गाईजात्रा पर्व
हरेक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिइन्छ। यस्तै महत्वपूर्ण पर्वहरूमा गनिने महत्वपूर्ण पर्व हो गाईजात्रा । गाईजात्रा नेवार समुदायको सत्रौँ शताब्दीदेखि चलिआएको एउटा परम्परागत प्रथा हो । यसलाई हाँसो र ठट्टाको पर्वका रूपमा पनि चिनिन्छ।यो पर्व काठमाडौँ, भक्तपुर, ललितपुर र लगायत देशका सबै स्थानमा बसोबास गर्ने नेवार जातिहरूले प्रायः मनाउने गर्दछन्। यो जात्रा विशेषत एक वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने गर्दा जात्राले विशेष महत्व राख्दछ। गाईजात्राका दिन सडकमा गाई, गाईकै भेष अथवा विभिन्न मुखुन्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन्।गाईजात्रामा विभिन्न रसिक कुराकानी, ठट्यौली, चुट्किला र प्रहसन समेत गरिन्छ।मृत्यु भएका आफन्तको सम्झनामा गरिने जात्रामा आत्मसात् गरिएको रमाइलो र हाँसोका माध्यमहरूलाई विचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवश्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाको रूपमा लिएर अघि बढ्नकालागि मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँदछ।यस्ता किसिमका पर्वहरूले हाम्रा मूल्य, मान्यता, आभास र महत्वको आत्मबोध गर्दै पीडा, दुःख, दर्द र बेदना भए पनि सुन्दर जीवनमा सकारात्मक सान्त्वना लिनकालागि हाँसेर मनोरञ्जन लिन पाउने अधिकार सबैको भएकाले गाईजात्रालाई हाँस्ने पर्व (वाक्) स्वतन्त्रताको रूपमा पनि लिइन्छ ।
२०८१ भदौ १० गते
सांस्कृतिक संस्थानले आफ्नो राष्ट्रको संस्कृतिको महत्व र सांस्कृतिक सद्भाव संरक्षण तथा प्रवर्द्धन गर्न वार्षिक कार्यक्रमको योजना अनुरूप भदौ ३ गतेदेखि १० गतेसम्म गाईजात्राको अवसर पारेर ‘श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव-२०८१’ को आयोजना गरेको थियो ।
मौलिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्य साथ नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारु) लाई सांस्कृतिक परम्परा, मूल्य-मान्यता अनुरुप उत्सवका रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा भदौ ३ गते समुद्घाटन भई भदौ १० गतेसम्म जम्मा (आठ) दिन नौ वटा शो प्रदर्शन भएको थियो ।