एक चिहान नाटकको नयाँ अध्याय औपचारिक समुद्घाटनः सांस्कृतिक संस्थान

७ पुस २०८२ काठमाडौँ ।
सांस्कृतिक संस्थानले प्रगतिशील उपन्यासकार स्व.हृदयचन्द्रसिंह प्रधान कृत उपन्यास एक चिहानमा आधारित नाटक एक चिहानको नयाँ अध्यायको विशेष शो मार्फत औपचारिक रूपमा समुद्घाटन गरेको छ । संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूको सभाध्यक्षता, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख (सहसचिव) श्री डा.सुरेश सुरश श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा उहाँकै हातबाट नाटकको औपचारिक समुद्घाटन गर्दै विशेष शो प्रदर्शन गरिएको हो । सो कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, सञ्चालक समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू, नाट्य रूपान्तरक श्री सन्तोष खनाल ज्यू लगायत विभिन्न विद्यालयका शिक्षक/शिक्षिकाको आतिथ्यता रहेको थियो ।

डिजिटल युगसँगै नाटकलाई समयानुकूल परिष्कृत गर्नु अपरिहार्य रहेकाले नयाँ सोच, परिकल्पना र समसामयिक परिवेशलाई समेत तादात्म्यता रहने गरी पुनः नाट्य रूपान्तरण र निर्देशन गरी मञ्चन गरिएको नाटक एक चिहानको नयाँ अध्याय संवत् २०८२ साल मंसिर ९ गतेदेखि नयाँ शिराबाट निरन्तर प्रदर्शन गर्न सुरुवात गरी २४ ओटा श्रृङ्खला भव्यताका साथ प्रदर्शन गरिसकिएको थियो भने सो नयाँ अध्यायको समुद्घाटन विशेष शो मार्फत संवत् २०८२ साल पुस ७ गते २५ औं श्रृङ्खला मार्फत औपचारिक हिसाबले समुद्घाटन गरिएको हो । विगतदेखि मञ्चन तथा प्रदर्शन हुँदै आएको नाटक एक चिहानलाई संस्थानको आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रममा समावेश गरी डिजिटल युगसँगै परिष्कृत संस्करण मञ्चन तथा प्रदर्शन थालनी गरिएको हो । नयाँ अध्यायको नाट्य रूपान्तरक श्री सन्तोष खनाल ज्यू, परिकल्पनाकार तथा निर्देशक श्री राम भजन कामत ज्यू, कलाकारहरूः श्री तिर्थराज पोख्रेल ज्यू, श्री दुर्गा प्रसाद खतिवडा ज्यू, श्री सबनम सिलवाल ज्यू, श्री दीपेन्द्र बज्राचार्य ज्यू, श्री नरेश प्रजापति ज्यू, श्री सुशीला थापा ज्यू, श्री विपिन घिमिरे ज्यू, श्री अक्कल बहादुर पाख्रिन ज्यू, श्री शेखर घर्ती मगर ज्यू, श्री राधिका भण्डारी ज्यू, श्री सुक्रिमाया मोक्तान ज्यू, श्री बिना विश्वकर्मा ज्यू, श्री कल्पना राई ज्यू, श्री दिपक पौडेल ज्यू लगायत रहनु भएको छ भने बजार व्यवस्थापक श्री अनुपम शर्मा ज्यू, प्राविधिकहरूः श्री मनोज केसी ज्यू, श्री बल बहादुर अछामे ज्यू, श्री जसराज राई ज्यू, श्री ओम प्रकाश बानियाँ ज्यू, श्री भक्त सारु मगर ज्यू लगायत रहनु भएको छ ।



प्रगतिशील उपन्यासकार स्व.हृदयचन्द्रसिंह प्रधान कृत उपन्यास एक चिहान सामाजिक यथार्थवादी कृति हो । वि.सं २०११ सालतिरको निम्न वर्गीय नेवार समुदायको पारिवारिक परिवेश समावेश गरिएको यस उपन्यासमा तत्कालीन परिवेशको सामन्ती प्रथाले जड गाडेको समाजमा प्रगतिशील क्रान्तिमय आवाजलाई निकै सुन्दर तरिकाले प्रतिविम्बित गरिएको छ ।







