सांस्कृतिक संस्थानले समय सान्दर्भिक गीत असारे गीत “छुपुमा छुपु” बोलको गीत श्रव्यदृश्य सामग्री सहित सार्वजनिक गरेको छ । उक्त गीतमा रचनाकार श्री सहदेव कालिकोटे, सङ्गीतकार श्री विपिन घिमिरे, सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली, गायक/गायिका : श्री तिर्थराज पोख्रेल, श्री दीपेन्द्र बज्राचार्य, श्री विपिन घिमिरे, श्री शिला विष्ट, श्री राधिका भण्डारी र श्री जसराज राई, वाद्यवादक : श्री दुर्गा प्रसाद खतिवडा, श्री नरेश प्रजापति, श्री रोहित सुवेदी, लोकराज राई, निर्देशक श्री माया थापा, छायांकार श्री बि.एम मल्ल, दृश्य सम्पादक श्री मनिष कार्की, अभिनय : श्री सवनम सिलवाल, श्री सुशिला थापा, श्री गीता थापा घिमिरे, श्री शेखर घर्ति, श्री अक्कल बहादुर पाख्रिन, श्री बिना विश्वकर्मा लगायत संस्थान परिवार, भेषभूषा श्री नारायणी पाण्डेको रहेको छ । गीतको श्रव्यदृश्य सामग्रीलाई संस्थानको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
कृषिप्रधान देश नेपालमा असारे गीतको महत्त्व व्यापक छ । नेपाली कृषकको मुटु मिसिएको गीत असारे गीत हो । असार महिनामा गाइने भएकाले नै यसलाई असारे गीत वा असारे भाका भनिएको हो । यो गीत श्रम गरिरहेका बेला गाइने भएकाले यसलाई श्रमगीत पनि भनिन्छ । जब खेतमा धान रोपाइँको कर्म हुन्छ, त्यो समयमा गाइनुले यो कर्म गीत पनि हो, रोपाइँ गीत पनि हो । युवायुवतीका बिचमा गाइने, कठोर परिश्रमलाई बिर्साउने उद्देश्यले गाइने भएकाले असारे गीतमा मूलतः शृङ्गार रस प्रधान हुन्छ । असारे गीत विशेष समयमा गाइने भएकाले ऋतुकालीन गीत पनि हो । ‘मानो रोपेर मुरी उब्जाउने’ धान रोपाइँको समयमा गाइने असारे गीत नेपाली लोकगीतको एउटा विशिष्ट भेद हो । असारमा गरिने मानवीय श्रम सम्बन्धी संस्कृति बोकेको गीतको श्रव्यदृश्य सामग्री निकै मेहनत गरेर निर्माण गरिएको छ ।
नेपाली संस्कृतिको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने प्रमुख अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपालमा प्रचलित पहिचानयुक्त सबै प्रकारका गीतहरू रेकर्डिङ गरी श्रव्यदृश्य सामग्रीका माध्यमबाट संस्कृति जगेर्ना गर्ने हेतुका साथ पछिल्लो समय संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा निकायगत कार्य प्रकृति अनुसार अपरिहार्य आफ्नै रेकर्डिङ स्टुडियो निर्माण गरी अगाडि बढेको छ । संस्थानले निरन्तर सबै विधाका सबै प्रकारका गीतहरू उत्पादन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
गीतको भिडियो :