संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) र सांस्कृतिक संस्थान बीच सम्झौता (MOU)
२३ मंसिर २०८२ काठमाडौँ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना [Sustainable Tourism Project (STP)] र सांस्कृतिक संस्थान बीच “अपी साइपाल र कञ्चनजङ्घा पदमार्गहरूको दिगो पर्यटन परियोजना (STP) को लागि सांस्कृतिक प्रदर्शन प्याकेजको विकास” गर्नका लागि संस्थानले साझेदार संस्था (Implementation Partner) को जिम्मेवारी वहन गर्ने गरी सम्झौता गरिएको छ ।

नेपाल संस्कृतिको दृष्टिकोणबाट अत्यन्तै समृद्ध राष्ट्र भएकाले नेपालमा बसोबास गर्ने हरेक जातजातिहरूका पहिचानयुक्त प्रदर्शनीयुक्त कलालाई सांस्कृतिक प्रदर्शन प्याकेजको रूपमा ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रवर्द्धन गर्नसकेपछि मात्र सांस्कृतिक पर्यटनको विकास र स्वरोजगारको विकास हुने आधारभूत शर्तलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न दिगो पर्यटन परियोजनाको तर्फबाट राष्ट्रिय परियोजना निर्देशक श्री दिपकराज जोशी ज्यू, वरिष्ठ निर्देशक श्री हिकमत सिंह ऐर ज्यू, संयोजक श्री श्रद्धा श्रेष्ठ ज्यू, प्रबन्धक श्री धर्मराज दवाडी ज्यू र सांस्कृतिक संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, लेखा अधिकृत श्री प्रेम ध्वज जिसी ज्यू, कलाकार श्री रोहित सुवेदीज्यूको सहभागितामा सो परियोजना सम्बन्धी सम्झौता गरिएको हो ।

संरचित हुन नसकेका सामुदायिक विविध प्रदर्शनीयुक्त कलाको सांस्कृतिक प्रदर्शन मोड्युलहरू विकास गर्नुले पिछडिएका समाज, जातिको अस्तित्व रक्षा हुने तथा उनीहरूमा स्वरोजगारका अवसरहरू सिर्जना हुने विश्वास लिइएको छ । साथै अभौतिक सांस्कृतिक सम्पदाहरूभित्रका परम्परागत सीप, लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक, वाद्ययन्त्रहरू, अनुष्ठानहरू, चाडपर्वहरू, पोशाकहरू, मौखिक कथा वाचनको दस्तावेजीकरण हुने समेत विश्वास लिइएको छ ।
अपि साइपाल र कञ्चनजङ्घा क्षेत्रको लागि सांस्कृतिक रूपमा प्रदर्शन प्याकेज विकासका लागि आधारभूत आवश्यकता पहिचान गरी प्रभावकारी वातावरण सहित उत्पादनमैत्री क्रियाकलामा जोड दिनेतर्फ परियोजना केन्द्रित रहनेछ । अपि साइपल र कञ्चनजङ्घा क्षेत्र मात्र नभई देशैभरीका स्थानीय सांस्कृतिक सम्पदा प्रवर्द्धन, सांस्कृतिक पर्यटनको विकास र संस्कृति मार्फत सामुदायिक जीविकोपार्जनलाई टेवा पुराई आर्थिकस्तर मजबुत बनाउने उद्देश्य राखिएको छ । सम्झौता पश्चात् “सांस्कृतिक प्रदर्शन प्याकेजको विकास” सम्बन्धी आधारभूत क्रियाकलापको अध्ययन गर्न सांस्कृतिक संस्थानका कलाकारहरू श्री माया थापा, श्री रोहित सुवेदी र श्री गीता घिमिरे थापा अपि साइपल क्षेत्रमा प्रस्थान गर्नुभएको छ ।