अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा ५ वटा सम्पदा सूचीकृतः सांस्कृतिक संस्थान

अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा ५ वटा सम्पदा सूचीकृतः सांस्कृतिक संस्थान


 

अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा ५ वटा सम्पदा सूचीकृतः सांस्कृतिक संस्थान


२८ जेठ २०८३ काठमाडौँ । 
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ बमोजिम सूचीकृत भएका ५ वटा अभौतिक सांस्कृतिक सम्पदाको नामावली सार्वजनिक गरिएको छ । मन्त्रालयले मिति २०८३ साल जेठ २८ गते प्रेस विज्ञप्ति मार्फत सो नामावली सार्वजनिक गरेको हो । 

उक्त प्रेस विज्ञप्ति अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समुदायहरूको पहिचान एवम् अभिलेखीकरण मार्फत् अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कार्यलाई निरन्तरता दिन अभौतिक सांस्कृतिक सम्पदाहरूको राष्ट्रिय सूचीकरण कार्य थालनी गरेको, नेपालको सांस्कृतिक सम्पदा संरक्षण एवम् व्यवस्थापनमा यस किसिमको कार्यको सुरुवात भएको सन्दर्भमा अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ मा भएको प्रावधान बमोजिम आ.व. २०८२/०८३ मा ५ वटा अभौतिक सांस्कृतिक सम्पदालाई नेपाल सरकार (मा. मन्त्रीस्तर) मिति २०८३/०२/२७ को निर्णयानुसार राष्ट्रिय सूचीमा सूचीकरण गरिएको व्यहोरा जानकारी गरिएको छ । 

प्रेस विज्ञप्ति लिंकः https://www.tourism.gov.np/content/714/press-release-on-national-intangible-cultural-heritage/ 

Screenshot_20260611_173646_My Files.jpg

राष्ट्रिय सूचीमा सूचीकरण भएका ५ वटा सम्पदाको नामावली यसप्रकार छः
१.लदी (कोशी) पूजा
२.भूमे पर्व
३.जिब्रो छेड्ने जात्रा
४.श्रीनीलवाराही गण नाच
५.नचारू स्याईं नाच


मन्त्रालयले गत आ.व.देखि राष्ट्रिय सूचीकरणको अभियान थालनी गरेको हो भने गत वर्ष १०५ वटा अभौतिक सांस्कृतिक सम्पदाहरू राष्ट्रिय सूचीकरणका लागि मन्त्रालयमा आवेदन दर्ता भएको तर जम्मा १ वटा मात्र छनौटमा परेको थियो । यस वर्ष भने १२ वटा अभौतिक सांस्कृतिक सम्पदाहरूको आवेदन दर्ता भएकोमा ५ वटा सम्पदा सूचीकृत भएका छन् । जहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सांस्कृतिक संस्थानबाट संस्थानको अभिभारा बमोजिम सम्पदा सूचीकरण गर्न इच्छुक सम्बन्धित समुदाय/व्यक्तिलाई सहजीकरण गर्दै आएको थियो भने दुई वटा अभौतिक सांस्कृतिक सम्पदा क्रमशः भूमे पर्व र नचारू स्याईं नाच आवेदनका लागि मन्त्रालयमा संस्थानले सिफारिस गरेको थियो । 

नेपालजस्तो संस्कृतिको धनी देशमा संस्कृतिबाटै समृद्धिको आधार दिशाबोध गर्न नेपालका सम्पूर्ण अभौतिक संस्कृतिहरू अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण हुनु आधारभूत शर्त हो । सूचीकरण पश्चात् नेपालको सांस्कृतिक अस्तित्व बच्नुका साथै सांस्कृतिक पर्यटनको विकास, स्वरोजगार सिर्जना र संस्कृतिबाटै समृद्धिको मार्ग प्रशस्त हुनेछ । अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई मन्त्रालय अन्तर्गतको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले सहकार्य गर्दै आएको छ ।

Screenshot_20260611_185844_Chrome.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij