सांस्कृतिक पर्व तीजको शुभकामना

सांस्कृतिक पर्व तीजको शुभकामना


 

सांस्कृतिक पर्व तीजको शुभकामना


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ। संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् । चाडपर्वसँग जोडिएका किंवदन्तीले मानव जीवनलाई हितकर प्रेरणादायक सन्देश सम्प्रेषण गर्दछन् ।

तीज पर्व भाद्र शुक्ल तृतीयामा पर्दछ । परम्परागत मूल्य–मान्यता अनुरूप भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म तीज पर्व मनाउने चलन छ । तीजलाई हरितालिका पनि भनिन्छ । ‘हरित + आलिका’ को संयोजनबाट हरितालिका शब्द बनेको हो । हरितालिका भन्नाले ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ । धार्मिक किंवदन्ती अनुसार शिव र पार्वतीको पौराणिक प्रणय कथामा भाद्र शुक्ल तृतीयाको दिन हिमालय पर्वतले सुपुत्री पार्वतीको विहे विष्णुसँग निश्चय गरिदिएको तर पार्वतीको सानैदेखि प्रणय महादेवसँग भएकाले विवाहबाट जोगाउन उनका साथीहरूले पार्वतीलाई हरण गरेकाले यस दिनलाई हरितालिका भनिएको मानिन्छ । पार्वतीले भगवान् शिवजीको नाउँमा निराहार व्रत बसी तपस्या गरेकाले उनको मनोकामना पुरा भएको जनविश्वास छ ।

नेपाली समाजमा प्राचीनकालदेखि तीजलाई महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । छोरी–चेली र माइती पक्ष बीचको पवित्र प्रेम सम्बन्धको प्रसङ्ग तीज पर्वले बोकेको छ । हिन्दू नारीहरू विशेष महान् सांस्कृतिक पर्व तीजमा विवाहिता महिलाहरू परिवारको सुख, समृद्धि एवम् दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरू सुयोग्य वरको आशा राखी व्रत बस्ने प्रचलन रहेको मानिन्छ । व्रतको समयमा तीजको व्रतकथा सुन्ने, पूजापाठ गरी दानदक्षिणा गर्ने, दरका रूपमा विशेष सांस्कृतिक खानपान ग्रहण गर्ने तथा नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । 

तीज गीतमा धार्मिक भावनाको प्रसङ्ग, नारीवेदनाको प्रसङ्ग, भेदभाव अन्त्य तथा समानताको प्रसङ्गदेखि समयक्रमसँगै राजनैतिक तथा शैक्षिक जागरणका प्रसङ्ग पनि पाइन्छन् । सामाजिक तथा सांस्कृतिक रुपान्तरणसँगै तीज पर्व नारी जागरणको सशक्त माध्यम बनेको पाइन्छ । डिजिटल युग तथा वैश्वीकरणसँगै तीज संस्कृतिमा विकृति र विसंगतिले नराम्रोसँग जरा गाडेको छ । तीजको मौलिकता हराउँदै गएको छ, तीज संस्कृति नै संकटमा पर्ने खतरा बढेको छ । तीज पर्वका रुढिवादी संस्कृतिलाई परिष्कृत गर्दै सामाजिक न्याययुक्त उपयोगी पक्षहरू शिरोपर गर्दै तीज पर्वको सांस्कृतिक अस्तित्व बचाउनु अपरिहार्य छ । मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस पर्वले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित हरितालिका तीज २०८२ को शुभकामना व्यक्त गर्दछु ।    
                                                                                                                                   
१० भदौ २०८२  
ने.सं.११४५ ञंलाथ्व तृतीया  
किरण बाबु पुन  
महाप्रबन्धक                                                                                                                                                                                                                                                                                                                                                                  

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij