तिहार विशेष कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान

तिहार विशेष कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान


 

तिहार विशेष कार्यक्रम सम्पन्नः सांस्कृतिक संस्थान


२ कार्तिक २०८२, काठमाडौँ ।
सांस्कृतिक संस्थानले आफ्नो अभिभारा बमोजिम महान् सांस्कृतिक पर्व तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ । संवत् २०८२ भदौ २३ र २४ को जेन जी आन्दोलनमा महान् शहीदहरूको मृत्युवरण गरेका थिए । सोही कारण बदलिएको विषम परिस्थितिका कारण हर्षोल्लासमय तवरले सांस्कृतिक चाडपर्व विशेष कार्यक्रम प्रदर्शन गर्ने वातावरण छैन । तर पनि नजिकिँदै गरेका नेपालीहरूको महान् सांस्कृतिक चाडपर्वहरू तिहार, नेपाल संवत् ११४६ र छठ पर्व आजबाट क्रमशः सुरुवात हुँदैछ । सो अवसरमा परिस्थिति बमोजिम सांस्कृतिक संस्थानले तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जेन जी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदहरू प्रति श्रदाञ्जली अर्पण गदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै सामान्य ढंगबाट सम्पन्न गरिएको हो । कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवाली ज्यू, महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, शाखा संयोजकज्यूहरू लगायत कर्मचारी तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको  थियो । गायन, वादन, नृत्य, नाटक जस्ता प्रस्तुतिजन्य क्रियाकलाप नगरी मात्र सिर्जनशील कृति विमोचन र चाडपर्व विशेष बहस गरी कार्यक्रम समापन गरिएको हो । 

IMG_8426.jpg

IMG_8429.jpg

IMG_8436.jpg

IMG_8444.jpg

कार्यक्रममा संस्थानले तयार पारेको तिहार पर्व विशेष मौलिक देउसी भैलो गीतको श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको थियो । 

IMG_8471.jpg

IMG_8484.jpg


संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले विशेष मन्तव्य राख्नुहुँदै भन्नुभयोः–
भदौ २३ र २४ को जेन जी आन्दोलनका कारण देशमा भएको परिर्वतन र परिवेशलाई मध्यनजर गर्दै यो विशेष परिस्थितिमा समयानुकूल हाम्रा नीति तथा कार्यक्रमलाई अगाडि बढाउनु हाम्रो दायित्व हो । यो घडीमा पनि नेपालीहरूको महान चाडपर्वहरू मध्ये दशैं भर्खरै बिदाई भएको र तिहार, नेपाल संवत्, छठ जस्ता पर्व आँगनीमै आएकाले परिस्थिति अनुरूप मौलिक संस्कृतिको रक्षा गर्नु हाम्रो अभिभारालाई शिरोपर गर्दै संस्थानको नीति तथा कार्यक्रम अन्तर्गत तय गरिएको कार्यक्रम भएकाले सामान्य ढंगले शुभकामना आदानप्रदान स्वरूप यो कार्यक्रम मनाउन गइरहेका छौँ । नीति तथा कार्यक्रम अन्तर्गत खासमा कार्तिक २ गते राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्म नामक कार्यक्रम थियो । जुन कार्यक्रममका राष्ट्रिय नाचघरदेखि संस्थानसम्म सिर्जनशील कला मार्फत योगदान दिई अवकाशप्राप्त कर्मचारीहरूको सम्मानार्थ उहाँहरूलाई सम्मिलित गराई कार्यक्रम गर्ने परम्परा गत आ.व.देखि प्रारम्भ भई त्यसैको निरन्तरता थियो । परिस्थितिवश त्यसको समय स्थानान्तरण गर्ने निष्कर्षमा हामी पुगेका छौं । त्यसैगरी कार्तिक ३ गते देउसी भैलो कार्यक्रम रहेकाले सो कार्यक्रमलाई १ दिन अगाडि सारेर परिस्थितिजन्य ढंगले न्यायोचित क्रियाकलाप समेटेर सामान्य तवरले हामी मनाउन गैरहेका छौं । 

तिहार नेपालीहरुको दास्रो ठूलो महान् सांस्कृतिक चाड हो । कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधि तिहार हो । आज कार्तिक कृष्ण त्रयोदशी काग तिहार अर्थात् तिहारको पहिलो दिन हो । पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । किंवदन्ती अनुसार यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई वर माग्न अनुराध गर्दा यमुनाले हरेक वर्ष आजकै दिन आफूलाई भेट्न आउनु पर्ने, दिदीबहिनी र दाजुभाइ बीचको प्रेम सदा अटल रहिरहोस् तथा दाजुभाइको दीर्घायु होस् भन्ने वरदान मागेको भन्ने प्रसङ्ग छ । यसपश्चात् प्राचीनकालदेखि हालसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको जनविश्वास रहेको छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्रण गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवम् सम्बन्धलाई चित्रण गर्दछ । यमपञ्चकमा क्रमशः काग तिहार, कुकुर तिहार, गाई तिहार, लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका पर्दछन् । नेपाल कृषि प्रधान देश भएकाले तिहारको सांस्कृतिक पक्ष कृषिसँग जोडिएको पाइन्छ । आफ्नो मेहनतको फल अन्न भित्र्याउने समयको आगमनसँगै कृषकहरूमा खुशी–उमङ्गको सीमा हुँदैन । यस खुशीमा अन्न धेरै प्राप्ति होस् भनी धनकी देवी लक्ष्मीको पूजा आराधना गर्ने परम्परा रहेको छ । भाइटीका तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन विशेष उत्साहका साथ मनाइन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई विशेष मान–सम्मानकासाथ विधिपूर्वक पूजा गर्ने, दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका र मखमली तथा सयपत्रीको माला लगाइदिने, मिष्ठान्न भोजन खुवाउने र दाजुभाइले दिदीबहिनीलाई आफ्नो गच्छेअनुसारको दान–दक्षिणा दिने प्राचीनकालदेखि नै सांस्कृतिक परम्परा रहेको छ । 

तिहारको पर्वको विशेष आकर्षण देउसी–भैलो पनि हो । देउसी भैलो सम्बन्धी थुप्रै किंवदन्तीहरू जस्तै: राजा श्रीरामको प्रसङ्ग, राजा बलिहाङको प्रसङ्ग आदि पाइन्छन् । देउसी–भैलो विशेषत: लक्ष्मी पूजाको दिन केटीहरूले भैली खेल्ने र त्यसको भोलिपल्टदेखि केटाहरूले देउसी खेल्ने सांस्कृतिक परम्परा भए पनि हाल सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँगै केटाकेटीले सामूहिक रूपमा देउसी–भैली खेल्ने प्रचलन छ । समयसँगै सभ्य रूपान्तरण अपरिहार्य छ, तर रूपान्तरणका नाउँमा आजभोलि तिहार विशेष देउसी भैलोमा विकृति आउन थालेको छ । देउसीभैलो लक्ष्मी पूजा नगरी खेल्नुहुन्न भन्ने प्राचीनकालदेखिको संस्कृतिलाई समेत विकृत पारी तिहार सुरु हुनुपूर्व नै विभिन्न प्रसङ्ग जोडेर स्वार्थ केन्द्रित लाभदायक हेतुले देउसी भैलो खेलिनु संस्कृति माथि नै आघात पुर्याउनु हो । यस्तो क्रियाकलापबाट चाडपर्वको सही संस्कृति नयाँ पुस्तामाझ सम्प्रेषण हुन सक्दैन । डिजिटल युग र वैश्वीकरणको प्रभावले चाडपर्वमा विकृतिसँगै आधुनिकताको नाममा चाडपर्वको मौलिकता संकटमा पर्न थालेको छ । चाडपर्वको मौलिक संस्कृति हराउँदै गएको छ । नयाँ पुस्तालाई संस्कृतिको गरिमा बुझाउन र वास्तविक संस्कृतिको अनुभव गराउन सकेमात्र पुस्तौंसम्म हाम्रो संस्कृति हस्तान्तरण गर्न सकिन्छ । सांस्कृतिक चाडपर्वले समाजमा देखिने मतभेद अन्त्य गर्दै सौहार्दपूर्ण वातावरण निर्माण गर्दछ । संस्कृतिलाई जीवन्त राख्ने माध्यम नै चाडपर्व हुन् । परिवारको सुख, समृद्धि, ज्ञान अभिवृद्धि र सम्पत्ति लगायत भौतिक सुख प्राप्तिदेखि आध्यात्मिक शान्तिको कामना गर्दै आस्था र गच्छेअनुसार चाडपर्व मनाउनु पर्छ । चाडपर्वको मौलिक संस्कृति हराउँदै गएको छ । सांस्कृतिक पर्वहरुको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । सम्पूर्णलाई तिहारको शुभकामना व्यक्त गर्दछु । साथै तिहार विशेष मौलिक देउसी भैलो गीतका रचनाकार एवम् भाका संकलक श्री रोहित सुवेदी ज्यू लगायत गीतसँग सम्बद्ध सबै प्रति आभार प्रकट गर्दछु । निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य रेकर्डिङ स्टुडियो स्थापना गर्न सफल हुनु नै हाम्रौ गौरवको विषय भएकाले अब यसैगरी श्रव्यदृश्य सामग्री उत्पादन तर्फ थप सक्रिय हुनुपर्ने छ । 

कार्तिक ५ नेपाल संवत् ११४६,
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको देशमात्र नभई इतिहासको विभिन्न कालखण्डमा विविध संवत्को प्रयोग भएको देश पनि हो । इतिहासको पाना पल्टाएर हेर्ने हो भने शक संवत्, मानदेव संवत्, नेपाल संवत्, विक्रम संवत् जस्ता थुप्रै संवत् प्रयोगमा आएको पाइन्छ । नेपाल संवत् नेपालमै विकास भएको तथा नेपाल देशकै नामबाट नामाकरण भएकाले राष्ट्रको पहिचान दिएको मौलिक संवत्का रूपमा पाइन्छ । नेपाल संवत् संस्कतिसँग अभिन्न रूपमा गाँसिएको छ । मानव सभ्यताको विकासक्रमसँगै ‘समय’ मापनका दुई मुख्य प्राकृतिक विधि ‘चन्द्रमानक पात्रो’ र ‘सूर्यमानक पात्रो’ को विकास भएको पाइन्छ । यी दुईमध्ये कुनै एउटा पात्रोको आधारमा कुनै विशेष समय–कालखण्डलाई सुरुवाती विन्दुको रूपमा मानेर समयको मापन गर्ने विधिलाई संवत् भन्ने गरिएको छ । नेपाल संवत् ‘चन्द्रमानक पात्रो’ मा आधारित छ । नेपाल संवत् चन्द्रमाको गतिमा निर्धारण हुने भएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले अत्यन्तै महŒवपूर्ण मानिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिनबाट नेपाल संवत्को प्रारम्भ हुन्छ । चन्द्रमासबाट नै ज्योतिषशास्त्रमा विभिन्न तिथिहरूको निर्माण हुन्छ । नेपालका सम्पूर्ण सांस्कृतिक चाडपर्व तथा जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कारहरूका लागि नेपाल संवत्को प्रयोग विद्यमान नै रहेको पाइन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले तत्कालीन नेपालका गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएको मान्यता छ । वि.सं २०५६ सालमा नेपाल सरकारबाट शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिएको हो भने वि.सं २०६५ र वि.सं २०८० सालमा नेपाल सरकारबाट नेपाल संवत्लाई क्रमशः राष्ट्रिय मान्यता पाउने व्यवस्था र सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरेको हो । नेवारी भाषामा नेपाल संवत्को अवसरमा ‘न्हूदँया भिंन्तुना’ अर्थात् नयाँ वर्षको शुभकामना भनेर नेपाल संवत् फेरिने दिनलाई न्हूदँया भिन्तुना भन्ने गरिन्छ । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा ‘म्हपूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको पाइन्छ । म्हपूजा (आत्म पूजा) आफ्नै विधिपद्धति अनुसार नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैमा विशिष्ट र मौलिक संस्कृति रहेको छ । यसलाई विशेषतः काठमाडौं उपत्यकामा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ । नेपाली संस्कृतिसँग जोडिएको नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत्को संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । नेपालको मौलिक संवत्को शुभारम्भको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना सहित नेपाल संवत् ११४६ को शुभकामना व्यक्त गर्दछु । 
                                                                                                                                       
कार्तिक १० छठ पर्वः
सांस्कृतिक चाडपर्वहरू हिमाल, पहाड, तराईसम्मका सबै ठाउँमा आआफ्नै परम्परागत मूल्य–मान्यता र रीतिरिवाज अनुसार मनाउने गरिन्छ । छठ पर्व विशेष गरी तराई–मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाउने गरिएता पनि आजभोलि देशैभरी साझा सांस्कृतिक पर्वका रूपमा मनाउने गरिन्छ । विशेषतः कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा मनाइने छठको विधिविधान चार दिनको हुन्छ । कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ पर्व आरम्भ हुन्छ । चार दिवसीय छठ पर्वमा सबैभन्दा महŒवको हिसाबले कार्तिक शुक्ल षष्ठीको दिन हुन्छ । यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । छठको व्रतका नियम निकै कडा एवम् कठिन हुने गर्दछ । परम्परा अनुसार षष्ठी तिथिका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकिर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठ पर्व मनाउँदा महारोग तथा पीडाबाट मुक्ति, सन्तान सुख, पारिवारिक सुख, सुस्वास्थ्य, दीर्घायु प्राप्ति, पारिवारिक कल्याण तथा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । छठ पूजामा कृषि उपजको धेरै प्रयोग हुनाले यो पर्व कृषि संस्कृतिको प्रतीक हो । विधिपूर्वक प्रकृतिको पूजा गरिनुले छठ पर्व मानव र प्रकृति बीचको सम्बन्धलाई जोड्ने पुल हो, विधिपूर्वक सूर्यको पूजा गरिनुले छठ पर्व शक्तिको उपासना पनि हो । के धनी, के गरिब, के उच–निच सवै भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा–अर्चनाका लागि सहभागी हुने हुनाले छठ पर्व सामाजिक सद्भाव र एकताको विशिष्ट नमुना पनि हो । छठमा प्रसादका रूपमा शुद्ध शाकाहारी वस्तुलाई मात्र स्थान दिइने भएकाले छठ पर्व अहिंसाको पर्व पनि हो । सूर्यको उपासनामा कृपालु छठी माताको आशिष बिना अनुष्ठान पुरा हुनै सक्दैन भन्ने मान्यता रहेकाले छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व पनि हो, मातृशक्ति प्रतिको श्रद्धा भाव प्रकट गर्ने पर्व पनि हो । छठ पर्वको पनि धेरै शुभकामना व्यक्त गर्दछु ।


संस्थानका कर्मचारीहरू तिहार पर्वको गरिमा जस्तै सुशासनका लागि पवित्र बन्ने शक्ति मिलोस् भन्ने  कामना सहित देउसी भैलो समर्पण गर्न चाहन्छुु ।
भैलो भनः भैली रे 
संस्थानकाः भैली रे  
कर्मचारीमाः भैली रे
काम, कर्तव्यकोः भैली रे
जिम्मेवारीः भैली रे
बहन गर्नेः भैली रे
संस्कृति बनोस्ः भैली रे
खुराफात गर्नेः भैली रे
आफू नि नगर्नेः भैली रे
अरूलाई पनिः भैली रे
गर्नै नदिनेः भैली रे
कुसंस्कार हटोस्ः भैली रे
नेतृत्वकाः भैली रे
सुशासन नीतिः भैल भैली रे ी रे
आत्मनिर्भर नीतिः 
समृद्धि नीतिः  भैली रे
संस्थान हित नीतिः भैली रे
वृत्ति विकास नीतिः भैली रे
कर्मचारीलेः  भैली रे
चिन्तन गर्नेः भैली रे
संस्कृति बनोस्ः भैली रे
“काम, कर्तव्य बोध गरौँ सबले संस्थानमा समृद्धि थाल्नु छ
नियम अनुसार सुविधा खोजौं भ्रष्टाचारलाई जडबाटै फाल्नु छ”

अन्ततः नबिराउनु, नडराउनु मेरो स्पष्ट धारणा पुनः स्मरण गराउन चाहन्छु कि, संस्थानको हित र कर्मचारीको वृत्ति विकासका निम्ति ‘म काम गर्छु, मलाई काम गर्न देउ’ कुनै किसिमका बाधाअड्चनले हामीलाई रोक्न सक्दैन । यो अभियानलाई सार्थकता दिनका लागि तिहार पर्वले तपाईंहरूमा सकारात्मक चिन्तन विकास गरोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

IMG_8475.jpg

IMG_8496.jpg

IMG_8405.jpg

कार्यक्रम सञ्चालन संस्थानका कलाकार सेवामा कार्यरत श्री विपिन घिमिरेज्यूले गर्नुभएको थियो भने सभाध्यक्षता अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूले ग्रहण गर्नुभएको थियो । 

IMG_8408.jpgIMG_8437.jpgIMG_8443.jpgIMG_8440.jpgIMG_8493.jpgIMG_8498.jpgIMG_8504.jpg

आज विमोचन गरिएको मौलिक देउसी भैलो सम्बन्धी विस्तृत जानकारीः 
सांस्कृतिक संस्थानको प्रस्तुतिमा मौलिक देउसी भैलो गीतको श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ । पछिल्लो समय संस्थानले आफ्नो काम, कर्तव्य, क्षेत्राधिकार र अभिभारा बमोजिम मौलिक गीतहरूको श्रव्यदृश्य सामग्री उत्पादन एवम् प्रकाशन गर्दै आइरहेको छ । यसै अनुरूप महान् सांस्कृतिक पर्व तिहारको अवसरमा मौलिक देउसी भैलो गीतको श्रव्यदृश्य सामग्री तयार पारेर प्रकाशन गरिएको हो । देउसी भैलो  गीतको रचना र भाका संकलन संस्थानका कलाकार सेवामा कार्यरत श्री रोहित सुवेदीज्यूले गर्नुभएको हो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको प्रमुख आवाज रहेको छ भने संस्थानका कलाकार सेवामा कार्यरत श्री राधिका भण्डारीज्यूले आवाजमा साथ दिनुभएको छ । त्यसैगरी संस्थानका कलाकारहरू श्री तिर्थराज पोख्रेल ज्यू, श्री दीपेन्द्र बज्राचार्य ज्यू, श्री विपिन घिमिरे ज्यू, श्री शीला विष्ट ज्यू, श्री सुशीला थापा ज्यू र सुक्रिमाया मोक्तानज्यूको सामूहिक कोरस आवाज रहेको छ ।
 
मौलिक देउसी भैलो गीत उत्पादन एवम् प्रकाशनका हुनका  निम्ति महŒवपूर्ण भूमिका निर्वाह गर्ने अन्य व्यक्तित्वहरूमा सङ्गीत संयोजक÷रेकर्डिष्ट÷ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली ज्यू, वाद्यवादकः श्री खर्क बहादुर बुढा मगर ज्यू, श्री दुर्गा प्रसाद खतिवडा ज्यू, श्री नरेश प्रजापति ज्यू र श्री हेमन्त कान्छा रसाइली ज्यू, निर्देशक श्री माया थापा ज्यू, अवधारणा श्री रोहित सुवेदी ज्यू, छायांकार श्री बि.एम मल्ल ज्यू, दृश्य सम्पादक श्री मनिष कार्की ज्यू, अभिनयः श्री दुर्गा प्रसाद खतिवडा ज्यू, श्री गीता थापा घिमिरे ज्यू, श्री सुशीला थापा ज्यू, श्री अक्कल बहादुर पाख्रिन ज्यू, श्री शेखर घर्ति ज्यू, श्री बिना विश्वकर्मा ज्यू लगायत संस्थानका सम्पूर्ण कर्मचारीहरू, भेषभूषा श्री नारायणी पाण्डे ज्यू र मेकअप श्री सीता तामाङ केसीज्यूको रहेको छ । मौलिक देउसी भैलो गीतलाई संस्थानको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 
मौलिक देउसी भैलो गीतको भिडियोः


सजीव कलाको माध्यमबाट नेपाली मौलिक संस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन र पुस्तान्तरण गर्ने प्रमुख अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपालको पहिचानयुक्त सबै प्रकारका गीतहरू रेकर्डिङ गरी श्रव्यदृश्य सामग्री प्रकाशन गर्नतर्फ अग्रसर भएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य संस्थानको रेकर्डिङ स्टुडियो निर्माण गर्न सफल भएकाले संस्थान श्रव्यदृश्य सामग्री उत्पादनतर्फ सक्रिय रूपमा अगाडि बढेको छ । संस्थानले निरन्तर सबै विधाका सबै प्रकारका गीतहरू उत्पादन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij