अन्तर संस्थान तीज गीत तथा नृत्य प्रतियोगिताः तीज उत्सव २०८२ भव्यताका साथ सम्पन्न
काठमाडौँ, ५ भदौ २०८२,
संस्कृतिलाई जीवन्त राख्ने प्रमुख माध्यम तथा संस्कृतिभित्रको प्रमुख अवयव मौलिक सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि सांस्कृतिक संस्थानले हरेक सांस्कृतिक चाडपर्वलाई आफ्नो नीति तथा कार्यक्रम मार्फत समेटेको छ । यसै अनुरूप नारीहरूको महान् सांस्कृतिक पर्व तीजको अवसरमा संस्थानद्वारा आयोजित “अन्तर संस्थान तीज गीत तथा नृत्य प्रतियोगिता– तीज उत्सव २०८२” काठमाडौँ महानगरपालिका उपप्रमुख श्री सुनिता डंगोलज्यूको प्रमुख आतिथ्यता, सगरमाथा नेपाल फाउण्डेसनका अध्यक्ष समाजसेवी श्री सावित्री अधिकारीज्यूको विशिष्ट आतिथ्यता र थुप्रै निकाय प्रमुख तथा प्रतिनिधिज्यूहरूको आतिथ्यतामा संस्थानको मेगा हलमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा सभाध्यक्ष कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठ ज्यू, उद्घोषण हल शाखा संयोजक श्री पार्वती ज्ञवाली ज्यू र स्वागत मन्तव्य प्रशासन कर्मचारी श्री विना पोख्रेलज्यूले राख्नुभएको थियो ।
प्रतियोगिताको निर्णायकको भूमिकामा नेपालको पहिलो नायिका राष्ट्रिय व्यक्तित्व श्री भुवन थापा चन्द ज्यू, संस्थानका कलाकारद्वय माया थापा ज्यू र शिला विष्ट ज्यू हुनुहुन्थ्यो ।
प्रतियोगितामा सहभागी एवम् विजेता–उपविजेताहरूको विवरणः
१) प्रथमः नेपाल बैंक लिमिटेड
२) द्वितीय नेपाल नागरिक उड्डयन प्राधिकरण
३) तृतीय नेपाल कृषि अनुसन्धान परिषद्
४) सान्त्वना स्(राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड
५) नेपाल दुरसंचार प्राधिकरण
६) नेपाल आयल निगम
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले सांस्कृतिक चाडपर्वको संरक्षण, प्रवर्द्धन तथा संस्कृतिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथै तीजलाई मौलिक परम्परा, रीतिथिति एवम् मूल्य–मान्यता अनुरूप सभ्यभव्य ढंगले मनाउन नारीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्री सुनिता डंगोलज्यूले सांस्कृतिक संस्थानले आफ्नो अभिभारा बमोजिम नारीहरूको महान् पर्व तीजको अवसरमा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुहुँदै यस पर्व र कार्यक्रमले रिसराग त्यागी राष्ट्रिय एकतातर्फ एकीकृत गर्ने सम्पूर्णमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सांस्कृतिक पर्वलाई मौलिक मूल्यमान्यता अनुसार मनाउन सम्पूर्णलाई आग्रह गर्दै सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँगै तीज पर्व समानताको जागरण प्रदान गर्ने पर्व भएकाले नारी र पुरुष दुबैले तीज पर्वलाई सामाजिक एकताको प्रतीकका रूपमा मनाउनु पर्नेतर्फ जोड दिनुभयो ।
विशिष्ट अतिथि श्री सावित्री अधिकारीज्यूले तीज पर्व मार्फत नारी सशक्तिकरणको आवाज प्रतिविम्बित हुने भएकाले नारीहरू आज सम्माननीय पदमा समेत पुगेर कर्तव्यनिष्ठ भई जिम्मेवारी पुरा गरेकाले नारीहरू कुनैपनि कुरामा कमी छैनन् भन्ने सन्देश सम्प्रेषण गरेको बताउनुभयो । नारी माथि हुने शोषण, दमनका विरुद्ध नारीहरू एकजुट भई प्रतिकार गर्नतर्फ पनि नारी सक्षम हुनेतर्फ जोड दिनुभयो ।
प्रतियोगीहरूको प्रस्तुति तथा संस्थानका कलाकारहरूको प्रस्तुतीकरणसँगै कार्यक्रम सम्पन्न गरिएको थियो ।