ठेट नेपाली सांस्कृतिक कार्यक्रम “माटोको गीत” (Song of the Soil) को पहिलो संस्करण "पहिलो श्रृंखला"

ठेट नेपाली सांस्कृतिक कार्यक्रम “माटोको गीत” (Song of the Soil) को पहिलो संस्करण "पहिलो श्रृंखला"


सांस्कृतिक संस्थानले सांस्कृतिक पर्यटनको विकाशमा टेवा पुर्याउन, विदेशी पर्यटकहरुलाई नेपालको मौलिक संस्कृतिबारे अवगत गराई प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारहरुलाई चलायमान बनाउनर लोकसंस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउन ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’सुरु गरेको छ । कार्यक्रम यही पुसको पहिलो साताबाट सःशुल्क साप्ताहिक रुपमा नियमित प्रस्तुत हुने कुरा संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले जानकारी गराएका छन् ।

P1000686.JPG

मङ्सिर २९ गते शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रमुख अतिथिको आसनबाट कार्यक्रमको समुद्घाटन गरे पश्चात् प्रथम प्रदर्शन समेत सम्पन्न भएको छ ।

‘माटोको गीत’ (SONGS OF SOIL) को प्रथम प्रदर्शन समारोहमा विभिन्न प्रदेशका मौलिक धुन र नेवारी लोक धुनका साथै वालुङ, आर्यतारा, झिंझिया, घाटु, साकेला, सोरठी र हुड्केली नृत्यहरु प्रस्तुत गरिएका थिए ।

P1000684.JPG

यसैगरी समारोहमा राष्ट्रिय विभूति सीताको कथामा आधारित नाटक ‘सिया चरित’ को पनि मञ्चन गरिएको थियो । कार्यक्रममा नौमती बाजाको धुन, थकाली लोकगीत र राष्ट्रिय गीतको समेत प्रस्तुति रहेका थिए । कार्यक्रममा वाद्यवादन्, नृत्य, गायन तथा अभिनय गरी लगभग १ सय ५० जना कलाकारहरुको सहभागिता रहेको थियो ।

P1000691.JPG

संस्थानकै मेघा हलमा आयोजना भएको सो कार्यक्रममा मन्त्रीहरु, सांसदहरु,  संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, पर्यटन बोर्डका पदाधिकारीहरु, विदेशी राजदुतहरु, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीहरु, पर्यटनकर्मीहरु, विभिन्न जातजातिका अगुवाहरु, विभिन्न सांस्कृतिक अन्वेषकहरु, अध्येताहरु, लेखक, प्राध्यापक आदिको उपस्थिति रहेको थियो ।

नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने सो कार्यक्रमका प्रस्तुतिहरु मनोरन्जनभन्दा 

बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक भएको चौतर्फी प्रतिक्रिया आईरहेको छ । विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञहरुको परामर्श, मूल्याङ्कन तथा सुझाव लिनका लागि प्रस्तुति छनोट समिति’ पनि गठन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संस्कृति तथा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निजी तथा सरकारी सङ्घ-संस्थाहरुसँग सहकार्य रहेको सो कार्यक्रममा विविधता ल्याउनका लागि समय, सन्दर्भ र ऋतु अनुसार प्रस्तुतिहरु फरक फरक हुने छन् भने सबै प्रस्तुतिहरुलाई अभिलेखीकरण गरी निकट भविष्यमै डिजिटल लाइब्रेरी तयार गर्ने संस्थानको योजना रहेको छ ।

नेपाली परिकारका साथ रात्रीभोज सहित केही महिना साप्ताहिक रुपमा आयोजना गरिने र आवश्यकता हेरेर शो बढाउने योजना समेत रहेको सो कार्यक्रमका लागि सुरुआती चरणमा नेपाली नागरिकका लागि रू. ५००/-, भारत र चीनका दर्शकका लागि रू. १,०००/- र अन्य अन्तर्राष्ट्रिय मुलुकका दर्शकका लागि रू. १,५००/- शुल्क तोकिएको छ . यस कार्यक्रमबाट नेपालमा सांस्कृतिक पर्यटनको विकाशमा टेवा पुग्ने, देशको संस्कृति र सभ्यता विश्वमाझ पुग्ने, पुँजी निर्माणमा सांस्कृतिक क्षेत्रको योगदान रहने एवं बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुकका रुपमा नेपाल विश्वमाझ चिनिन अझ सहज हुने विश्वास गरिएको छ ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij