इन्द्रजात्राको शुभकामना

इन्द्रजात्राको शुभकामना


 

 

इन्द्रजात्राको शुभकामना


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ। संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् । चाडपर्वसँग जोडिएका किंवदन्तीले मानव जीवनलाई हितकर प्रेरणादायक सन्देश सम्प्रेषण गर्दछन् । हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृतिले जातीय पहिचानलाई स्थापित गर्दै राष्ट्रको सांस्कृतिक सौन्दर्य एवम् गरिमालाई उजागर गरेको छ । सबै जातजातिका मौलिक सांस्कृतिक चाडपर्वको संरक्षण तथा प्रवर्द्धन अपरिहार्य छ । 

काठमाडौं उपत्यकाको महान् पर्व एवम् नेवार समुदाय विशेष सांस्कृतिक पर्व इन्द्रजात्राको आफ्नै प्राचीन सांस्कृतिक परम्परा, रीतिरिवाज, संस्कार, चालचलन, मूल्य–मान्यता र सभ्यता रहेको छ । यस पर्वले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महŒव बोकेको छ । नेवारी भाषामा यो पर्व ‘यँयाः’ नामले प्रचलित छ । ‘यँ’ को अर्थ इन्द्र र ‘याः’ को अर्थ जात्रा वा पर्व भन्ने हुन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा वर्षा र सहकालका देवता इन्द्रको मौलिक संस्कृति अनुरूप पूजाआजा गरी परम्परागत रूपमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वज सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यस पर्वमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । काठमाडौं उपत्यकामा मनाइने एक जीवन्त र प्राचीन किंवदन्तीयुक्त पर्व इन्द्रजात्राले देशको समृद्ध सांस्कृतिक पक्षको भाव झल्काउँछ । 

मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि नेपाल सरकारको ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । यस पर्वले हरेक नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा सहित इन्द्रजात्रा २०८२ को शुभकामना व्यक्त गर्दछु ।    
                                                                                                                                   
२१ भदौ २०८२ 
ने.सं.११४५ भदौ शुक्ल चतुर्दशी  
किरण बाबु पुन  
महाप्रबन्धक                                                                                                                                                                                                                                                                                                                                                           

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij