मगर समुदायको माघे सकराती (माघे संक्रान्ति) २०८१ मा सांस्कृतिक संस्थानको विशेष प्रस्तुतिसँगै सभ्य-भव्य रूपमा सम्पन्न

मगर समुदायको माघे सकराती (माघे संक्रान्ति) २०८१ मा सांस्कृतिक संस्थानको विशेष प्रस्तुतिसँगै सभ्य-भव्य रूपमा सम्पन्न


मगर समुदायको माघे सकराती (माघे संक्रान्ति) २०८१ मा सांस्कृतिक संस्थानको विशेष प्रस्तुतिसँगै सभ्य-भव्य रूपमा सम्पन्न

२०८१ माघ १, टुडिखेल, काठमाडौ,
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकता भएको राष्ट्र हो । एकताको सन्देश विभिन्न सांस्कृतिक चाडपर्व मार्फत झल्किएको हुन्छ । सांस्कृतिक विविधता भित्र एकताको अलौकिक सङ्गम एउटै नामको पर्वलाई पनि विभिन्न भेग र समुदायमा विभिन्न ढङ्गले मनाउने प्रचलन हुनु पनि हो । यसको उदाहरण माघे संक्रान्ति पर्व हो । यस पर्वलाई विभिन्न जातिले फरक फरक नाम दिएको पाइन्छ, जस्तै: मगर जातिले माघे वा माघ्या, थारु जातिले माघी । मगर, थारू लगायत थुप्रै जनजातिले विशेष रूपमा  मनाउने माघे संक्रान्ति पर्वलाई नेपालको हिमाल, पहाड, तराई एवम् सातै प्रदेशमा बसोबास गर्ने सबै जाति एवम् सम्पूर्ण नेपालीले आ-आफ्नो परम्परा अनुसार मनाउने गरेको पाइन्छ ।

ज्योतिषशास्त्र अनुसार सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर सङ्क्रान्ति भनिन्छ । सूर्यकोउदयबिन्दुदक्षिण देखि उत्तर तर्फ सर्ने भएकोले यस दिनबाट उत्तरायण सुरू हुन्छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई विस्तारै गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । माघे संक्रान्तिका दिन विशेष गरी तरुल, पिँडालु, सेल रोटी, खिचडी, खुँदो, चिउरा, घिउ, चाकु लगायत विभिन्न परिकार खाने गरिन्छ । धार्मिक र सांस्कृतिक मात्र नभई वैज्ञानिक दृष्टिकोणबाट पनि यस पर्वको महत्व रहेको छ । माघेसंक्रान्तिजनजातिसँग विशेष सम्बन्ध राख्ने पर्व भएकोले यसबाट राष्ट्रिय एकता र सद्भावको सन्देश सम्प्रेषण हुने गरेको पाइन्छ ।

adhaksha.JPG
कार्यक्रमका सभाध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर ज्यू

नेपाल मगर संघले काठमाडौँको टुँडिखेलमा माघे सकराती २०८१ भव्य रूपमा मनाएको छ । कार्यक्रममा सभाध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर, प्रमुख अतिथि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री पृथ्वी सुब्बा गुरुङ ज्यू हुनु हुन्थ्यो ।

matri.JPG
प्रमुख अतिथि माननीय श्री पृथ्वी सुब्बा गुरुङ ज्यू

वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढामगर, वरिष्ठ नृत्य शास्त्रीश्री भैरव बहादुर थापा, राष्ट्रिय सभा सदस्य मा. श्री सुरेश कुमार आले मगर ज्यू, निवर्तमान अध्यक्ष एवम् अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष श्री नविन रोका मगर ज्यू, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन मगर ज्यू लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । थुप्रै शिष्ट विशिष्ट मनहरुको आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम सञ्चालक महासचिव टेक बहादुर नाम्जाली मगर, स्वागत मन्तव्य सहअध्यक्ष गंगा खासु मगर, लखन थापा सांस्कृतिक सङ्ग्रहालय विशेष मन्तव्य सहअध्यक्ष गंगा बहादुर थापा मगर, विशेष शुभकामना मन्तव्य विशिष्ट अतिथिहरुको रहेको थियो ।

