वरिष्ठ कलाकार श्री नरसिंह लाल श्रेष्ठ सांस्कृतिक संस्थानबाट अनिवार्य अवकाश प्राप्त
काठमाडौँ, ८ भदौ २०८२, आइतबार
सांस्कृतिक संस्थानका वरिष्ठ वाद्यवादन कलाकार श्री नरसिंह लाल श्रेष्ठ ज्यू अनिवार्य अवकाश प्राप्त गर्नुभएको छ । उहाँलाई संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले कदर पत्र प्रदान गर्नुभएको छ । संस्थानले एक कार्यक्रम आयोजना गरी उहाँलाई बिदाई गरेको छ । कार्यक्रममा महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले श्री नरसिंह लाल श्रेष्ठज्यूले सिर्जनशील कलाको माध्यमबाट संस्थानलाई पुर्याउनु भएको योगदानको युगौंयुग कदर हुनुपर्ने धारणा राख्नुभयो । संस्थानका अन्य कर्मचारीलाई संस्थानको जिउँदो इतिहासको साक्षी श्रेष्ठ जस्तै संस्कृतिमय बनी कर्तव्यनिष्ठ भई जिम्मेवारी बहन गर्ने पाठ सिक्नु पर्ने बताउनु भयो ।
कदर पत्रको व्यहोराः
इतिहास त्यो मेटेर मेटिन्न अजर–अमर रहिरहन्छ ।
विरासत त्यो जुगौंजुगसम्म पनि अविरल बहिरहन्छ ।।
नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा वि.सं २०४३ जेठ १८ गतेदेखि करार सेवामा नियुक्ति भई वि.सं २०५५ पौष २ गतेदेखि “क” श्रेणी कलाकार, वाद्य प्राविधिक सेवा (कलाकार समूह) तह–५ पदमा स्थायी नियुक्ति हुनु भई वाद्यवादन अधिकृत छैंटौँ, तह–६ पदमा रही संस्थानको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन कर्तव्यनिष्ठ, अनुशासित, लगनशील, सत्यनिष्ठ एवम् इमानदारीताका साथ जिम्मेवारी वहन गर्नु भई आफ्नो सारा जीवन संस्थानको हितमा समर्पण गर्ने एक शालीन, मृदुभाषी तथा संस्थानका लागि सदा एक सांस्कृतिक धरोहर तपाईं श्री नरसिंह लाल श्रेष्ठ ज्यू मिति २०८२ भदौ ९ गतेबाट अनिवार्य अवकाशप्राप्त गर्नु भएकोमा संस्थानलाई पुर्याउनु भएको अतुलनीय योगदानको सदा उच्च सम्मान व्यक्त गर्दै यो कदर पत्र प्रदान गरिएको छ ।
यहाँको बाँकी जीवन सदा सुखमय, शान्तिमय तथा समृद्धिमय रहोस् भन्ने शुभेक्षा सहित सुस्वास्थ्य एवम् दीर्घायुको कामना छ ।
चन्द्र कुमार राई
अध्यक्ष
किरण बाबु पुन
महाप्रबन्धक
तथा सांस्कृतिक संस्थान परिवार