Ram Nawami with leter head.pdf :To download file click here
राम नवमी पर्वको शुभकामना
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकता भएको राष्ट्र हो । जीवनका हरेक क्षणहरू आनन्द अनि स्वतन्त्र रूपले जिउन सिकाउनका लागि वर्षभरीका चाडपर्वहरूले सभ्य संस्कृति सम्प्रेषण गर्दछन् । हरेक चाडपर्वहरूसँग जोडिएका किंवदन्ती, मिथक एवम् पौराणिक कथाहरूले हाम्रो जीवन सुखी र हितकर बनाउने सन्देश दिने गरेको छ । संस्कृतिलाई जीवन्त राख्ने माध्यम नै चाडपर्वहरू हुन् ।
राम नवमी हिन्दू धर्मावलम्बीहरूको धार्मिक एवम् सांस्कृतिक पर्व हो । चैत शुक्ल नवमी तिथिका दिन श्रीरामको जन्मदिन अर्थात् राम नवमी पर्व पर्ने भएकाले धार्मिक, सांस्कृतिक अनि सामाजिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ । किंवदन्ती अनुसार बुवा दशरथको आज्ञा पूरा गर्न १४ वर्षसम्म वनवास बस्ने रामको जीवनमा आधारित प्राचीन हिन्दू धर्म ग्रन्थ रामायण लेखिएको हो । सत्य एवम् मर्यादा पुरुषोत्तम रामको कृपाले मानवजीवन सत्य मार्गमा अग्रसर भएको मान्यता रहेकोले राम नवमी पर्वलाई असत्य माथि सत्य एवम् मर्यादाको उज्यालोको प्रतीकका रूपमा मनाउने गरिन्छ । आजको दिन राम मन्दिरहरूमा सांस्कृतिक विधिपद्धति अनुसार श्रद्धाकासाथ पूजा आराधना गर्ने गरिन्छ । जनकपुरस्थित राम जानकी मन्दिरमा भव्य मेला लाग्दछ । देशभरका नदी, ताल एवम् कुण्डहरूमा नित्य स्नान गरी व्रत बस्ने, राम गीता पाठ तथा भानुभक्तीय रामायण वाचन गर्ने, रामभक्तियुक्त भजन कीर्तनकासाथ रात्री जाग्राम बस्ने परम्परा समेत छ । प्राचीनकालदेखि मनाउँदै आइएको राम नवमी पर्र्वले आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउन मद्दत गरेको छ ।
हरेक धार्मिक एवम् सांस्कृतिक पर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस पर्वले नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित राम नवमी पर्र्व २०८१ को शुभकामना व्यक्त गर्दछु ।
२४ चैत २०८१ किरण बाबु पुन
ने.सं. १४४५ चौलाथ्व नवमी महाप्रबन्धक