मा.मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको १ वर्षे कार्यकालमा सांस्कृतिक संस्थानका प्रमुख कार्यहरू
मा.मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको असल अभिभावकत्वमा, १ वर्षे कार्यकालमा सांस्कृतिक संस्थानबाट सम्पादन गरिएका प्रमुख कार्यहरू तपसिलमा उल्लेख गरिन्छः–
१. नीतिगत प्रणाली सुधार तर्फ
संस्थानलाई चुस्त, दुरुस्त, पारदर्शी एवम् व्यवस्थित रूपमा सञ्चालन गर्न संस्थानमा विभिन्न कार्यविधि निर्माण गरी नीतिगत प्रणालीको प्रारम्भ गरिएको छ । संस्थानमा सुशासन स्थापना सहित परिणाममुखी क्रियाकलाप सम्पन्न गर्ने उद्देश्य सहित आ.व.२०८१/८२ मा नयाँ तथा संशोधन सहित कार्यान्वयनमा ल्याइएका निर्देशिका तथा कार्यविधिहरू यसप्रकार छन् :–
- सांस्कृतिक संस्थान प्रेक्षालय सञ्चालन तथा व्यवस्थापन (संशोधन सहित) निर्देशिका, २०८१
- सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियो सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१
- सांस्कृतिक संस्थान कला प्रशिक्षण कार्यविधि, २०८१
- सांस्कृतिक संस्थान कल्याणकारी कोष कार्यविधि, २०८१
- सांस्कृतिक संस्थान राष्ट्रिय सम्मान तथा पुरस्कार (संशोधन सहित) कार्यविधि, २०८१
- सांस्कृतिक सम्पत्ति दस्तावेजीकरण तथा सर्वाधिकार सम्बन्धी प्रणाली, २०८१
- संस्थानको नीति तथा कार्यक्रमयुक्त भित्तेपात्रो निर्माण प्रणाली शुभारम्भ
२. नीति तथा कार्यक्रम तर्फ
क) सांस्कृतिक संस्थानकोे संस्थानको आ.व.२०८१/८२ बाट दीर्घकालीन सोचयुक्त नीति तथा कार्यक्रम सहितको बजेट विनियोजन गर्ने प्रणाली थालनी गरी आ.व.२०८१/८२ का नीति तथा कार्यक्रमहरू परिणाममुखी ढंगले सम्पन्न भएका छन् ।
ख) आ.व.२०८१/८२ मा सम्पन्न भएका प्रमुख कार्यहरूः–
- संस्थानको रेकर्डिङ स्टुडियो निर्माण
- संस्थानको सेमिनार हल निर्माण
- गाईजात्रा महोत्सवको थालनी
- श्रव्यदृश्य सामग्रीलाई युटुब, एप मार्फत प्रकाशन गरी डिजिटल उत्पादनको थालनी
- सात प्रदेशको जागरण कार्यक्रम सम्पन्न
- मनमनमा संस्कृति–ओठओठमा हाँसो समुद्घाटन भई नियमित प्रर्दशन
- श्रव्य सामग्री हराएर वर्षौंदेखि मञ्चन तथा प्रदर्शन हुन नसकेको ऐतिहासिक गीति नाटक मुनामदन पुनरुत्थान गरी पुनः मञ्चन, समुद्घाटन गरी नियमित प्रदर्शनमा ल्याइएको
- नेपाल सरकारका मन्त्रालय र विभिन्न निकायसँग G to G प्रणालीमा सहकार्य गरी संस्थानले परिणाममुखी कार्यक्रमहरू सम्पन्न गरेको छ । जस्तै : पशुपति क्षेत्र विकास कोषसँग धार्मिक सांस्कृतिक सम्बन्धी कार्यक्रम, नेपाल पर्यटन बोर्डसँग नेपाली संस्कृति प्रवर्द्धन मार्फत सांस्कृतिक पर्यटनको विकास सम्बन्धी कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम, युवा तथा खेलकुद मन्त्रालयसँग संस्कृतिमा युवा सहभागिता सम्बन्धी कार्यक्रम र काठमाडौँ महानगरपालिकासँग सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिएको Book Free Friday कार्यक्रम अन्तर्गत सङ्गीत तथा नाटक प्रशिक्षण सम्बन्धी क्रियाकलाप
- व्यवस्थित प्रशिक्षण कक्षहरू निर्माण
- सांस्कृतिक संस्थानको गत आ.व.को तुलनामा आ.व.२०८१/८२ मा ६९.४७ प्रतिशतका दरले आम्दानी वृद्धि ।
३. संस्थान र कर्मचारी हित तर्फ
- कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा रकम जम्मा नहुँदा कर्मचारीहरू सम्बन्धित कोषबाट पाउने विभिन्न सुविधाहरूबाट वञ्चित हुनु परेको थियो । वर्षौंदेखि रकम जम्मा हुन नसक्दा रु.१,०२,९२,९९२÷– (अक्षरेपि एक करोड दुई लाख बयानब्बे हजार नौ सय बयानब्बे रुपैयाँ) पुगेको पुरानो दायित्वको बाँकी रकम जम्मा गरी हाल लगातार तलब भत्तासँगै जम्मा हुने प्रणालीको सुरुवात गरिएको छ ।
- नेपाल सरकारको अनिवार्य दायित्व अवकाश प्राप्त कर्मचारीहरूलाई प्रदान गरिने उपदान रकमको दायित्व समाधानका लागि नेपाल सरकारबाट प्राप्त अनुदान रकममा आन्तरिक आयमा वृद्धि हुन आएको रकम थप गरी हालसम्मकै बढी रकमका दरले अवकाश प्राप्त कर्मचारीहरूलाई वितरण गरिएको छ । संस्थानको हित र कर्मचारीको वृत्ति विकास केन्द्रित दीर्घकालीन रूपमा उपदानको समस्या समाधानको लागि संस्थानको विनियमावली संशोधन गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरिएको छ ।
- ‘मेरो दान, संस्कृतिलाई सम्मान’ श्लोकन सहित दानपेटिका सहितको “सांस्कृतिक संस्थान कल्याणकारी कोष” संस्थानका कर्मचारीलाई आपत्विपद् पर्दा मलमपट्टी स्वरूप सहायता मिल्ने व्यवस्था सहित विस्तार गर्न जोड दिइएको छ ।
- वर्षौंदेखि आत्मसम्मानमा आघात पुग्नेगरी सिर्जनशील कला प्रर्दशनी गर्ने वातावरणबाट वञ्चित संस्थानका कलाकार सेवाका कर्मचारी र क्षमता अनुरूपको स्थान नपाएर वञ्चित भएका प्रशासन सेवाका कर्मचारीलाई उपयुक्त वातावरण एवम् जिम्मेवारी प्रदान गरी आत्मनिर्भर नीतिमा केन्द्रित गरिएको छ ।
- संस्थानको हित र कर्मचारीको वृत्ति विकास हुने सिर्जनशील क्रियाकलापका लागि रेकर्डिङ स्टुडियोमा उपयुक्त नीति सहितको वातावरण सिर्जना गरिएको छ ।
- संस्थानका कर्मचारीहरूको सिर्जनशील क्रियाकलापलाई डिजिटल प्रविधि मार्फत प्रकाशन गरी विश्वभरी चलायमान हुने वातावरण निर्माण गरिएको छ ।
४. सेवा प्रवाह तर्फ
- संस्थानको सेवा प्रवाहलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी बनाउन पछिल्लो समय डिजिटल प्रविधिलाई विशेष जोड दिइएको छ । अनलाइन मार्फत हल बुकिङ, कलाकार प्रमाणीकरण, टिकट बुकिङ आदि प्रणाली अगाडि बढाइएको छ ।
- संस्थानमा सोधपूछ कक्ष निर्माण तथा सत्कारकका रूपमा कर्मचारीको व्यवस्थापन गरी सेवा प्रवाहलाई थप प्रभावकारी ढंगले अगाडि बढाइएको छ ।
- संस्थानको कार्यप्रकृति अनुसार संस्थानमा हुने गतिविधि बारे यथार्थ एवम् न्यायोचित सूचना सम्प्रेषणका लागि उपयुक्त सूचना अधिकारी तोकिएको छ ।
५. सुशासन तर्फ
- अनेकन् समस्याका कारण मृत्युशैयामा पुगेको संस्थानलाई माथि उठाउन संस्थानमा हुने आन्तरिक एवम् वाह्य विकृति, विसंगति तथा बेथितिलाई जरैदेखि निर्मूलन गर्ने प्रणका साथ माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको असल अभिभावकत्वमा वर्तमान नेतृत्व र कर्मचारीहरूको ऐक्यबद्धता सहित संस्थानमा सुशासन कायम गरिएको छ ।
- कर्मचारीको तलब भत्ता र नीति तथा कार्यक्रमका लागि आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने भएकाले संस्थानको आम्दानीको मुख्य स्रोत हल तथा अभ्यास कक्षबाट हुने चुहावटलाई पूर्णतः निस्तेज पारी आयमा वृद्धि गरिएको छ ।
- विभिन्न बहानामा संस्थानको प्राङ्गण प्रयोग गर्ने प्रणालीलाई पूर्णतः निस्तेज पारी कानून अनुरूप सम्झौता गरी संस्थानको आम्दानीमा वृद्धि गरिएको छ ।
६. सांस्कृतिक सम्पत्ति संरक्षण तर्फ
- राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्म कार्यरत पूर्वकर्मचारीहरू तथा नेतृत्व, वर्तमान कर्मचारीहरू तथा नेतृत्व र आगामी दिनमा समेत कर्मचारीहरू तथा नेतृत्वबाट हुने सिर्जनशील क्रियाकलापयुक्त सांस्कृतिक सम्पत्ति संरक्षणका लागि सांस्कृतिक सम्पत्ति दस्तावेजीकरण तथा सर्वाधिकार सम्बन्धी प्रणाली, २०८१ नीतिगत प्रणाली लागू गरिएको छ ।
- सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियो सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम श्रव्यदृश्य निर्माणको कार्यलाई व्यवस्थित गरिएको छ ।
- सांस्कृतिक सम्पत्ति खोज तथा छानविन समिति गठन गरी संस्थानको ऐतिहासिक गरिमा कायम राख्न सफल हराएका सांस्कृतिक सम्पत्तिको खोजी कार्य तीव्र पारिएको छ ।
- पुराना स्पुल, क्यासेट, सिडि, भिसिडीलाई डिजिटाइजेशन गर्न सुरुवात गरिएको छ ।
७. संस्थानको आम्दानी वृद्धि तथा आयस्रोत विस्तार तर्फ
- नेपाल सरकार अर्थ मन्त्रालयको “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा – २०८२” को प्रतिवेदन अनुसार सामाजिक क्षेत्र अन्तर्गतका संस्थानहरू मध्ये सांस्कृतिक संस्थानको गत आ.व.को तुलनामा आ.व.२०८१/८२ मा ६९.४७ प्रतिशतका दरले आम्दानी वृद्धि भएको छ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको असल अभिभावकत्वमा संस्थानका वर्तमान महाप्रबन्धकज्यूले अगाडि बढाएको सुशासनको नीतिलाई संस्थानका कर्मचारीहरूले कर्तव्यनिष्ठ भई जिम्मेवारी वहन गर्दा संस्थानको हल आम्दानी गत आ.व.को तुलनामा दोब्बरका दरले आम्दानी वृद्धि भएको छ ।
- डिजिटल युगसँगै युटुब, एप मार्फत डिजिटल उत्पादनको शुभारम्भ गरी संस्थानको आयको स्रोत थप भएको छ ।
- आ.व.२०८१/८२ बाट नीति तथा कार्यक्रम सहितको बजेट विनियोजन गर्ने प्रणालीको शुभारम्भ गरेसँगै संस्थानका थुप्रै नीति तथा कार्यक्रमहरू जस्तै : गाईजात्रा महोत्सव, मनमनमा संस्कृति–ओठओठमा हाँसो, G to G प्रणाली अन्तर्गत सहकार्यमूलक कार्यक्रम, सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम आदि उत्पादनमैत्री बनेका छन् ।
- वर्षौंदेखि नीति विपरित संस्थानको प्राङ्गण प्रयोग गर्ने बेथितिलाई पूर्णतः बन्द गरी कानून सम्मत सम्बन्धित निकायसँग सम्झौता गरी संस्थानको आम्दानीको स्रोत थप गरिएको छ ।
- वर्षौंदेखि निर्माण हुन नसकेका निकायगत अपरिहार्य संस्थानको रकर्डिङ स्टुडियो र सेमिनार हल आ.व.२०८१/८२ मा निर्माण भएकाले संस्थानको आम्दानीका स्रोतहरू थप भएका छन् ।
- प्रशिक्षण कक्ष तथा अभ्यास कक्ष व्यवस्थित संरचना नहुँदा प्रशिक्षण तथा अभ्यास गर्न गाह्रो हुने परिस्थितिलाई मध्यनजर गर्दै व्यवस्थित संरचना निर्माण गरिएकोले यसबाट संस्थानको आय स्रोतमा थप टेवा पुग्नेछ ।
- डिजिटल युगसँगै व्यावसायिक कार्यक्रमका लागि डिजिटल टिकट प्रणालीको शुभारम्भ गरिएकाले यसबाट संस्थानको आय स्रोतको मार्ग सुनिश्चित हुनेछ ।
- संस्थानको इतिहासमा पहिलोपटक प्रदर्शनीयुक्त संस्कृति सम्बन्धी ISSN मान्यताप्राप्त अनुसन्धनात्मक जर्नल “संस्कृति अध्ययन” प्रकाशनमा ल्याइएको छ । जसबाट पनि आय स्रोतको मार्ग सुनिश्चित हुनेछ ।
अन्त्यमा, माननीय मन्त्रीज्यूको असल अभिभावकत्वमा यस्तै परिणामुखी कार्यक्रम सम्पन्न गर्न संस्थानको प्रतिबद्धता सहित माननीय मन्त्रीज्यूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
''सांस्कृतिक संस्थान परिवार''