सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१ सभ्य-भव्यरूपमा सम्पन्न
२०८१ माघ ८ गते,
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यूको प्रमुख आतिथ्यतामा “सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१” सभ्य-भव्य रूपमा सम्पन्न भएको छ । मिति २०८१ साल माघ ८ गते मंगलबारका दिन सांस्कृतिक संस्थानको आयोजनामा संस्थानकै मेगा प्रेक्षालयमा सो कार्यक्रम सम्पन्न भएको हो । सांस्कृति संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यूको १ वर्षे कार्यकाल पुरा भएको अवसरमा आयोजित सो समारोहमा मिति २०८० माघ ८ गते देखि मिति २०८१ माघ ८ गते सम्म एक वर्षको समयमा गरिएका प्रमुख उपलब्धिहरू समावेश गरिएको बुलेटिन पत्रिका “नेपाली संस्कृति” वर्ष २५, अंक २ प्रमुख अतिथिको हात बाट विमोचन गरिएको छ । सोही कार्यक्रम मार्फत निकायगत रूपमा सिर्जनशील क्रियाकलापका लागि अपरिहार्य रहेको लोकगीत, लोकधुन, लोकनाट्य पार्श्व श्रव्य सामग्री तथा समग्र नेपाली संस्कृति सम्बन्धी श्रव्य सामग्री उत्पादन र व्यावसायिक रूपमा उत्पादनमैत्री क्रियाकलाप गर्ने उद्देश्यका साथ संस्थानको नवनिर्मित सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियोको पनि प्रमुख अतिथि माननीय मन्त्री ज्यू बाट समुद्घाटन सु-सम्पन्न गरिएको छ । प्रत्येक महिनाको अन्तिम शुक्रबार बाह्रै महिना नियमित रूपमा प्रदर्शन गर्ने उद्देश्यले सात प्रदेशको संस्कृति तथा हास्य रस सम्मिश्रण सहितको स्वस्थ मनोरञ्जनमूलक सांस्कृतिक कार्यक्रम “मन-मनमा संस्कृति, ओठ-ओठमा हाँसो” समेत प्रमुख अतिथि माननीय मन्त्री ज्यू बाट समुद्घाटन गरिएको छ ।
लोकप्रिय हास्य कलाकार सुरेन्द्र केसी (मुला साग), शिव शंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोख्रेल, सुबो गौतम (एदुमे) र दिनेश काफ्ले (हाउडे दाइ) को रोचक प्रस्तुति रहेको थियो । लोकप्रिय गायक/गायिका शर्मिला गुरुङ र रामजी खाँणले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थानका कलाकारद्वारा राष्ट्रप्रेमले ओतप्रोत प्रस्तुति तथा लघु नाटिका ‘अछोप’ प्रस्तुत गरेका थिए भने सात प्रदेशको प्रतिनिधित्व हुने गरी भुमे (नाम्क) नाच, भुओ नाच, कौरा नाच, साकेला जस्ता संस्कृति प्रदर्शन गरिएको थियो । साथै कार्यक्रममा रैथाने कृषि उत्पादन समेत प्रदर्शनी गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय श्री नारदमणी हार्तम्छाली ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो भने नेपाल सरकारका विभिन्न निकाय प्रमुखहरू, नेपाल सरकारका श्रीमान् सचिव, सहसचिव, उपसचिव, विभिन्न संघसंस्था प्रमुख, समाजसेवी आदिको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थितिले मेगा प्रेक्षालय भरिएको तथा सिटको समेत अपुग भएको थियो ।
कार्यक्रममा महाप्रबन्धक श्री किरण बाबु पुन ज्यूले विशेष सम्बोधन गर्नु हुँदै आफ्नो १ वर्षे कार्यकालको समीक्षा गर्दै आफूले भोगेका कुराहरू सँगै प्रमुख उपलब्धि बारे बताउँदै गर्दा उहाँले प्रस्तुत गरेको गजलरुपी भावनाले उपस्थित जनमनलाई भावुक बनाएको थियो । सम्बोधनमा सांस्कृतिक संस्थानका समस्या, चुनौती, सम्भावना तथा दीर्घकालीन सोच बारे प्रष्ट पारिएको थियो । महाप्रबन्धक ज्यूकै १ वर्षे कार्यकालको अवसरमा आयोजित कार्यक्रम भएकोले विशेष सम्बोधन यस्तो रहेको थियो:-
धन्यवाद कार्यक्रम सञ्चालक ज्यू, कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यू, विशिष्ट अतिथि मा. कुलपति श्री नारदमणी हार्तम्छाली ज्यू, तिनवटै प्रतिष्ठानका सदस्य सचिव ज्यू, नेपाल सरकारका श्रीमान् सचिव ज्यू, तिन वटै प्रतिष्ठानका प्राज्ञज्यूहरू, नेपाल सरकारका सहसचिव तथा उपसचिवज्यूहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, संस्थानका सम्पूर्ण कर्मचारीज्यूहरू तथा उपस्थित सम्पूर्ण जनमनहरुमा व्यक्तिगत तथा सांस्कृतिक संस्थानको तर्फबाट नमस्कार । प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा कार्यव्यस्तताका बाबजुद पनि आफ्नो मूल्यवान समय दिई पाल्नु भएकोमा व्यक्तिगत तथा सांस्कृतिक संस्थानको तर्फबाट सर्वप्रथम त हार्दिक स्वागत सहित आभार प्रकट गर्दछु ।
![]()
मेरो कार्यकालको सारलाई म एउटा भावना मार्फत पोख्न आदरणीय अभिभावक माननीय मन्त्री ज्यू सँग अनुमति चाहन्छु:-
मैले संस्कृति बचाउनु पर्छ भन्दा, बेच्नु पर्छ भन्नेहरू भेटें
मैले सुशासनको दियो बाल्दा, निभाउन तैनाथ बन्नेहरू भेटें
मृत्युशैयाका संस्थान र कर्मचारीको हितमा नीति बनाउँदा,
षड्यन्त्र अनि प्रपञ्चका चक्रव्यूह रच्दै जरो खन्नेहरू भेटें
संस्कृति भन्नु नेपाल आमा, राष्ट्रियताको दृष्टिबाट हेर्न सके,
तर संस्कृतिलाई उपभोग्य साधनको रूपमा गन्नेहरू भेटें
ओ एण्ड एम, विनियमावली, ऋण, उपदान जस्ता समस्या,
कहिले पाउँछु भन्न समाधान गरिदिने विद्वान् धन्नेहरू भेटें
१ वर्षे कार्यकालमा मैले देखेको, भोगेको सारमा भन्नु पर्दा मैले के बुझेँ भने केही गर्न कठोर बन्नै पर्दो रहेछ । तर कठोरपनबाट निष्पत्ति हुने जुन राम्रो पक्ष छ, त्यो हामी देख्दैनौँ मात्रै कठोरपनलाई देख्छौँ । किनकी हामीमा यस्तो संस्कृतिको विकास भएको छ, कि हामी नकारात्मक चिन्तनमा नै अभ्यस्त भएका छौँ जसबाट उन्मुक्ति हुन हामी चाहदैँनौं । वास्तवमा संस्कृति जस्तो संवेदनशील विषयमा गहन चिन्तन राख्ने जो कोही पनि आज जुन ठाउँमा म सुशासनको लागि कठोर भएको छु त्यो अपरिहार्य छ । हर मानवका लागि संस्कृति सम्प्रेषण गर्ने पहिलो पाठशाला आमा हुन्, आमा नै संस्कृति हुन् जसले आफ्नो सन्ततिलाई सभ्य संस्कृति दिन्छिन्, यसर्थ राष्ट्रियताको दृष्टिकोणबाट हेर्ने हो भने संस्कृति भन्नु नेपाल आमा हुन् किनकी हरेक राष्ट्रको अस्तित्व संस्कृतिमै निहित हुन्छ । यो संवेदनशील विषयको वकालत गर्ने निकायको नेतृत्व गर्दै गर्दा संस्कृतिको रक्षार्थ कठोर बन्नु मेरो कर्म हो जिम्मेवारी हो । सायद आज सांस्कृतिक संस्थान त्रुटिपूर्ण ४१ करोड ऋणको कारण मृत्युशैयामा हुन्थेन भने, नेपाल सरकारको अनिवार्य दायित्व अवकाश प्राप्त कर्मचारीको उपदान सम्बोधन हुन्थ्यो भने, कर्मचारीको सेवा सुविधा नेपाल सरकारबाट प्राप्त हुने व्यवस्था हुन्थ्यो भने, आन्तरिक स्रोतबाटै कर्मचारीको तलब, कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष जस्ता संवेदनशील विषय समेत पहिले देखि सम्बोधन गर्न सक्ने सिस्टमेटिक अवस्था संस्थानमा हुन्थ्यो भने र यो कहालीलाग्दो संस्थानको परिस्थितिलाई सबैले एकचोटी बुझ्ने कोसिस मात्रै गर्ने संस्कृतिको विकास भइदिएको भए सायद कठोपन भित्रको राम्रो पक्ष कति पारदर्शी रूपमा छर्लङ्ग हुन्थ्यो होला ।
वास्तवमा मैले सुशासनको अभ्यास गर्नु भुल भयो, संस्थानमा भएका विकृति बेथितिलाई जरैदेखि फाल्ने संकल्प गर्नु भुल भयो, विषम परिस्थितिमा गुज्रिरहेको संस्थानलाई बचाउन सम्पूर्ण चुहावट बन्द गरी हल आम्दानीमा निरन्तर रेकर्ड ब्रेकको यात्रा कायम गरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता संवेदनशील विषयमा वर्षौंदेखि जम्मा हुन नसकेको करोडौं रकम जम्मा गरी मासिक रूपमा तलब भत्तासँगै सञ्चयकोष, नागरिक लगानीकोषमा समेत रकम पनि जम्मा हुने सिस्टम निर्माण गर्नु भुल भयो, आन्तरिक स्रोतबाटै ५६ जना कर्मचारीको सेवा सुविधा पुर्याई ७१ वटा नीति तथा कार्यक्रम सहितको बजेट निर्माण गर्नु र हालसम्म यस्तो प्रणाली नभएको निकायमा यो प्रणाली लागू गर्नु भुल भयो, त्यतिमात्रै कहाँ हो रनिकायगतरूपमा अनिवार्य हुनु पर्ने रेकर्डिङ स्टुडियो समेत नभएको अवस्थामा आन्तरिक स्रोतबाटै करिब ४०/५० लाखको हाराहारीको लगानीमा निर्माण गर्नु भुल भयो, नेपाल सरकारको अनिवार्य दायित्व उपदान प्रदान गर्न नसक्दा पारिवारिक विचलनमा परेका कर्मचारीलाई केही राहत होस् भनी नेपाल सरकारको बजेटको नाउँमा प्राप्त हुने न्यून उपदान रकमा संस्थानको तर्फबाट थप गरी संस्थानको हालसम्मकै इतिहासमा ठूलो रकम २०/२० लाखका दरले अवकाश प्राप्त कर्मचारीलाई वितरण गर्नु भुल भयो ।
खोई किन हो ? सांस्कृतिक संस्थान भन्ने बित्तिकै नाक खुम्च्याई हाल्ने प्रवृत्ति छ । पुँजीगत बजेट त संस्थानका लागि कुन चराको नाम जस्तो हुने अझै भन्नु पर्दा संस्थानको भवन निर्माणका लागि नेपाल सरकारको अनिवार्य अनुदान हुनु पर्नेमा त्रुटिपूर्ण ढंगले ऋण भएकोले आज संस्थान मृत्युशैयामा छटपटाइरहेको अवस्थामा, संस्थानको पुँजीगत बजेट अकल्पनीय थियो तर अनेक जुक्ति लगाई सेमिनार हल निर्माणका लागि बजेट ल्याई हल निर्माणको प्रक्रिया अगाडि बढाउनु भुल भयो, अव्यवस्थित एवम् निकायगत रूपमा नमिलेको O&M र विनियमावलीलाई संस्थान र कर्मचारीको दीर्घकालीन हितलाई मध्यनजर गरी न्यायोचित ढंगले निर्माण गर्नु र मन्त्रालयमा स्वीकृतिका लागि पेस गर्नु भुल भयो । अझै कति कति यस्ता भुल छन् म उपन्यास लेख्नु पर्छ । मेरो भनाई यत्ति हो की राम्रो गर्ने प्रयास, सुशासनको प्रयास, सिस्टमको प्रयास यहाँ रुचाइन्न, यही नै हाम्रो देशको दुर्भाग्य बनेको छ । यहाँ आजकाल हल तोडफोड हुन्छ, ज्यानै तलमाथि हुन सक्छ भन्ने धम्कीको समेत सामना गर्नु पर्छ । जो सर्वसाधारण छ, जो सच्चा नेपाली हो त्यो संस्थानलाई उपभोग गरौं भन्ने प्रस्ताव लिएर कहिल्यै आउँदैन । उसले नियमानुरुप काम गर्छ तर जसलाई संस्थानको पीडा राम्रोसँग थाहा छ, जो आर्थिक हिसाबले मजबुत छ, जो शक्ति र सामर्थ्यवाला छ उसैलाई चाहिन्छ हल छुट उसैलाई संस्थानको भोगचलन गर्नु छ, ए बाबा कस्तो कुरुप संकीर्ण सोच हो ? नेपाल समृद्ध यसै बन्छ मात्रै संकीर्ण सोचबाट मुक्त भई आफ्नो जिम्मेवारी हर नेपालीले इमानदारीताका साथ पुरा गर्न सके । मा. मन्त्री ज्यूको एउटा निर्देशन म बारम्बार सम्झिरहन्छु जुन मेरा लागि अमृतमय ओखतीको रूपमा काम गरेको छ । त्यो हो “सुशासनको निम्ति जतिसुकै अलोकप्रिय बन्नु परे बन्नु म छु ।” म माननीय मन्त्री ज्यू लाई साक्षी राखेर प्रण गर्छु कि जतिसुकै बाधाहरू आए पनि, परि आए ज्यानै दाउमा लाउन परे पनि, एक इञ्च पनि विचलित नभई अझै जति अलोकप्रिय बन्नु परे पनि बन्न तयार भई जिम्मवारी वहन गरी नेपाली संस्कृति नेपाली आमाको रक्षार्थ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
संस्कृति भित्रको प्रमुख अवयव हरेक जातिका चाडपर्वहरुको जगेर्नाको लागि विशेष नीति तथा कार्यक्रम सहित अगाडि बढेका छौँ, जसको उदाहरण स्थलगत रूपमै सहभागी भई कार्यक्रम गर्ने र गाईजात्रा जस्तो भिन्नै संस्कृति रहेको चाडपर्वको संरक्षणको प्रयासको थालनी संस्थानबाट भएको छ । राष्ट्रिय व्यक्तित्वहरू संस्कृतिविद्, कलाकार तथा कर्मचारीको जीवन रक्षार्थ कल्याणकारी कोषको प्रारम्भ गरेका छौँ । शिक्षालाई व्यावहारिक बनाउन पाठ्यक्रममा आधारित उपन्यास, कथा, नाटक, काव्यकृति आदिलाई नाटक तथा गीति नाटकका रूपमा मञ्चन गरी प्रर्दशनको यात्रा निरन्तर चलेकै छ । सात प्रदेशको विभिन्न जातजातिको अमूर्त संस्कृतिलाई प्रदर्शन तथा दस्तावेजीकरण गर्ने अभियान निरन्तर चलेकै छ । डिजिटल युगसँगै संस्थानलाई डिजिटल पद्धतिमा अपडेट कार्य निरन्तर भइरहेको छ । १ वर्षको कार्यकालमा उपलब्धिहरू समेटेको बुलेटिन पत्रिका ‘नेपाली संस्कृति’ आज विमोचन हुने भएकाले अझै धेरै कुरा त्यसमा समेटिएको छ, जसलाई हाम्रो अफिसियल वेबसाइटमा राख्नेछौँ, त्यहाँबाट हेर्न सक्नु हुनेछ ।
देशको अस्तित्व संस्कृतिलाई संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि सिर्जनशील कला मार्फत सभ्य समाज निर्माणका निम्ति सही संस्कृति सम्प्रेषण गर्न विशेष योगदान दिनु हुने तिनै राष्ट्रिय व्यक्तित्व कलाकारहरू, संस्कृतिविद्, समाजसेवी तथा संघसंस्थाहरू कि जसले हाम्रो नीति तथा कार्यक्रम सम्पन्न हुन विशेष भूमिका निर्वाह गर्नु भयो,उहाँहरुलाई हामी सम्मान गर्दैछौँ, सम्मान गर्न पाउँदा हामी हर्षित छौँ ।
कुनै पनि राष्ट्रको संस्कृति नरहे त्यो राष्ट्र रहँदैन । त्यसैले राज्यले गम्भीरतापूर्वक मनन गर्नु पर्छ कि राष्ट्रको अस्तित्व संस्कृति संरक्षण सहित उत्पादन तर्फ जोड्ने सांस्कृतिक उत्पादन (सीप, ज्ञान र कला), सांस्कृतिक पर्यटन र डिजिटल उत्पादन सम्बन्धी स्पष्ट राज्यनीति र संयन्त्रको निर्माण गर्न सक्ने हो भने संस्कृतिबाटै समृद्ध राष्ट्रको सम्भावना छ । संस्थानको दीर्घकालीन सोच संस्कृति, प्रकृति र जनशक्तिको उचित संयोजन मार्फत समृद्धि सम्भव छ । संस्कृति र प्रकृतिको धनी देश नेपालमा सांस्कृतिक स्रोत, प्राकृतिक स्रोत र मानवीय स्रोतको सही रूपमा संयोजन गरी सांस्कृतिक पर्यटनको विकाससँगै उत्पादनमैत्री क्रियाकलापबाट समृद्ध राष्ट्रको सपना साकार हुन्छ ।
समग्र संस्कृतिको विकासका लागि भनी राष्ट्रिय नाचघरलाई नाम परिष्कृतसँगै सांस्कृतिक संस्थानको रूपमा विकास गरियो । संस्थान भन्दा खेरी व्यावसायिक प्रयोजनको निकायको भाष्य हुने गरेको छ र संस्कृति जस्तो संवेदनशील संरक्षणको विषयवस्तु आज बेचबिखनको वस्तु जस्तो भाष्य अंगीकार हुने जस्तो विडम्बना भोग्नु परेको छ । जसरी राष्ट्रिय नाचघर संस्कृति विभाग स्वरुप थियो त्यसैगरी संस्थानको नाम तुरुन्तै परिमार्जन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति सम्बन्धी प्रमुख निकाय स्वरुप संस्कृति विभागको रूपमा छुट्टै ऐन सहित विस्तार गरिनु अपरिहार्य रहेकोले रहेको छ, यसका लागि हाम्रो अभिभावक मा. मन्त्री ज्यूको पहल अपेक्षा गर्दछौँ । साथै मा.मन्त्री ज्यूको पालामा हजुरको अजम्बरी कृतिको काम गरौं कि राष्ट्रिय नाचघर देखि संस्थान सम्म ६५ वर्षको इतिहासमा स्वीकृत हुन नसकेको O&M र विनियमावलीलाई स्वीकृत गरौं, दक्ष जनशक्तिको व्यवस्थापन गरी उत्पादनमैत्री क्रियाकलापहरू गरौँ । कि आज सम्मानित हुने राष्ट्रिय व्यक्तित्व राष्ट्रिय अंग यी कलाकार साथीहरू सबै सांस्कृतिक संस्थानमा आवद्ध कर्मचारी भइदिएको भए कति जाति हुन्थ्यो ? यो सबै अभाव पूर्ति हुने गरी अहिलेको ओ एण्ड एम र विनियमावली बनाउने कोसिस भएकोले हाललाई यत्ति मात्रै स्वीकृत हुन सके मात्र सांस्कृतिक संस्थानको समृद्धिको आधारको मार्ग तय हुनेमा म विश्वस्त छु । उपदान समस्या र अझ सरकार आफै साहु आफै ऋणी भएको अकल्पनीय त्रुटिपूर्ण ऋणको समस्या समाधान गरौं । संस्कृति सम्बन्धी बुझ्नु भएको हाम्रो अभिभावक हुनु हुन्छ, हजुरबाट यी समस्या समाधान सम्भव छ ।
अन्ततः फेरि पनि १ वर्षे कार्यकालमा बुझेको केही गर्न कठोर बन्नै पर्दो रहेछ, अलोकप्रिय बन्नै पर्दो रहेछ, संस्कृतिको रक्षार्थ जुन अभिभारा मैले प्राप्त गरेको छु त्यसमा विचलित नभई सदा प्रतिबद्ध छु । आज प्रत्येक महिनाको अन्तिम शुक्रबार बाह्रै महिना प्रदर्शन हुने गरी सात प्रदेशको संस्कृति र हास्य रससम्मिश्रणसहितको ‘मनमनमा संस्कृति, ओठओठमा हाँसो’ कार्यक्रम समुद्घाटन हुनेछ । बाँकी कार्यकाल मेरो स्प्रीट र स्पीडलाई थप सिर्जनशील तथा उत्पादनमैत्री संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम निर्माण तथा कार्यान्वयनसँगै संस्कृतिबाटै समृद्धिको आधार तय गर्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल मर्म सहितबहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न सक्ने नयाँ संस्कृति निर्माणको आधार दिशाबोध गर्न संस्थान सदा प्रतिबद्ध छ भन्दै यसैगरी असल अभिभावकत्वको मा. मन्त्री ज्यू बाट अपेक्षा सहित सबैमा आभार प्रकट गर्दै बिदा हुन चाहन्छु ।
सो समारोहमा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यूले कार्यक्रम अत्यन्तै उत्कृष्ट भएको भन्दै सिर्जनशीलतालाई निरन्तरता दिनु पर्ने, काम, कर्तव्य, जिम्मेवारीलाई व्यावहारिकता दिनु पर्ने तर्फ जोड दिनु भयो । मन्त्रालयको संस्कृति सम्बन्धी ६५ वर्षीय इतिहास बोकेको संस्थानको विरासतलाई कायम राख्न संस्थानले अझै सिर्जनशील क्रियाकलाप गर्न शुभकामना दिँदै संस्थानको अभिभावकीय भूमिकामा कहिल्यै कमी नहुने बताउनु भयो ।
संस्थानको उपलब्धिमूलक बुलेटिन ‘नेपाली संस्कृति’ विमोचन, नियमित प्रदर्शन गरिने कार्यक्रम ‘मनमनमासंस्कृति, ओठओठमा हाँसो’ र संस्थानको रेकर्डिङ स्टुडियो समुद्घाटन गर्दै नियमित कार्यक्रम समाज जागरणको उदाहरण बन्न सकोस् भन्ने शुभेच्छा एवम् सात प्रदेशको संस्कृति दस्तावेजीकरणका साथै उत्पादनमैत्री क्रियाकलापका निम्ति रेकर्डिङ स्टुडियो कोशेढुंगा सावित होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो । संस्थान नयाँ नयाँ सिर्जनशील क्रियाकलाप मार्फत सभ्य संस्कृति निर्माण र संस्कृतिलाई समृद्ध देश निर्माण गर्न तर्फ अग्रसर हुनु पर्ने बताउँदै, संस्थानको रेकर्डिङ स्टुडियो समुद्घाटन गर्दै उहाँले शुभकामना सन्देश समेत आफ्नो आवाजमा रेकर्डिङ समेत गर्नु भयो ।साथै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनले राखेका संस्थानका नीतिगत समस्याको समाधानको लागि आफू प्रतिबद्ध रहेको भन्दै छिट्टै एउटा निष्कर्ष दिने बताउनु भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यू संस्कृति सम्बन्धी विज्ञ भएकोले संस्थानका समस्या समाधान हुनेमा संस्थान परिवार निकै आशावादी रहेको छ ।
![IMG_7601.JPG](https://sanskritiksansthan.gov.np/media-file/images/2025/01/1737648223-KoG2I.jpg)
उक्त कार्यक्रम मार्फत राष्ट्रिय व्यक्तित्वहरू कलाकार, समाजसेवी र विभिन्न संघसंस्थालाई सम्मान गरिएको छ ।
संस्थानको नवनिर्मित सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियोको पनि प्रमुख अतिथि माननीय मन्त्री ज्यू बाट समुद्घाटन सु-सम्पन्न गरिएको छ ।