प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री पृथ्वी सुब्बा गुरुङ ज्यूले माघे सकरातीको शुभकामना दिँदै मगरहरुको सांस्कृतिक पर्व माघे सकरातीको संरक्षण तथा प्रवर्द्धन हुनु पर्ने तर्फ जोड दिँदै मगर समुदायको समृद्धिको लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

gh.JPG
सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू

माघे सकराती २०८१ कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यूले मगर संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नीतिगत रूपमा अगाडि बढ्नु पर्ने तर्फ जोड दिँदै मगर संघका नीति तथा कार्यक्रमहरू मगर संस्कृति संरक्षण, संवर्द्धन, दस्तावेजीकरण सहित सूचीकरणका लागि तय गरिनु पर्ने भन्दै त्यसका लागि नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थानको विशेष साथ रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

IMG_5913.JPGमाघे सकराती २०८१ मा चेली पूज्ने संस्कृति देखि विभिन्न अमूर्त संस्कृतिहरू प्रदर्शन गरिएको थियो ।

WhatsApp Image 2025-01-15 at 13.15.43.jpeg

IMG_6014.JPG

IMG_6465.JPG
सांस्कृतिक संस्थानका गायक कलाकार श्री विपिन घिमिरे

कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारहरुको पनि सहभागीता रहेको थियो । जस अन्तर्गत गायक श्री विपिन घिमिरेको प्रस्तुतिले थप आकर्षण बढाएको थियो । माघे सकराती २०८१ को लक्ष्य माघे सकराती पर्वको संरक्षण सहित पुस्तान्तरण, मगर हकहितको रक्षार्थ आवाज सम्प्रेषण, मगर अमूर्त संस्कृतिको संरक्षण तथा पुस्तान्तरण एवम् प्रथम सहीद लखन थापा सांस्कृतिक संङ्ग्रहालय निर्माणका लागि सहयोग अपिल पनि रहेको थियो ।

bhairav.JPG
वरिष्ठ नाट्यशास्त्री श्री भैरव बहादुर थापा ज्यूलाई  सम्मान

उक्त कार्यक्रममा वरिष्ठ नाट्यशास्त्री श्री भैरव बहादुर थापा ज्यूलाई नेपाल मगर संघले सम्मान गरेको छ । कार्यक्रममा हजारौँ मगर समुदायको बाक्लो सहभागी रहेको थियो ।

माघे संक्रान्तिलाई मगर समुदायले माघे सकराती, माघ्या सकराटी, माघे संकराई आदि नाम दिएर मनाउने गरेको छ । मगर समुदायले माघे सकरातीलाई आदिवासी एवम् मुलवासी भएको प्रतीकका रूपमा सिकारी युगको झल्को दिने विभिन्न संस्कृति एवम् चेली पूजा गर्ने संस्कृति प्रस्तुत गर्दै मनाउने गरेको छ । वि.सं. २०६५ सालमा नेपाल सरकारले माघे संक्रान्ति पर्वलाई मगरहरूको राष्ट्रिय मौलिक चाडका रूपमा मान्यता दिए सँगै यो पर्व मगरको प्रमुख सांस्कृतिक चाड भएको सर्वमान्य भएको पाइन्छ । साथै यस पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

डा.मीन श्रीस मगरका अनुसार मगर संस्कृति अनुसार वर्षायाममा लगाइएको बालीनाली हिउँदयाममा पाक्छ । नयाँ अन्नबाट बनाइएको खिचडी, सेलरोटी, बारा आदि परिकार बनाइन्छ । तरुल, पिँडालु जस्ता परिकार पनि बनाइन्छ । मगरहरुले चेली सत्कारको पर्व वा चेली पुज्ने पर्वका रूपमा माघे सकरातीलाई लिने गरेको छ । माघेसंक्रान्तिका बेला चेलीबेटीलाई निम्तो गरेर मीठो खानेकुरा खुवाउने र टीका लगाई दिएर दक्षिणा दिने चलन छ । यसले दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम, सद्भाव, विश्वासको वातावरण तय गर्ने एउटा महत्वपूर्ण   पर्वका रूपमा रहेको छ । यस चाडमा दाजुभाइले बिहे गरेर गइसकेका दिदीबहिनीलाई निम्ता दिन्छन् । माइत आएका दिदीबहिनीले सकरातीको दिन बिहानै नुहाइ धुवाई गरेर पँधेराबाट ल्याएको चोखो पानी र जौको जमराले घरको धुरीखाँबो पुज्ने गरिन्छ । त्यसपछि चेलीहरूलाई दाजुभाइले चामलको सेतो टीका र जौको जमरा लगाई दिएर दक्षिणासँगै मिस्रा दिने गर्छन् । छोरीचेलीलाई दिइने तरुल, गिठा, भ्याकुर, पिँडालु, रोटी, खिचडी लगायतको परिकारलाई मिस्रा भनिन्छ । मगर समुदायले वर्षभरीको समयलाई दुई भागमा विभाजन गरी माघे संक्रान्तिदेखि असार मसान्तसम्म उभेली र साउनेसंक्रान्तिदेखि पुस मसान्तसम्म उधेलीका रूपमा लिने गरेका छन् । उभेली सुरु हुनुलाई नै मगरहरूले नयाँ वर्ष आरम्भको मान्यता दिने गरेको पाइन्छ । त्यसैले माघे सकरातीलाई मगर समुदायले नयाँ वर्षको रूपमा समेत मनाउने गरेको पाइन्छ ।

मगर संस्कृतिमा माघे संक्रान्तिको बेला तारो हान्ने खेल खेलिन्छ । प्रतियोगिता जित्नेलाई विभिन्न पुरस्कार दिइन्छ । पहिले पहिले तारो हान्ने खेल जितेर सालीलाई विवाह गर्ने समेत चलन थियो । कतिपय ठाउँमा तरुनीले तन्नेरीलाई निसाना बनाएर तारो हान्न चुनौती दिएर विवाह गर्ने सर्त राख्थे । तारो हान्ने बाजी जितेर विवाह भएका धेरै उदाहरण मगर समुदायमा पाइन्छ । तारो खेलले मगरहरू सिकारी जाति भएको संकेत दिन्छ । प्राचीन तथा मध्यकालमा बाबुबाजेले आफ्ना सन्तानलाई धनुकाँड चलाउन सिकाउने गरेको र कालान्तरमा त्यो खेलका रूपमा विकसित भएको पाइन्छ । सिकारी युगमा विभिन्न जनावरको सिकार गर्न र खतरनाक जनावरको आक्रमणबाट बच्न धनुकाँड चलाउने गरिन्थ्यो । धनुकाँड चलाउने सीप अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सिकाउने चलन थियो । जुन माघे संक्रान्तिकै आसपासमा हुन्थ्यो । त्यसैकारण पछि आएर माघे सकरातीमा मगर समुदायमा खेलिने एउटा महत्वपूर्ण खेलका रूपमा यसको विकास भएको मान्यता छ ।

bam.JPG

वरिष्ठ संस्कृतिविद् बम कुमारी बुढामगर (२०६५: १७-३१) का अनुसार “मगर जातिले परम्परागत रुपमा दुई वटा ऋतु मान्ने गर्दछन् । ती ऋतुलाई उधेली र उभेली भनिन्छ । दुईवटा ऋतु सावन देखि पुष सम्म उधेली र माघ देखि असार सम्म उभेली ६/६ महिनाको दुई ऋतु मान्यता रहेको छ । किंवदन्ती अनुसार उधेली ऋतुमा गायन, वादन, नृत्य जस्ता संस्कृतिका रसहरू प्रदर्शन गर्न मिल्ने तर उभेली ऋतुमा प्रदर्शन नहुने मगर जनविश्वास रहेको छ ।” जव उधेली ऋतु सुरु हुन्छ, मगरहरुको प्रमुख बाजा मादल बाजा विधिवत रूपमा फुकाएर पूजा गरी बजाइन्छ । साउन १ गते साउने संकराई (साउने संक्रान्ति)का दिन भूमिको पूजा गरी मादल बाजा फुकाई ओखला पूजा गरी गायन, वादन र नृत्यको शुभारम्भ गरिन्छ । उभेली ऋतुको सुरुवातसँगै माघ १ गते माघे संकराई (माघेसंक्रान्ति) का दिन गायन, वादन र नृत्य जस्ता संस्कृतिका रसहरू प्रदर्शन गरी मगर बाजा मादललाई मान चाला बजाएर ध्वजा टंगाई विधिवत रूपमा बन्द गर्ने गरिन्छ । सहभागी कलाकारहरुको प्रतीकको रुपमा माघे संक्रान्तिको दिनमा व्याउली (पुतली) बनाएर जलाइन्छ । व्याउली (पुतली) जलाउने ठाउँमा युवतीहरुले वनभोजको आयोजना गरी दाजुभाइबाट विहानै खिञ्चरी भाग खाई वनभोजमा सामेल हुन्छन् । जहाँ उधेली ऋतुभरी ६ महिना सम्मको रसरङ्गको संस्मरण स्वरुपमा विधिवत रुपले नाच समापन गरीएको संस्कृति हो । जसलाई व्याउली हिप्न्या (पुतली पोल्ने) भनिन्छ ।

माघे सकराती मनाउने शैली र खानाका परिकारहरूका आधारमा यो चाडको विकास सिकारी युग (hunting gathering age) मा भएको बुझिन्छ । माघे सङ्क्रान्तिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कन्दमूल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ । रुकुमका मगरहरूले माघे सङ्क्रान्तिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको बँदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ । यसरी यी संस्कृतिबाट हेर्दा माघे सकरातीको प्रारम्भ मगर जातिबाटै भएको मान्न सकिन्छ ।

मगर समाजमा माघे सङ्क्रान्तिलाई उभेलीको पहिलो चाड वा नयाँ वर्षको रूपमा मनाउने गरिएको पाइन्छ । मगरहरूले विशेषतः सांस्कृतिक चाडको रूपमा मनाउने गरे पनि कुलपितृको पूजा स्मरण गर्ने आफ्नै खाले धार्मिक विश्वास र मान्यता रहेको छ । मगर समाजमा हरेक चाडवाड एवम् संस्कारजन्य कार्यहरूमा सर्वप्रथम आफ्नै कुलपितृ र स्थानीय देवदेवीको आराधना गर्ने परम्परा रहेको पाइन्छ । माघे सङ्क्रान्तिको बिहानै स्नान गरी घर–आँगन सरसफाई गरेपछि कुलपितृलाई धूप, दीप, जल, ध्वजा र प्रसाद चढाएर सुख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको निम्ति कामना गरिन्छ । डा. मीन श्रीस मगरका अनुसार बागलुङ गलकोट खुवाक्षेत्रका मगरहरूले पितृको नाउमा माघेको पातमा सुकुटी र घिउमा फुराएको चामल राखेर अगेनाको नजिक अम्टोमा र छानामा घुसार्ने गर्दछन् । गण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा माघेसक्रातिको विहानै घरमुलीले खोला वा पँधेरामा गएर स्नान गरी केराको पातमा एक-एक मुठी चामल र मासको दाल, अदुवाको टुक्रा, सिद्रा, फलफूल र जाँडरक्सी सात ठाउँमा राखेर धूपदीप सहित पितृलाई चढाउने चलन छ, जसलाई ‘मुठी याहाके’ (मुठी दिने) वा ‘डी डाके’  (पानी चढाउने) भनिन्छ । वरिष्ठ संस्कृतिविद् बम कुमारी बुढामगरका अनुसार रुकुम रोल्पाको मगर समाजमा छोरीचेलीहरूले विहान स्नान गरी बारीमा उम्रेका जौंको झोप्ल्यानी (फूलको रूपमा प्रयोग गरिने जौंको पात) र दही चामलको सेतो टीकाले पँधेरो, धुरीखाँबो र अगेना पूजा गरी घर परिवारका सबै सदस्यहरूलाई टीका लगाइदिन्छन् । त्यसपछि छोरीचेलीहरूलाई मिसरा (चामल, तरुल, पिडालु, दाल र पैसा) दिइन्छ । माघे सङ्क्रान्तिका दिनमा गरिने यस प्रकारका रीथिथितिलाई मगर जातिको पितृ र प्रकृति पूजक धार्मिक परम्परा र मान्यताको रूपमा लिन सकिन्छ । माघे सकरातीको समयमा पिडालु, तरुल, अदुवा जस्ता कन्दमुलहरू एवम् मास, सिमी जस्ता गेडागुडी तयार हुने भएकाले नै मुख्य परिकारको रुपमा प्रयोग गरिएको पाइन्छ । माघे सकरातीमा तरुल खाएमा शरीरका रोगव्याधी पखालिने र वर्षभरी नै रोग नलाग्ने विश्वास पनि लिइन्छ ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij