सांस्कृतिक सम्पत्ति दुरुपयोग गर्नेलाई कारबाही गरिने : सांस्कृतिक संस्थान
नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानमा कार्यरत नेतृत्व तथा कर्मचारीहरूको काम, कर्तव्य र जिम्मेवारी राष्ट्रको अस्तित्वसँग जोडिएको संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सिर्जनशील कला (शब्द रचना, सङ्गीत रचना, कथा लेखन, गायन, वादन, नृत्य, नाट्य अभिनय, कोरियोग्राफर, निर्देशन आदि) सम्बन्धी कार्य गर्नु, गराउनु प्रमुख अभिभारा हुने भएकाले वि.सं.२०१६ साल राष्ट्रिय नाचघरदेखि नाम परिमार्जन सहित हाल सांस्कृतिक संस्थानसम्म तथा आगामी दिनहरूमा समेत संस्थानमा कार्यरत रहँदासम्म संस्थानको नीति तथा कार्यक्रम अन्तर्गत रही नेतृत्व तथा कर्मचारीहरूद्वारा गरिएका सिर्जनशील क्रियाकलापहरूमा आजीवन सर्वाधिकार नेपाल सरकारको नाममा हुने व्यवस्था भएको, प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा (४०) को उपदफा (१) मा नेपाल सरकारको सर्वाधिकार सम्बन्धी स्पष्ट व्यवस्था भएको र सांस्कृतिक संस्थान सञ्चालक समितिबाट समेत सो व्यवस्था कायम गरी लागू गरिएकाले संस्थानको सम्पूर्ण सांस्कृतिक सम्पत्ति संरक्षणका लागि पछिल्लो समय संस्थान प्रतिबद्ध भएको छ । हाल सांस्कृतिक दस्तावेजीकरण गर्न उत्खनन र खोज गर्ने कार्य भइरहेको छ । सिर्जनशील कला मार्फत राष्ट्रलाई योगदान दिनुहुने थुप्रै लोकप्रिय कलाकारहरूको उद्भवभूमिका रूपमा ऐतिहासिक विरासत कायम राख्न सफल सांस्कृतिक संस्थानले सम्बन्धित स्रष्टाहरूद्वारा सिर्जित कृतिहरूको खोज तथा अनुसन्धान कार्य तीव्र बनाएको छ । मृत्युवरण गरिसक्नु भएका विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको कृतिहरूको संरक्षणको अभिभारा नेपाल सरकारको भएकाले झनै संस्थानमा कार्यरत सिर्जनशील कलायुक्त राष्ट्रिय व्यक्तित्वहरुको कृतिहरूको संरक्षणको अभिभारा नेपाल सरकार (सांस्कृतिक संस्थान) को भएकाले त्यसप्रति संस्थान प्रतिबद्ध रहेको बताइएको छ ।
राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मका सम्पूर्ण सांस्कृतिक सम्पत्ति खोज, अनुसन्धान गर्न पछिल्लो समय समिति निर्माण गरी तीव्र रूपमा लागिपरेकाले न्यायोचित खोज गरी यदि सांस्कृतिक सम्पत्तिको कहिँकतै दुरुपयोग भएको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने संस्थानले बताएको छ । वि.सं.२०३२ सालमा पहिलोपटक मञ्चन प्रदर्शन गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत ऐतिहासिक गीति नाटक मुनामदन संस्थानको सर्वाधिक सफल मानिन्छ । वि.सं.२०३२ साल पश्चात् पटकपटक मञ्चन तथा प्रदर्शन गरिएतापनि पछिल्लो समय श्रव्य सामग्री हराएर झण्डै १५/२० वर्ष गायब पारिएको ऐतिहासिक गीति नाटक मुनामदनलाई महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको अथक प्रयासमा प्राप्त गरी नयाँ वर्ष २०८२ को अवसरमा वैशाख १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट समुद्घाटन गरिएको छ ।
गीति नाटक मुनामदन सम्बन्धी श्रव्य सामग्री संस्थानमा कार्यरत तत्कालीन कर्मचारीहरुले सिर्जनशील कलाद्वारा तयार पारिएकाले नेपाल सरकारको सांस्कृतिक सम्पत्तिको रूपमा गणना हुने सो गीति नाटक मुनामदन सम्बन्धी श्रव्य सामग्रीको सत्यतथ्य खोज, अनुसन्धान कार्य अझै पनि भइरहेकाले सो गीति नाटकको श्रव्य सामग्रीको दुरुपयोग भएको पाइएमा दुरुपयोगमा संलग्न जुनसुकै व्यक्ति वा निकायहरू भएपनि कानूनी कारबाही अगाडि बढाउने तय गरिएको छ ।