सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्ड बीच सम्झौता

सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्ड बीच सम्झौता


नेपाली संस्कृति प्रवर्द्धनमूलक कार्यक्रमका लागि सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्ड बीच सम्झौता 


नेपाली संस्कृति प्रवर्द्धनमूलक कार्यक्रमका लागि सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्ड बीच सम्झौता भएको छ । सांस्कृतिक पर्यटनको विकासका निम्ति नेपाली संस्कृति प्रवर्द्धन गर्नु अपरिहार्यता भएको पक्षलाई मध्यनजर गर्दै नेपाल सरकारका संस्कृति र पर्यटन सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक यी द्वय निकाय बीच सम्झौता गरिएको बताइएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका यी दुबै निकायका संस्कृति र पर्यटनको विकासका लागि आ–आफ्नै योगदान रहेका छन् । सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशी ज्यू बीच संस्कृति प्रवर्द्धन  मार्फत सांस्कृतिक पर्यटनको विकास गर्ने उद्देश्य राखिएको कार्यक्रमका लागि सम्झौतामा हस्ताक्षर भएको हो ।

IMG_3586.jpg
सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै : नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशी ज्यू र सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू

सो सम्झौता पश्चात् नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशीज्यूले सांस्कृतिक संस्थानसँगको सहकार्यलाई आगामी दिनमा थप मजबूत बनाई सांस्कृतिक पर्यटनको विकासमा टेवा पुग्ने क्रियाकलाप सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले नेपाल संस्कृतिको दृष्टिकोणबाट अत्यन्तै समृद्ध देश भएकाले सांस्कृतिक पर्यटनको शत प्रतिशत सम्भावना रहेकाले यसलाई विकास गर्न नेपाली संस्कृतिको प्रवर्द्धन आजको आवश्यकता रहेकाले सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम उत्पादनतर्फ दुबै निकायको सहकार्यलाई दीर्घकालीन सोच सहित अगाडि बढाउने प्रतिबद्धता गर्नु भयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई ज्यू र वरिष्ठ अधिकृत प्रदिप बस्नेतज्यूले नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थानको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

IMG_3597.jpg
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशी ज्यू, वरिष्ठ प्रबन्धक उदय भट्टराई ज्यू, वरिष्ठ अधिकृत प्रदिप बस्नेत ज्यू तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र बजार व्यवस्थापन संयोजक श्री अनुपम शर्मा ज्यू

 


वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । अनेक समस्याले ग्रसित अवस्थामा रहेको सांस्कृतिक संस्थान किरण बाबु पुन महाप्रबन्धक भएसँगै प्रगतितर्फ लम्किरहेको छ । आफ्नो ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ ।

सांस्कृतिक संस्थानको आयोजना, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा नयाँ वर्ष २०८२ सालको अवसरमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ “शुभारम्भ सांस्कृतिक साँझ २०८२” वैशाख १ गते साँझ ४ बजे सांस्कृतिक संस्थानको मेगा हल जमल काठमाडौँमा सम्पन्न गर्ने तय गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकाटाको लोकप्रिय खण्डकाव्यमा आधारित संस्थानका पूर्वकर्मचारी नेपाल कलाभूषण श्री चन्द्रराज शर्माको सङ्गीत, संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायणगोपाल, तारादेवी लगायतले गाउनुभएको कालजयी कृति “गीति नाटक मुनामदन” राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासमा लगातार ६/७ महिनाभन्दा बढी प्रदर्शन भई रजत जयन्ती मनाउन सफल ऐतिहासिक गीति नाटक मुनामदन वर्षौंदेखि श्रव्य सामग्री हराएर मञ्चन तथा प्रदर्शन हुन सकेको थिएन तर वर्तमान महाप्रबन्धक किरण बाबु पुनको अथक प्रयासमा श्रव्य सामग्री उत्खनन गरी प्राप्त गर्न सफल भएकाले फेरि एकपटक ऐतिहासिक गीति नाटक मुनामदन मञ्चन गरिएकोले शुभारम्भ सांस्कृतिक साँझ २०८२ मार्फत समुद्घाटन गरी नियमित प्रदर्शन गरिने भएको छ । संस्थानका पूर्वकर्मचारी गोविन्द प्रसाद तिमिल्सिनाले पहिलो निर्देशन गर्नुभएको “गीति नाटक मुनामदन” मा तत्कालीन कलाकार कर्मचारीहरू विमला श्रेष्ठ मुना र कोकिल गुरुङ मदनको भूमिकामा अभिनय गर्नुभएको थियो भने अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरूको अभिनय रहेको थियो । हाल उक्त गीति नाटक संस्थानमा कलाकार सेवामा कार्यरत कर्मचारी माया थापाको निर्देशनमा सुशिला थापा मुना र विपिन घिमिरे मदनको भूमिकामा तथा अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरुको अभिनय रहेको छ । साथमा सात प्रदेशको अमूर्त संस्कृतिमूलक कार्यक्रम “नेपाली संस्कृति” समेत समुद्घाटन गरिने भएको छ ।

संस्कृति प्रवर्द्धनमूलक कार्यक्रम “नेपाली संस्कृति” लाई गीति नाटक मुनामदनको सहित नवजारण प्रवाह गर्ने उद्देश्यकासाथ सात प्रदेशमा प्रदर्शन गर्ने तयारी समेत गरिएको छ । सात प्रदेशका कार्यक्रमहरूमा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृतिलाई समेत विशेष स्थान दिइनेछ । जस अन्तर्गत सोलुखुम्बु सल्लेरी वैशाख ५ गते, जनकपुर वैशाख ७ गते, महेन्द्रनगर वैशाख १० गते, वर्दिया गुलरिया वैशाख १२ गते, सुर्खेत वैशाख १४ गते हुने तय भएको बताइएको छ ।

IMG_3601.jpg
सम्झौता हस्ताक्षर पश्चात् खुशी साट्दै :
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दिपक राज जोशी ज्यू र सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij