“सांस्कृतिक संस्थान गार्ईजात्रा महोत्सव २०८२” भव्यताका साथ सम्पन्न
काठमाडौँ, ३१ साउन २०८२
“सांस्कृतिक संस्थान गार्ईजात्रा महोत्सव २०८२” भव्यताका साथ सम्पन्न भएको छ । नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” आयोजना गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा साउन २४ गते शनिबारका दिन समुद्घाटन गरिएको महोत्सव साउन ३१ गतेसम्म सञ्चालन भई सभ्यभव्य रूपमा सम्पन्न भएको छ । समापन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री माननीय श्री सतिशकुमार सिंह, पूर्वमन्त्री तथा संविधान सभा सदस्य माननीय श्री विमला केसी ज्यू, पूर्व माननीय श्री यज्ञ सुनुवार ज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका श्रीमान् सचिव श्री हरि प्रसाद मैनाली ज्यू, नेपाल पर्यटन विभागका महानिर्देशक श्री नारायण प्रसाद रेग्मी ज्यू, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक श्री युवराज कट्टेल ज्यू, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंह ऐर ज्यू, नेपाल सरकारका उपसचिवज्यूहरूः श्री राजेश थापा ज्यू, श्री भगवान् उप्रेती ज्यू, श्री शिवराज सेडाई ज्यू लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समापन समारोहमा सहकार्यमूलक निकाय, प्रायोजनमूलक निकाय, कलाकार तथा प्राविधिकलाई सम्मान पत्र वितरण गरिएको थियो भने दर्शकहरूको ठूलो भीड रहेको थियो ।









महोत्सवमा लोकप्रिय हास्य कलाकारले प्रस्तुति दिनुभएको थियो । पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम कमेडी नाइट विथ च्याम्पियन्स र कमेडी दरबारका कलाकार संस्थानको गाईजात्रा महोत्सवमा जोडिनु भएको छ । सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले कविता आध्यात्मिक, सुरेन्द्र केसी ‘मुला साग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘प्राइभेट प्रहरी चौकी’, हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नर्क’, विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमला’, भरतमणि पौडेल र सुमन कोइरालाले ‘घरबेटी र डेरावाल’, सन्तोष थापा र कैलाश कार्कीले ‘माइतीघर’, दिनेश काफ्ले (हाउडे दाइ) र खडगबहादुर पुन (खबपु) ले ‘अलपत्र’, सुयशा खनाले ‘अभिभावक र बालबालिका’, संस्थानका कलाकारहरू राम भजन कामत, विपिन घिमिरे र सबनम सिल्बालले ‘झिल्के ट्रायल सेन्टर’ लगायत संस्थानको तर्फबाट अन्य सांस्कृतिक प्रस्तुति दिनुभएको थियो । महोत्सवको उद्घोषण राजा राजेन्द्र पोख्रेलले गर्नुभएको थियो । संस्थानको मेगा प्रेक्षालयमा हरेक दिन साँझ ५ बजे तथा शुक्रबार र शनिबारका दिन बेलुका ४ बजे कार्यक्रम प्रदर्शन गरिएको थियो ।













सामाजिक सुरक्षा कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा संस्थानले गाईजात्रा महोत्सव आयोजना गरेको छ । सात प्रदेशको रैथाने खानपान खुवाउने गरी मौलिक भान्छाघर फुड पार्टनरको रूपमा रहेको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले मौलिक सांस्कृतिक चाडपर्वको रक्षार्थ तथा प्रदर्शनयुक्त कला र रैथाने खानपान सहितको संस्कृतिलाई ब्राण्डिङ गरी सांस्कृतिक पर्यटनको विकास एवम् समृद्धिको आधार निर्माण गर्नुका साथै डिजिटल युग तथा वैश्वीकरणको प्रभावले नेपाली संस्कृति नै संकटमा पर्ने खतरा बढेको परिवेशमा नयाँ पुस्तामाझ प्राचीन संस्कृतिको मूलमर्म सही रूपमा सम्प्रेषण गर्न सांस्कृतिक पर्व गाईजात्रा विशेष महोत्सव आयोजना गरिएकाले उद्देश्य अनुरूप महोत्सवले सार्थकता पाएको बताउनु भयो । साथै गाईजात्रा महोत्सव आ.व.२०८१/८२ देखि संस्थानले आफ्नो नीति तथा कार्यक्रम मार्फत समेटेर शुभारम्भ गरेको, आ.व.२०८२/८३ मा निरन्तरता दिइएको र आगामी आ.व.हरूमा पनि निरन्तरता दिइने बताउनु भयो ।





















































