"२१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१" सम्पन्न
२०८१ असार १५
राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको आयोजनामा, सांस्कृतिक संस्थानको सहकार्य र सांस्कृतिक प्रस्तुतिसँगै, "२१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१" सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
यस अवसरमा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले संस्कृति भनेकै जीवन पद्धति हो र नेपालीको प्रमुख खाद्यान्न बाली धानले हाम्रो जीवन पद्धतिसँगै धार्मिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षसँग गहिरो सम्बन्ध राख्नका साथै संस्कृतिको मूल मर्मलाई समाजमा सम्प्रेषण गर्न तथा जीवन पद्धतिसँगका संस्कृति संरक्षण र प्रवर्धनका लागि संस्थान सधैं प्रतिबद्ध रहने कुरा बताउनुभयो।
नेपाल सरकारले वि.सं. २०६१ सालदेखि असार १५ गतेको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा उत्सव स्वरुप मनाउने परम्परा कायम गरेको हो, जसले श्रमजीवी किसानहरूको श्रमको सम्मान गर्नका लागि स्थापित गरिएको हो ।
यो महोत्सवले नेपाली किसानहरूको महत्त्वपूर्ण योगदान र धान खेतीसँगको गहिरो सम्बन्धलाई समाजमा उजागर गर्ने एक महत्त्वपूर्ण अवसरको रूपमा रहदै आएको छ ।