनीतिक पक्षलाई विशेष व्यङ्ग्य गर्ने परिपाटी रहेको छ । गाईजात्राको अवसरमा परम्परागत रूपमा र लोकतान्त्रिक पद्धति अनुसार पनि व्यङ्ग्य गर्ने छुट रहेको पाइन्छ । तर छुटको नाउँमा अतिरञ्जित किसिमले प्रहसन गरी सांस्कृतिक पर्व गाईजात्रा भन्नु अतिरञ्जित व्यङ्ग्य गर्ने पर्व हो भन्ने किसिमको भाष्य नयाँ पुस्तामाझ सम्प्रेषण हुनु भनेको मौलिक संस्कृतियुक्त गाईजात्रा पर्वको अस्तित्व सङ्कटमा पर्नु हो । गाईजात्रा पर्वलाई मौलिक संस्कृति अनुरूप मनाउन र सभ्य सांस्कृतिक सन्देश सम्प्रेषण गर्नका लागि संस्थानले संस्कृतियुक्त रचनात्मक, सौन्दर्यात्मक एवम् कलात्मक कन्टेन्टलाई विशेष जोड दिनेछ । संस्थानको मेगा प्रेक्षालयमा मिति २०८२ साउन २४ गतेदेखि ३१ गतेसम्म प्रत्येक दिन साँझ ५ बजे कार्यक्रम प्रदर्शनी गरिनेछ भने सार्वजनिक विदाको दिन २ शो गरिनेछ ।
अन्त्यमा, सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरण सहित उत्पादनमा जोडदिने उद्देश्यका साथ नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य-मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” आयोजना गरिने पुनः जानकारी गराउँदै सम्पूर्ण नेपालीहरूको साथ, माया, प्रेरणा तथा शुभेच्छाको अपेक्षा गर्दछौं ।
मिति : २०८२ साल असार २९ गते आइबार ।
ने.सं.११४५ दिल्लागा तृतीया ।
किरण बाबु पुन
महाप्रबन्धक