स्व.गणेश रसिकज्यूको पहिलो स्मृति दिवस श्रद्धार्पणका साथ मनाइयो
१८ जेठ २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक स्व.गणेश रसिकज्यूको पहिलो स्मृति दिवसको अवसरमा संस्थानले श्रद्धार्पणका साथ “सम्झनामा गणेश रसिक साङ्गीतिक समर्पण कार्यक्रम, २०८३” सम्पन्न गरेको छ । संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूको सभाध्यक्षता, संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको प्रमुख आतिथ्यता, संस्थानका शाखा संयोजकज्यूहरूको आतिथ्यतामा संस्थानका कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थितिमा संस्थानको मिनी हल, जमल, काठमाडौँमा सो कार्यक्रम सम्पन्न गरिएको हो । संस्थानका कलाकार तथा प्रशिक्षाथीहरूद्वारा उच्च सम्मानका साथ श्रद्धार्पण भाव सम्प्रेषण हुने गरी स्व.गणेश रसिकद्वारा स्वरबद्ध कालजयी गीतहरूको प्रस्तुतीकरणसँगै स्मृति दिवस मनाइएको हो ।



सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान दिनुहुने राष्ट्रिय व्यक्तित्वहरूको सम्मानार्थ विभिन्न व्यक्तित्वहरूको स्मृति दिवस विशेष कार्यक्रम सांस्कृतिक संस्थानले गत आ.व.देखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने प्रणाली विकास गरेको थियो भने यस आ.व.२०८२/८३ को नीति तथा कार्यक्रममा स्व.गणेश रसिकज्यूको स्मृति दिवस समावेश गरिएको हो ।




स्व.गणेश रसिकज्यूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको तस्बिरमा माल्यार्पण तथा मौन धारण गरी कार्यक्रम सुरुवात गरिएको थियो ।

कार्यक्रममा स्व.गणेश रसिकज्यूलाई श्रदाञ्जली अर्पण गर्दैै संस्थानका महाप्रबन्धक किरण बाबु पुनज्यूले राख्नुभएको विशेष मन्तव्यको सारांशः–
“तत्कालीन सरकारको वि.सं.२०४० माघ ३ गते निर्णयानुसार श्री गणेश रसिक (गणेशकुमार राई) ज्यू संस्थानको महाप्रबन्धकमा नियुक्त हुनुभएको थियो । उहाँको नेतृत्वमा मिति २०४० माघ ९ गते समितिको पहिलो बैठक तथा मिति २०४७ साल असोज ३० गते अन्तिम बैठक बसेको तथ्यांक पाइन्छ । सिर्जनशील कला मार्फत राष्ट्र तथा संस्थानका लागि पु¥याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान व्यक्त गर्दै पूर्वमहाप्रबन्धक स्व.गणेश रसिक ज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साङ्गीतिक आकाशका एक नक्षेत्र, एक राष्ट्रिय धरोहर स्व.गणेश रसिकलाई हरनेपाली तथा राज्यले सदा उच्च सम्मानका साथ खोजी गर्नुपर्छ । स्व.गणेश रसिकज्यूको स्मृति दिवस देशैभरी तथा अन्तर्राष्ट्रियस्तरसम्म छरिएर रहेका नेपालीहरूले श्रद्धार्पण गरी मनाउने संस्कृतिको विकास हुनुपर्छ । उहाँको योगदानको पुस्तौंपुस्तासम्म अक्षुण्ण रूपमा पुस्तान्तरण हुनुपर्छ । नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले संस्थान सम्बद्ध दिग्गज धरोहरदेखि राष्ट्रका मूर्धन्य स्रष्टाको स्मृति दिवसलाई नीति तथा कार्यक्रम मार्फत समेटेर अगाडि बढ्ने कोसिस गरेको छ । त्यसै अनुरूप यस आ.व.देखि गणेस रसिकज्यूको स्मृति दिवसलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेका छौं । मैले बारम्बार भन्दै अएको छु कि कार्यक्रमहरू कार्यकक्रमको मूल भाव बमोजिम रूपरेखा तयार पारिनुपर्छ । स्मृति दिवस भन्नु मृत्मात्माको उच्च सम्मान स्वरूप श्रद्धार्पण गर्नु हो । तर पछिल्लो समय स्मृति दिवस मनाउने संस्कृति विकृत हुँदै गएको देख्दा चिन्ता लाग्छ । स्मृति दिवस भन्नु शोक दिवस हो त्यसलाई सोही अनुरूप मनाउने संस्कृति निर्माण गर्नुपर्छ । आज उहाँका कृतिहरूलाई प्रस्तुत गरी स्व.गणेश रसिक प्रति उच्च सम्मानका साथ श्रद्धार्पण गरिनेछ । उहाँका कृति छन् र त श्रद्धार्पण गर्न पाइएको छ । उहाँले सत्कर्म गर्नुभएको थियो र त उहाँलाई हामीले उच्च सम्मान व्यक्त गर्न पाएका छौं । यदि उहाँको स्थानमा कृति बिनाको मान्छे भएको भए आज हामीले कुन माध्यमबाट श्रद्धार्पण गथ्र्यौं होला ? म जोड्न खोज्दैछु वर्तमान सरकारको लक्ष्य “सही ठाउँमा सही मानिस” अर्थात् निश्चित भूमिका, परिस्थिति वा वातावरणसँग पूर्ण रूपमा मेल खाने सीप, स्वभाव र अनुभव भएको व्यक्तिले नै राज्यका हरेक निकायमा स्थान पाउनु पर्दछ । त्यस पश्चात् मात्र योग्य व्यक्तिको क्षमता सही रूपमा सदुपयोग हुन्छ र उत्कृष्ट कार्यसम्पादन हासिल गर्न सकिन्छ । तसर्थ संस्थानको इतिहास हेर्दा यहाँ बाघको खोल ओडेर स्यालको रजाइँजस्तो भइरह्यो कि कलाको खोल ओडेका स्वार्थ समूहको चंगुलमा संस्थान फस्नाले संस्थान उठ्नै नसक्ने गरी थला प¥यो । तर वर्तमान नेतृत्वले प्राणको दाउमा राखेर सुशासन स्थापना गर्दा हाल संस्थानको प्राण भरिएको छ । इतिहासभरी सधैँ घाटामा रहेको निकाय अर्थ मन्त्रालयको “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३” प्रतिवेदन अनुसार २९ (रु.लाखमा) नाफा हुन गएको छ । यो संस्थानको ऐतिहासिक उपलब्धि हो । सम्बन्धित क्षेत्रको विषयविज्ञ नेतृत्वको पालामा मात्र संस्थानमा राम्रो कार्य भएको इतिहास पाइन्छ । स्व.गणेश रसिकज्यूको पालामा पनि थुप्रै सिर्जनात्क क्रियाकलाप सम्पन्न भएका छन् । त्यसैले म भन्न चाहन्छु, संस्थानमा कार्यरत सिर्जनशील प्राणीहरू कागले कान लियो भनेर कागको पछि नदौडिएर पहिले कान छाम्दै वैज्ञानिक ढंगले आत्मसमीक्षा गर्दै नीतिगत चेतनास्तरमा अभिवृद्धि गर्दै संस्थानमा सम्बन्धित क्षेत्रको विषयविज्ञ नेतृत्व भएपछि मात्र संस्थानको स्थायित्व सम्भव छ भन्ने कुरा चिन्तन गर्न अनुरोध गर्दछु । मैले बडो गम्भीरतापूर्व उठाउने अर्को प्रसंग, वर्तमान परिवेशमा डिजिटलयुगसँगै वैश्वीकरणको प्रभावले संस्कृति हराउँदै गएको छ, मानिसमा असन्तुलित महŒवाकाङ्क्षा बढ्नाले समाजमा निराशाको बादलले ढाकेको छ, समाजमा अराजकता हाबी हुँदै गएको छ, युवापुस्तामा वितृष्णा बढ्दै गएको छ । यस्तो बेला सकारात्मक चिन्तन अभिवृद्धि गर्न नवजागरणको आवश्यकता छ, त्यो नवजागरण प्रवाह गर्ने शक्ति सिर्जनशील कलामा मात्र छ । नवजागरण प्रवाह गर्ने आधारभूत कर्तव्य नै संस्थानको भएकाले संस्कृतिलाई उत्पादनसँग जोड्दै समृद्ध राष्ट्रको निर्माण गर्ने नवजागरण प्रवाह गर्नतर्फ संस्थानका सिर्जनशील प्राणीहरू एकीकृत हुनैपर्छ । देशको विशेष परिस्थिति जहाँ वर्तमान परिवेशले देशको समृद्धमय परिवर्तन खोजेको छ । परिवर्तनका संवाहकहरूलाई जनताले जनमत दिएकाले यो विशेष परिस्थितिलाई सही ढंगले चिन्तन गर्दै कर्तव्यनिष्ठ भई जिम्मेवारी बहन गर्न सम्पूर्ण संस्थानका कर्मचारीलाई अनुरोध गर्दै निकायगत कार्यप्रकृति बमोजिम वैज्ञानिक संगठन संरचना निर्माण सहित संस्थानको दीर्घकालीन स्थायित्वका लागि संस्थानको वर्तमान नेतृत्व सदा प्रतिबद्ध छ । फेरिपनि उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गर्दछु, धन्यवाद ।”

कार्यक्रममा संस्थानका कलाकारहरूद्वारा प्रस्तुत गरिएका गीतहरू यसप्रकार रहेका थिएः–
१.नुन जस्तै विल्ने (प्रस्तुतिः दीपेन्द्र बज्राचार्य)
(शब्द/सङ्गीत/स्वरः गणेश रसिक)

२.म सँग एउटा (प्रस्तुतिः विपिन घिमिरे)
(शब्दः बाँसु शसी, सङ्गीत/स्वरः गणेश रसिक)

३.धेरै सम्झे धेरै हुन्छ (प्रस्तुतिः तिर्थराज पोख्रेल)
(शब्द/सङ्गीत/स्वरः गणेश रसिक)

४.घरबेटी नानी (प्रस्तुतिः विपिन घिमिरे र शिला विष्ट)
(सङ्कलनः रामशरण नेपाली, स्वरः गणेश रसिक र कमला श्रेष्ठ)

५.नखेल्नु जुवा र तास (प्रस्तुतिः प्रशिक्षार्थी)
(शब्दः गणेश रसिक र हिरण्य भोजपुरे, सङ्गीतः गणेश रसिक, स्वरः गणेश रसिक, हिरण्य भोजपुरे र साथीहरू)

वाद्यवादनमा संस्थानका कलाकारहरू श्री तिर्थराज पोख्रेल ज्यू, श्री दुर्गाप्रसाद खतिवडा ज्यू, श्री रोहित सुवेदी ज्यू, श्री नरेश प्रजापति ज्यू, श्री सितामैयाँ राजचल ज्यू, श्री भरत सारु मगरज्यूले साथ दिनुभएको थियो ।



कार्यक्रम सञ्चालन संस्थानका कलाकार श्री विपिन घिमिरेज्यूले गर्नुभएको थियो ।

कार्यक्रम समापन गर्नुहुँदै संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले स्व.गणेश रसिकज्यूको कार्यकालबारे आफूले सुनेका, जानेका प्रसंग राख्नुभएको थियो ।
















