सांस्कृतिक संस्थान, २०८१ जेष्ठ २३ गते
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय हितबहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाट्य विभागको सहकार्यमा, पुरु लम्सालको अवधारणामा, विष्णु मोक्तानको लेखन तथा सुशीलसिंह ठकुरीको निर्देशनमा सांस्कृतिक नाटक "नाम्गेलको गाउँ" मञ्चन भएको थियो।
सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले नाटकलाई जनजागरणको सशक्त माध्यमको रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सांस्कृतिक प्रस्तुति नेपाली कला र संस्कृति संरक्षणको महत्वपूर्ण आधार बन्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महराज्यू, प्राज्ञ डा. राई, प्राज्ञ टीका पुन, पूर्व सदस्य सचिव तथा वरिष्ठ गीतकार श्यामप्रकाश तमोट लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
"नाम्गेलको गाउँ" नाटकले नेपाली हिमाली क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक यथार्थलाई सजीव रूपमा प्रस्तुत गरेको थियो। यसले परम्परागत जीवनशैली र वर्तमान समयमा आउने चुनौतीहरूलाई उजागर गर्दै दर्शकहरूको मन जित्न सफल भएको थियो।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभाग प्रमुख प्राज्ञ हिसन बहादुर मगरको संयोजन रहेको कार्यक्रममा नाटकमा संलग्न कलाकार, निर्देशक तथा प्राविधिकहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।
नाटकमा सगुन तामाङ, रामभजन कामत, सुशीला थापा, सानुमाया तामाङ, सन्तोष तामाङ बान्बो, उमाकान्त सापकोटा, अन्जु खड्का, रिजेश तामाङ, निशान चौलागाईँ, सविता तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको थियो ।
कार्यक्रमको समापनमा अतिथिहरूले नेपाली नाट्य क्षेत्रको प्रगतिमा यस्ता प्रयासहरूले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
"नाम्गेलको गाउँ" नाटकले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचारप्रसार गर्ने अपेक्षा गरिएको छ।