कार्यक्रममा प्रमुख अतिथि श्री डा.सुरेश सुरश श्रेष्ठज्यूले मन्तव्य राख्नुहुँदै भन्नु भयोः– “पाठ्यक्रममा आधारित उपन्यासलाई नाट्य रूपान्तरण तथा निर्देशन गरी संस्थानका कलाकारहरूद्वारा गरिने प्रदर्शन मार्फत शिक्षालाई सहज ढंगले विद्यार्थीले ग्रहण गर्ने व्यवस्था गर्नुका साथै संस्कृति तर्फ चिन्तन राख्न युवालाई सांस्कृतिक सन्देस दिएको बताउनुभयो । उहाँले उपन्यासकारले वि.सं.२०११ सालतिरको हाम्रो समाजको यथार्थपरक कथा मार्फत परिवर्तनको आवाज बोकेकाले उपस्थित विद्यार्थी भाइबहिनीहरूको उमेर समूह जेन जी पुस्ता भएकाले विद्यमान परिवर्तनको आन्दोलनको आवाजसँग तादात्म्यता राख्दै यो नाटक हेरिनुपर्ने समेत बताउनु भयो । उहाँले युवा पुस्ताको संस्कृति प्रति चिन्तन हुनु अपरिहार्य भएकाले विद्यालयका पाठ्यक्रममा संस्कृति सम्बन्धी विषयक सामग्रीलाई जोड दिँदै नीतिगत ढंगले नै विकास गर्नुपर्ने तर्क राख्नुभयो । साथै संस्थानले वर्तमान महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा सिर्जनशीलतालाई जोड दिँदै संस्कृतिको गरिमा कायम राख्दै संस्थानको सांस्कृतिक विरासत बचाउन सफल भएकोमा मन्त्रालयको तर्फबाट आभार प्रकट गर्नुभयो ।”



संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य राख्नुहुँदै भन्नु भयोः–
“नाटक उद्भव हुनुको मुख्य श्रेय प्रगतिशील उपन्यासकार स्व.हृदयचन्द्रसिंह प्रधान ज्यू प्रति उच्च सम्मानकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै विगतदेखि नै मञ्चन तथा प्रदर्शन हुँदै आएको यस नाटकको पहिलो अध्यायले २०० औं श्रृङ्खला पार गर्न सफल भएकोमा पहिलो अध्यायका नाट्य रूपान्तरक श्री रमेस बिजी ज्यू, निर्देशक श्री वीरेन्द्र हमाल ज्यू तथा विभिन्न चरणहरूमा सम्बद्ध संस्थानका कलाकारहरूलाई हार्दिक आभार प्रकट गर्नुभयो । शिक्षालाई व्यावहारिक बनाउने प्रमुख उद्देश्यका साथ संस्थानको आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रममा समावेश गरिएको नाटक एक चिहानलाई डिजिटल युगसँगै परिष्कृत गर्नुपर्ने अपरिहार्य देखिएकाले यस आ.व.देखि हामीले दीर्घकालीन सोच सहित नयाँ संकल्पका साथ समयको माग र समसामयिक परिवेशलाई मध्यनजर गर्दै नाटकको नयाँ अध्याय सुरुवात गरिएको बताउनु भयो । पृथक ढंगले नाट्य रूपान्तरण गर्नुहुने श्री सन्तोष खनाल ज्यू तथा झनै सशक्त ढंगले परिकल्पना तथा निर्देशन गर्नुहुने संस्थानका कलाकार श्री रामभजन कामत ज्यू लगायत नयाँ अध्यायमा सम्बद्ध संस्थानका सम्पूर्ण कलाकार, प्राविधिक तथा बजार व्यवस्थापक प्रति आभार प्रकट गर्नुभयो । कक्षा १२ को नेपाली विषयमा समाहित विद्यालयमा न्यूनतम १५ दिनसम्म पढाई हुने उपन्यासलाई समय सापेक्षिक परिष्कृत गर्दै २ घण्टाको नाटक मार्फत प्रस्तुत गरिनुले विद्यार्थीलाई पूर्ण रूपमा व्यावहारिक ढंगले ज्ञान प्राप्त हुनेछ भन्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले तालुक मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा.सुरेश सुरश श्रेष्ठज्यूलाई आभार प्रकट गर्दै राष्ट्रको पहिचान तथा अस्तित्वसँग जोडिएको निकै संवेदनशील विषय संस्कृतिको वकालत गर्ने निकाय संस्थान नीतिगत समस्याले ग्रस्त हुँदा समेत यसलाई चलायमान बनाउँदै औचित्य पुष्टि गरेको तर्फ जोड दिँदै निकायगत स्थायित्व सहितको निरन्तरता र सिर्जनशील कला मार्फत संस्कृतिको प्राण भर्ने यी संस्थानका सिर्जनशील प्राणीहरूको वृत्ति विकास हुने गरी नीतिगत प्रणालीको विकास हुनु अपरिहार्य रहेकाले तालुक मन्त्रालयको विशेष ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो । साथै जेन जी पुस्ताका विद्यार्थी भाइबहिनीहरूलाई अनुरोध गर्दै संस्कृति बिना कुनै पनि उद्देश्य हासिल गर्न असम्भव रहेकाले राष्ट्रियताको दृष्टिकोणबाट संस्कृति भन्नु नै नेपाल आमा भएकाले संस्कृतिको चिन्तन गर्दै संस्कृति मार्फत समृद्ध राष्ट्र निर्माण गर्ने म्यान्डेडमा केन्द्रित रहन अपिल गर्नुभयो ।”






कार्यक्रम सञ्चालन संस्थानका कलाकार श्री दुर्गा प्रसाद खतिवडाज्यूले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा प्रमुख श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो । विभिन्न सामुदायिक विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।


















