सांस्कृतिक  संस्थानको गाईजात्रा महोत्सव २०८२ भव्य तयारी हुँदै

सांस्कृतिक  संस्थानको गाईजात्रा महोत्सव २०८२ भव्य तयारी हुँदै


 

सांस्कृतिक  संस्थानको गाईजात्रा महोत्सव २०८२ भव्य तयारी हुँदै


नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले पछिल्लो समय बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र नेपालको पहिचान तथा अस्तित्व रक्षाका लागि संस्कृति भित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण सहित उत्पादनमा जोड दिने उद्देश्यका साथ विभिन्न सांस्कृतिक चाडपर्वको अवसरमा प्रभावकारी कार्यक्रम प्रदर्शन गर्दै आइरहेको छ । यसै अनुरूप नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” साउन २४ गतेदेखि ३१ गतेसम्म आयोजना गर्ने तय गरेको छ ।

संस्थानले गतवर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको हो । आ.व.२०८२/८३ मा झनै आकर्षक ढंगले मौलिक संस्कृति झल्किने गरी भरपूर मात्रामा हास्य रस प्रदायक हुने गरी संस्थानका कलाकारहरू र लोकप्रिय हास्यकलाकारहरूको  प्रस्तुतिमा सम्पन्न गरिने भएको छ । संस्थानका कलाकारहरूका अलावा लोकप्रिय कलाकारहरू लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मुला साग), शिव शंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोख्रेल, सुमन कोइराला (दले दाइ), भरतमणी पौडेल, हिमेश पन्त, खबपु चञ्चल मगर, दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहनेछ । टिकट संस्थानको कार्यालय र संस्थानको वेभसाइट मार्फत डिजिटल रूपमा उपलब्ध गराइनेछ ।

डिजिटल युग तथा वैश्वीकरणको प्रभावले समाजमा विकृति, विसंगति बढ्नुका साथै नेपाली संस्कृति नै संकटमा पर्ने तथा मानवीय अस्तित्व समेत लोप हुने खतरा बढेको परिवेशमा नयाँ पुस्तामाझ प्राचीन संस्कृतिको मूलमर्म सही रूपमा सम्प्रेषण गर्न सांस्कृतिक पर्व गाईजात्रा विशेष महोत्सव आयोजना गर्न लागेको जानकारी गराइएको छ । 
 
गाईजात्रा सांस्कृतिक पर्व हो । गाईजात्रा उपत्यका लगायत नेवार समूदाय बसोबास गर्ने देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । वर्ष दिनभित्र मरेका दिवंगत आफन्तको सम्झनामा मनाइने यस पर्वले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको छ । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । शोक र मृत्युसँग सम्बन्धित रहेको गाईजात्रा पर्वले नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पाइन्छ । गाईजात्रामा हाँसो र व्यङ्ग्यको शुरुआत मध्यकालमै भएको हो । राजा प्रताप मल्लले मृत्यु शाश्वत सत्य हो भन्ने देखाउँदा समेत रानीको चित्त शान्त नभए पछि हास्य प्रयोग गरेको इतिहास पाइन्छ । यसर्थ गाईजात्रा पर्व हाँसो र आँसुको अलौकिक सङ्गम रहेकाले यस पर्वभित्र वेग्लै मौलिक संस्कृति पाइन्छ । 

काठमाडौँ उपत्यकाकै विभिन्न सहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन् । त्यसमध्ये भक्तपुरमा सापारूका छुट्टै रौनक र आकर्षण रहेका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठ दिनसम्म चल्दछ । यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भए पनि बिस्तारै त्यो लोप हुन थालेको छ । गाईजात्राको एक दिन अघि जनै पूर्णिमा पर्छ, त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म यो पर्व मनाइने परम्परा रहेको पाइन्छ ।


गाईजात्राको अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने चलन पनि हाल बढेको पाइन्छ । गाईजात्रामा पछिल्लो समय अभिव्यक्त गरिने व्यङ्ग्यात्मक प्रस्तुतिमा राजनीतिक र सामाजिक विसङ्गतिहरूलाई लक्षित गर्ने परिपाटी रहेको छ । गाईजात्राको अवसरमा परम्परागत रूपमा र लोकतान्त्रिक पद्धति अनुसार पनि व्यङ्ग्य गर्ने छुट रहेको पाइन्छ । तर अतिरञ्जित किसिमले प्रहसन गरिने प्रचलन रहेको प्रति संस्थानले विशेष ध्यानाकर्षण गरी कन्टेन्टलाई सभ्य रूपमा प्रस्तुत गर्ने कुरा संस्थानका महाप्रबन्धक किरण बाबु पुनले जानकारी दिए । सांस्कृतिक संस्थानको मेगा प्रेक्षालयमा प्रत्येक दिन साँझ ५ बजे कार्यक्रम प्रदर्शनी गरिनेछ भने सार्वजनिक विदाको दिन २ शो गरिनेछ । 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij