"शुभारम्भ सांस्कृतिक साँझ २०८२" भव्य तयारी हुँदै : सांस्कृतिक संस्थान
वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । अनेक समस्याले ग्रसित अवस्थामा रहेको सांस्कृतिक संस्थान किरण बाबु पुन महाप्रबन्धक भएसँगै प्रगतितर्फ लम्किरहेको छ । आफ्नो ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ ।
संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको आयोजना, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा नयाँ वर्ष २०८२ सालको अवसरमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ “शुभारम्भ सांस्कृतिक साँझ २०८२” वैशाख १ गते साँझ ४ बजे सांस्कृतिक संस्थानको मेगा हल जमल काठमाडौँमा सम्पन्न गर्ने तय गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकाटाको लोकप्रिय खण्डकाव्यमा आधारित संस्थानका पूर्वकर्मचारी नेपाल कलाभूषण श्री चन्द्रराज शर्माको सङ्गीत, संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायणगोपाल, तारादेवी लगायतले गाउनुभएको कालजयी कृति “गीति नाटक मुनामदन” राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासमा लगातार ६/७ महिनाभन्दा बढी प्रदर्शन भई रजत जयन्ती मनाउन सफल ऐतिहासिक गीति नाटक मुनामदन वर्षौंदेखि श्रव्य सामग्री हराएर मञ्चन तथा प्रदर्शन हुन सकेको थिएन तर वर्तमान महाप्रबन्धक किरण बाबु पुनको अथक प्रयासमा श्रव्य सामग्री उत्खनन गरी प्राप्त गर्न सफल भएकाले फेरि एकपटक ऐतिहासिक गीति नाटक मुनामदन मञ्चन गरिएकोले शुभारम्भ सांस्कृतिक साँझ २०८२ मार्फत समुद्घाटन गरी नियमित प्रदर्शन गरिने भएको छ । संस्थानका पूर्वकर्मचारी गोविन्द प्रसाद तिमिल्सिनाले पहिलो निर्देशन गर्नुभएको “गीति नाटक मुनामदन” मा तत्कालीन कलाकार कर्मचारीहरू विमला श्रेष्ठ मुना र कोकिल गुरुङ मदनको भूमिकामा अभिनय गर्नुभएको थियो भने अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरूको अभिनय रहेको थियो । हाल उक्त गीति नाटक संस्थानमा कलाकार सेवामा कार्यरत कर्मचारी माया थापाको निर्देशनमा सुशिला थापा मुना र विपिन घिमिरे मदनको भूमिकामा तथा अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरुको अभिनय रहेको छ । साथमा सात प्रदेशको अमूर्त संस्कृतिमूलक कार्यक्रम “नेपाली संस्कृति” समेत समुद्घाटन गरिने भएको छ । कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारहरुद्वारा गायन, वादन, नृत्य, नाटक, प्रहसन प्रस्तुत गरिनेछ भने सात प्रदेशको प्रतिनिधित्वमूलक अमूर्त संस्कृति तथा अन्य लोकप्रिय कलाकारको समेत प्रस्तुति रहनेछ ।
कार्यक्रम “नेपाली संस्कृति” लाई नेपाल पर्यटन बोर्डको संस्कृति प्रवर्द्धन तथा सांस्कृतिक पर्यटनमैत्री क्रियाकलाप, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको घटना दर्ता सप्ताह विशेष जागरण क्रियाकलाप, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको संस्कृतिमा युवा आकर्षण विशेष जागरण क्रियाकलाप र गीति नाटक मुनामदनको सहित नवजारण प्रवाह गर्ने उद्देश्यकासाथ सात प्रदेशमा प्रदर्शन गर्ने तयारी समेत गरिएको छ । सात प्रदेशका कार्यक्रमहरूमा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृतिलाई समेत विशेष स्थान दिइनेछ ।
सात प्रदेशका मिति तथा स्थान : वैशाख १ गते काठमाडौँ, सोलुखुम्बु सल्लेरी वैशाख ५ गते, जनकपुर वैशाख ७ गते, महेन्द्रनगर वैशाख १० गते, वर्दिया गुलरिया वैशाख १२ गते, सुर्खेत वैशाख १४ गते ।
ऐतिहासिक गीति नाटक मुनामदनको शुभारम्भ कहिले र कसरी भयो : सांस्कृतिक संस्थान
वि.सं.२०१६ सालमा स्थापित राष्ट्रिय नाचघरको नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुर्नगठन भएपश्चात् सांस्कृतिक संस्थानको तेस्रो वार्षिकोत्सवको अवसरमा वि.स.२०३२ साल असार ५ गते गीति नाटक मुनामदन पहिलोपटक प्रदर्शन गरिएको थियो । तत्कालीन महाप्रबन्धक श्री इन्द्रप्रसाद काफ्लेज्यूको नेतृत्वको संस्थान सञ्चालक समितिको मिति २०३२/०२/२४ को बैठकबाट असार १ देखि ४ गतेसम्म रिहर्सल गर्ने र असार ५ देखि ७ गतेसम्म प्रदर्शन गर्ने भनी निर्णय भए बमोजिम गीति नाटक मुनामदनलाई आधिकारिक ढंगले प्रदर्शनीको लागि तय गरिएको हो । गीति नाटक मुना मदनलाई न्यायोचित उत्पादन र प्रदर्शन गर्नका निम्ति तत्कालीन संस्थानका कर्मचारीहरू प्रदर्शन शाखा प्रमुख श्री गोविन्द प्रसाद तिमिल्सिनालाई निर्देशन, संगीत प्रबन्धक श्री चन्द्रराज शर्मालाई संगीत तथा गायन प्रबन्धक श्री नारायणगोपाल गुरुवाचार्यलाई गायन संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको लोकप्रिय खण्डकाव्य “मुनामदन” मा आधारित गीति नाटक मुनामदनलाई संस्थानले मञ्चन तथा प्रदर्शन गरेको हो । तत्कालीन ने.भा.प्र. समितिबाट वि.सं.२००७ सालमा प्रकाशन गरिएको मुनामदनको तेस्रो संस्करणमा कृतज्ञता र परिचय शीर्षक अन्तर्गत ने.भा.प्र. समिति मार्फत लेखकद्वारा सर्वाधिकार राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) लाई हस्तान्तरण गरेको र सो हस्तान्तरण गरे बापत संस्थानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी धर्मपत्नी श्री मनदेवी देवकोटालाई केही आर्थिक सहयोग समेत प्रदान गरेको व्यहोरा संस्थान सञ्चालक समितिको मिति २०३२/०५/२० को बैठक निर्णयमा स्पष्ट उल्लेख गरिएको छ । संस्थानमा सबैभन्दा सर्वाधिक सफलता हासिल गर्न सफल गीति नाटक मुनामदनले ऐतिहासिकता कायम गरेको तथ्यहरू सञ्चालक समितिको मिति २०३२/०६/०९, मिति २०३२/०६/२४, मिति २०३२/०८/०१, मिति २०३२/०८/१९ लगायतका बैठकहरूको निर्णयानुसार गरिएका क्रियाकलापहरू जस्तै : १०० दिन मनाएको, लगातार ६/७ महिनाभन्दा बढी प्रदर्शन भएको, रजत जयन्ती मनाएको, तत्कालीन अभिनय गर्ने कलाकारहरू, निर्देशक, गायक/गायिका, संगीतकार, वाद्यवादकहरू, प्राविधिकहरू तथा गीति नाटक मुनामदनमा आबद्ध सम्पूर्णलाई सम्मान गरिएको, तत्कालीन राजारानीबाट बक्सिस दिइएकोबाट स्पष्ट हुन्छ ।
गीति नाटक मुनामदनको स्थापकहरूको विवरण :
कुनैपनि गीति नाटक एक कृतिको रूपमा जन्म हुनको निम्ति त्यसमा थुप्रै श्रमजीवी मनहरूको अतुलनीय योगदान रहेको हुन्छ । गीति नाटक मुनामदनको उत्पादनका निम्ति शुभारम्भमा सिर्जनशील क्रियाकलाप मार्फत विशेष योगदान दिने ती महान् राष्ट्रिय अंगहरू बारे तपसिलमा उल्लेख गरिन्छ ।
गीति नाटक : मुनामदन
लेखक : महाकवि लक्ष्मीप्रसाद देवकोटा
सङ्गीत : नेपाल कलाभूषण चन्द्रराज शर्मा
गायन : स्वरसम्राट नारायण गोपाल, तारादेवी, गणेश रसिक, कमला श्रेष्ठ, मणिक रत्न, इन्द्रनारायण मानन्धर, कमल क्षेत्री, नविन किशोर राई, भुवन चन्द थापा आदि ।
वादन : विश्वनाथ कार्की, प्रेमदेव गिरी, कृष्ण परियार, धिर्ज लाल कुलु, न्हुछेमान डंगोल, अर्जुन श्रेष्ठ, रामशरण नेपाली, लालबहादुर आदि ।
पहिलो निर्देशन : गोविन्द प्रसाद तिमिल्सिना
पहिलोपटक अभिनय गर्ने संस्थानका कलाकारहरू : विमला श्रेष्ठ, कोकिल गुरुङ, श्याम प्रजापति, वसुन्धरा भुसाल, कृष्णा प्रधान, सुभद्रा अधिकारी, पुष्पलता तिखत्री, नारायण कृष्ण श्रेष्ठ, सरिता श्रेष्ठ, आशा रजपूत, टेकराज भारती, वेदकुमार, रामबहादुर, अर्जुन गुरुङ, गोपाल बस्नेत, भरतराज, दिलबहादुर, बालकलाकार : मोहन गुरुङ र कुमारी शान्ता आदि ।
आभूषण तथा मेकअप डिजाइनर : श्री कृष्ण रत्न
प्राविधिकहरू : शिव प्रसाद, श्याम मानन्धर, जगत बहादुर
पहिलोपटक गीति नाटक मुनामदन मञ्चन तथा प्रदर्शन सम्पन्न हुनका निम्ति विशेष योगदान दिने नेतृत्व तथा सम्पूर्ण कर्मचारीहरूलाई उच्च सम्मान प्रकट गर्दै संस्थानको विभिन्न कालखण्डमा प्रदर्शन भएका गीति नाटक मुनामदनमा विशेष योगदान दिने सम्पूर्ण नेतृत्व तथा कर्मचारीहरूलाई समेत हार्दिक आभार प्रकट गर्दछौं । गीति नाटक मुनामदन बारे कपोलकल्पित इतिहास बनाइने र इतिहास मेट्ने दुष्प्रयास भएको यदाकदा पाइने गरेकोले त्यसप्रति संस्थानको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउँदै इतिहास मेट्ने छुट कसैलाई नरहेकोले यस्तो संवेदनशील विषयमा सत्यतथ्य पृष्ठभूमि नबुझी इतिहास मेट्ने दुष्प्रयास नगरिदिनुहुन सम्बन्धित सबैमा विनम्रतापूर्वक अनुरोध गर्दै गीति नाटक मुनामदनको सत्यतथ्य इतिहास माथि उल्लेखित नै शत् प्रतिशत भएको व्यहोरा समेत सम्पूर्णमा जानकारी गराउँदछौं ।
वर्षौंपछि ऐतिहासिक गीति नाटक मुनामदन प्रदर्शन हुँदै
६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल सांस्कृतिक संस्थान संस्कृतिलाई सजीव रूपमा प्रदर्शन गरी संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्नु प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ । यसै अनुरूप संस्थानको इतिहासमै ऐतिहासिक गरिमा कायम राख्न सफल “गीति नाटक मुनामदन” को श्रव्य सामग्री वर्षौंदेखि हराएकोले मञ्चन तथा प्रदर्शन हुन गर्न सकेको थिएन । तर वर्तमान नेतृत्वको अथक प्रयासमा खोज गरी श्रव्य सामग्री प्राप्त गरिएकोले सो अत्यधिक रूचाइएको गीति नाटक मुनामदनलाई मञ्चन गरी “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत समुद्घाटन गरी नियमित प्रदर्शन गरिने तयारी गरिएको छ । गीति नाटक मुनामदनलाई जनचाहना अनुसार देशैभरी तथा अन्तर्राष्ट्रिय रूपमा समेत प्रदर्शन गरिने बताइएको छ ।
संस्थानमा पछिल्लो समय सुशासन स्थापना गर्ने अठोटकासाथ अगाडि बढेकोतर्फ जोड दिँदै संस्थानका विकृति बेथिति विरुद्ध अझै सशक्त रूपमा लाग्ने एवम् राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका नेपाल सरकारको सांस्कृतिक सम्पत्तिको उत्खनन गरी संस्कृतिलाई संरक्षण सहित उत्पादनतर्फ जोड दिई समृद्धिको आधार तय गर्ने वर्तमान नेतृत्वको दीर्घकालीन योजना अनुसार संस्थानका हरेक नीति तथा कार्यक्रमलाई अगाडि बढाइने महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले जानकारी दिनुभयो । साथै उहाँले सांस्कृतिक संस्थानको कार्यप्रकृति विशिष्ट प्रकृतिको हुने भएकाले संस्थानमा कार्यरत कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी भनेकै नेपालको पहिचानयुक्त संस्कृतिलाई सिर्जनशील कला (गायन, वादन, नृत्य, नाटक, लेखन, संगीत, कोरियोग्राफर, निर्देशन आदि) मार्फत अभिव्यक्त गरी संरक्षण गर्ने भएकाले संस्थानमा कार्यभार ग्रहण गरुञ्जेलसम्म संस्थानको नीति तथा कार्यक्रम बमोजिम नेतृत्व तथा कर्मचारीले गरेका सिर्जनशील क्रियाकलापको आजिवन सर्वाधिकार नेपाल सरकारको स्वामित्वमा हुने भएकाले राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका सम्पूर्ण सांस्कृतिक सम्पत्तिको उत्खनन गरिने तथा यदि कुनै व्यक्ति वा संस्थाले मनपरी सांस्कृतिक संस्थान (नेपाल सरकार) को सांस्कृतिक सम्पत्तिको दुरुपयोग गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने समेत बताउनु भयो । गीति नाटक मुना मदनलाई टिकट शो, प्रायोजनमैत्री तथा डिजिटल उत्पादनमैत्री बनाउने उद्देश्य राखिएको छ ।
हाल प्रदर्शन हुने तयारीमा रहेको गीति नाटक मुनामदनमा आबद्ध संस्थानका कर्मचारीहरू :
हाल प्रदर्शन हुने तयारीमा रहेको गीति नाटक मुनामदनमा आबद्ध संस्थानका कर्मचारीहरू बारे तपसिलमा उल्लेख गरिन्छ ।
हालको निर्देशन : माया थापा
हाल अभिनय गर्ने संस्थानका कलाकारहरू : रेखा कुमारी कटुवाल श्रेष्ठ, माया थापा, सुशिला थापा, रामभजन कामत, दिपेन्द्र बज्राचार्य, रोहित सुवेदी, नरेश प्रजापति, गीता थापा, विपिन घिमिरे, अक्कल पाख्रिन आदि ।
पात्रहरू विशेष भूमिका :
मुना : सुशिला थापा
मदन : विपिन घिमिरे
मदनका साथीहरू : रोहित सुवेदी, नरेश प्रजापति, रामभजन कामत
आमा : माया थापा
दिदी : रेखा कुमारी कटुवाल श्रेष्ठ
नैनी : गीता थापा
भोटे : दिपेन्द्र बज्राचार्य
भोटेको साथी : अक्कल बहादुर पाख्रिन
भोटेको छोरा : अनमदर्शि बज्राचार्य