मौलिक राष्ट्रिय सांस्कृतिक चाड “भूमे पर्व २०८३” भव्य रूपमा समुद्घाटन

मौलिक राष्ट्रिय सांस्कृतिक चाड “भूमे पर्व २०८३” भव्य रूपमा समुद्घाटन


 

मौलिक राष्ट्रिय सांस्कृतिक चाड “भूमे पर्व २०८३” भव्य रूपमा समुद्घाटन


१ असार २०८३ काठमाडौँ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आ.व.२०८२/८३ मा अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा सूचीकरण गरेको “भूमे पर्व” मगर समुदायको मौलिक राष्ट्रिय सांस्कृतिक पर्व हो । मगर समुदायको ऐतिहासिक पृष्ठभूमि बोकेको मौलिक सांस्कृतिक पर्व असार १ गतेबाट विधिवत शुभारम्भ भई यो पर्व स्थान विशेष चलन अनुसार धेरै दिनसम्म मनाउने प्रचलन रहेको छ । काठमाडौँमा वर्षौंदेखि भूमे पर्व संरक्षण नेपालको आयोजना तथा नेपाल मगर संघको संरक्षकत्वमा ३ दिनसम्म भूमे पर्व मनाउने प्रचलन रहेको छ । यसै अनुरूप भूमे पर्व २०८३ भूमे पर्व संरक्षण नेपालका अध्यक्ष श्री बागलाल बुढा मगरज्यूको सभाध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष श्री रक्ष बहादुर रैका मगरज्यूको संरक्षकत्वको अध्यक्षतामा वरिष्ठ संस्कृतिविद् श्री बमकुमारी बुढा मगरज्यूको प्रमुख आतिथ्यतामा, प्रतिनिधि सभा सदस्य माननीयज्यूहरू, पूर्व सांसादहरू, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, आदिवासी जनजाति आयोगका सदस्य श्री डा.मीन श्रीस मगर ज्यू, निवर्तमान अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर ज्यू लगायतका शिष्टविशिष्ट व्यक्तित्वहरूको आतिथ्यतामा समुद्घाटन गरिएको छ ।

bhume-nach-17.jpg

Bhume-Festival-_Magar_Community_-1970-768x512.jpg

कार्यक्रममा भूमे पर्व संरक्षण नेपालका उपाध्यक्ष श्री हर्क घर्ती मगरज्यूले स्वागत मन्तव्य राख्नुहुँदै भूमे पर्व राष्ट्रिय सूचीकरणमा पर्न सफल भएकोमा हर्ष बधाई स्वरूप यस वर्षको भूमे पर्व मनाउनुपर्ने धारणा राख्दै सूचीकरणका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सांस्कृतिक संस्थान, प्राविधिक सहयोगी लगायत सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्नुभयो । नेपालका हरेक समुदायका सांस्कृतिक चाडपर्वको संरक्षण सम्बन्धी नीति तथा कार्यक्रम मार्फत नै अगाडि बढेको नेपाल सरकारको अभौतिक सांस्कृतिक सम्पदाको विशेष वकालत गर्ने अभिभारा बोकेको नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको सहकार्य रहेको छ । उक्त कार्यक्रममा संस्थानका कलाकारद्वारा मौलिक झ्याउरे नृत्य स्वागत नृत्य स्वरूप  तथा मौलिक टप्पा गीत प्रस्तुत गर्नुभएको थियोे । 

FB_IMG_1781579316046.jpg

Bhume-Festival-_Magar_Community_-1975-scaled.jpg

722074174_1036992865946780_2719448068022772481_n.jpg

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै सांस्कृतिक संस्थानका महाप्रबन्धकज्यूले भन्नुभयोः “नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आ.व.२०८२/८३ मा अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा सूचीकरण गरिएको “भूमे पर्व” मगर समुदायले सगौरव गर्व गर्ने पहिलो मौलिक राष्ट्रिय सांस्कृतिक चाड हुन सफल भएकोमा सम्पूर्ण मगर समुदायलाई हार्दिक बधाई ज्ञापन गर्नुहुँदै यस पर्वलाई अन्तर्राष्ट्रिय रूपमा विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि साझा आवाज बनाउन अनुरोध गर्दै आफ्नो तर्फबाट शत प्रतिशत भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल मर्म नै नेपालको विविधतायुक्त विशेषतालाई आत्मसात् गरी सबै जाति, धर्म, संस्कृति, विचारको अस्तित्वलाई स्वीकार्दै समावेशी समाजको निर्माण गर्नु भएकाले नेपाली भूमिको रक्षक आदिवासी जनाजाति समुदायमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदाय आफै विविधतायुक्त पहिचान भएको समुदाय भएकाले विविधतायुक्त राजनैतिक विचारको अस्तित्वलाई स्वीकार्नु पर्दछ । तर राजनीति गर्ने क्षेत्र पहिचान हुनै पर्दछ । मगर समुदायको संघसंस्थाको नेतृत्वको सोच राजनीतिक एजेन्डा भन्दा माथि समुदायिक एजेन्डा हुन्छ भन्ने हेक्का राख्नै पर्दछ । राजनीति गर्नुपर्छ राजनीतिको माध्यमबाटै हाम्रो पहिचान सहितको अधिकारको राज्यनीति बनाउनु छ । राजनीति सभ्य ढंगले गरौं, राजनीतिको नाउँमा समाजलाई विखण्डन तर्फ लैजाने कार्य नगर्न, नगराउन मगर समुदायका नेतृत्वलाई अनुरोध गर्नुभयो । उहाँले समयको मागसँगै वर्तमान समयमा शौम्य शक्तिको बढी बहस हुने धारणा राख्नुहुँदै मगर समुदाय आफैमा शौम्य शक्ति (सफ्ट पावर) को भण्डार भएको समुदाय भएकाले शौम्य शक्ति विस्तार गर्न अनिवार्य शर्त भनेकै अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नु भएकाले यसमा प्रतिबद्ध हुन सबै मगर समुदायका संघसंस्थालाई अनुरोध गर्नुभयो । मगर समुदायको सभ्यता सहितको समृद्धि हासिल गर्न डिजिटल युगसँगै मगर समुदायको शौम्य शक्ति संस्कृति, प्रकृति, प्रविधि र दक्ष जनशक्तिलाई उन्नत ढंगले समायोजन गरी दीर्घकालीन कार्ययोजना तर्जुमा गर्नसके मात्र मगरात सभ्यता सहितको समृद्ध मगर समाजको परिकल्पना साकार हुने भएकाले सामुदायिक शौम्य शक्ति मार्फत स्वरोजगार तथा आत्मनिर्भरता सहितको समृद्ध मगर समाज बनाउने एजेन्डालाई राज्यनीतिमा स्थापित गर्ने नेतृत्वको खोजी मगर समुदायले गरिरहेकाले यसतर्फ नेतृत्व वर्गको ध्यानाकर्षण गराउनुहुँदै यदि यसो नगरे मगर नवयुवाले नेतृत्व लिन तयार हुनुपर्ने समेत धारणा राख्नुहुँदै मगर समुदाय विशेष एकल अस्तित्वको रूपमा सूचीकरण भई नेपालको राष्ट्रिय मौलिक सांस्कृतिक पर्वको रूपमा भूमे पर्वलाई मनाउने इतिहास प्रारम्भ भएकोमा पुनः बधाई सहित भूमे पर्वको शुभकामना व्यक्त गर्नुभयो । त्यसोत उहाँलाई नेपाल मगर संघ केन्द्रीय समितिले मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व भूमे पर्वको अवसरमा विगतदेखि प्रदान गर्दै आएको “मगर मौलिक सांस्कृतिक गरिमा राष्ट्रिय पुरस्कार – २०८३” जस्तो गरिमामय पुरस्कार प्रदान गरिएको छ ।

725592746_36432797773032047_6776536531953397309_n.jpg

FB_IMG_1781578768118.jpg

725050164_36414611688184766_1690328607653237088_n.jpg

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै नेपाल मगर संघ केन्द्रीय समितका अध्यक्ष श्री रैक्ष बहादुर रैका मगरज्यूले भन्नुभयोः “मानव अस्तित्वसँग जोडिएको भूमी पूजन गरी पृथ्वी र मानवजीवनको भलो कामना गरी मनाउने मगर समुदायको मौलिक सांस्कृतिक पर्व भूमे पर्व रुकुम, रोल्पाबाट उत्पत्ति भई हाल देशैभरी तथा अन्तर्राष्ट्रियस्तरसम्म छरिएर रहेका मगर समुदायले मनाउने गरेकाले मगर समुदायको साझा राष्ट्रिय पर्व भएको बताउनुभयो । मगर समुदायको भूमे पर्वलाई राष्ट्रिय पर्वको रूपमा सूचीकरण गरेकोमा तथा र नचारु स्याईं नाचलाई सूचीकरण गरेकोमा नेपाल सरकारलाई विशेष धन्यवाद दिनुहुँदै सूचीकरणमा सहजीकरण गरेकोमा आदिवासी जनजाति आयोगका सदस्य माननीय श्री डा.मीन श्रीस मगर ज्यू, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, प्राविधिक सहयोगी श्री मन बहादुर पुन ज्यू, आवेदक भूमे पर्व संरक्षण नेपाल र वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढा मगर ज्यू लगायत सम्बद्ध सबै प्रति आभार प्रकट गर्नुभयो ।” 

725588733_1043684181445855_3963276992888650089_n.jpg

Bhumea-parba-mk.png

कार्यक्रममा मन्तव्य राख्नुहुँदै वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढा मगरज्यूले भूमे पर्वको इतिहास, परम्परा बारे प्रष्ट पार्नुहुँदै मगर समुदायका संस्कृति सही ढंगले पुस्तान्तरण हुुन नसक्ने हुन कि भन्नेतर्फ चिन्तन व्यक्त गर्नुहुँदै नयाँ पुस्तालाई सही संस्कृति हस्तान्तरण गर्नतर्फ सम्पूर्ण मगर संघसंस्थाको ध्यान जानुपर्ने बताउनुभयो ।

bhume-nach-2-1536x1024.jpg

कार्यक्रममा सभाध्यक्ष श्री बागलाल बुढा मगरले भूमे पर्व राष्ट्रिय सूचीकरण भएकोमा हर्ष बधाई व्यक्त गर्नुहुँदै आजै आधिकारिक प्रमाण पत्र लिन पाउँदा पर्वको समुद्घाटन यसै धन्य भएको बताउनुभयो । उपस्थित प्रमुख अतिथि, सम्पूर्ण अतिथि तथा जनमनलाई हार्दिक आभार प्रकट गर्दै तीन दिनसम्म सञ्चालन हुने भूमे पर्वको कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिनुहुँदै औपचारिक कार्यक्रम समापन गर्नुभयो ।

723109516_997895436467239_5125041303969859032_n.jpg

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकता भएको देश नेपालको पहिचान र राष्ट्रिय एकताको सन्देश विशेषगरी जातीय संस्कृति मार्फत प्रवाह हुने गर्दछ । आदिवासी जनजातिहरूमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदाय संस्कृतिको हिसाबले पनि अत्यन्तै समृद्ध छ । मगर समुदायका आफ्नै मौलिक कला, भाषा, संस्कार, रीतिरिवाज, चाडपर्व, भेषभूषा, मूल्यमान्यता, रीतिथिति, मौखिक परम्परा, मौलिक खानपान, मौलिक खेलकुद जस्ता अनेकन् मौलिकपन भएका विविधतायुक्त अभौतिक सांस्कृतिक सम्पदा रहेका छन् । भूमे पर्वलाई मगर खाम भाषामा नाम्क भनिन्छ भने अन्य मौलिक नामहरू भूम्या, बल्क, नोगोबाङ्गे, भल्क, बलपूजा, ज्यामकरी, भूमि जस्ता थुप्रै नामबाट भूगोल अनुसार सम्बोधन गरिएको पाइन्छ । यो पर्व मनाउने स्थानमा विशेषगरी केन्द्रबिन्दू अठार मगरात क्षेत्रको रुकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, बागलुङ आदि स्थान हो भने हाल मगर समुदाय बसोबास गर्ने देशैभरीका स्थानहरूमा तथा अन्तर्राष्ट्रियस्तरसम्म भूमि–प्रकृतिको विधिवत् रूपमा पूजा गरी प्राकृतिक दैवी प्रकोप नआओस्, अनिकाल नहोस्, दु ःख कष्ट नहोस्, पृथ्वीका प्राणीको भलो होस् भनी कामना सहित असार १ गतेदेखि विधिवत रूपमा यो पर्व मनाइन्छ । मगर समुदाय एउटा यस्तो समुदाय हो जहाँ आफैमा जातीय विविधताभित्र एकता पाइन्छ । बाह्र मगरात क्षेत्र, अठार मगरात क्षेत्र र काइके मगरात क्षेत्र गरी तीनवटा मगरात क्षेत्रहरूमा मगर समुदायलाई प्राचीनकालदेखि वर्गीकरण गरिएको पाइन्छ । यी तीन क्षेत्रहरूमा मगर समुदायका मौलिक पहिचानयुक्त विविध अभौतिक सांस्कृतिक सम्पदाहरू पाइन्छन् । बाह्र मगरात क्षेत्र, अठार मगरात क्षेत्र, काइके मगरात क्षेत्र भन्नु नै मगर समुदायको सांस्कृतिक सौन्दर्य भएको कुरा वरिष्ठ संस्कृतिविद् श्री बमकुमारी बुढामगरज्यूका थुप्रै लेखहरूमा उल्लेख गरेको पाइन्छ । भूमे पर्वको अवसरमा भूमे नाच विधिवत् तरिकाले नाचिन्छ । सयौंको संख्यामा महिला र पुरुष सहभागी भई गोलो घेरामा दमाह, ट्याम्की, सनाई, झ्याली, पैजन आदि मौलिक बाजाको तालमा मगरका जन्मदेखि मृत्युसम्मका क्रियाकलापहरूलाई प्रदर्शन गर्दै २२ चालामा भूमे नाच प्रस्तुत गर्छन् । जल जमिन र आकाशको अनुष्ठान गरी भूमि देउतालाई दाइना पारेको अवसरमा खुशी भएर यो नाच नाचिन्छ । बर्खे याममा हुने अनेकौं महामारी, बाढी, पहिरो, अनिकाल तथा सामाजिक बैरभावको अन्त भई मानव जाति सुरक्षित रहने विश्वासका साथ यो नाच नाच्ने गरिन्छ । विशेष अनुष्ठानबाट भूमि थाम्न सफल भएको मान्यता अनुरूप हर्षोल्लासका साथ भूमि पुजासँगै भूमे नाचको आरम्भ हुन्छ । भूमे पर्वसँग थुप्रै मिथकहरू जोडिएको पाइन्छन् । यस पर्वमा बुकी पूmल टिप्न जाने मौलिक संस्कृति रहेको छ । भूमे पर्वले सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको पाइन्छ । भूमि अनुष्ठानलाई उल्लासमय बनाउन अहम भूमिका खेलेको छ । यस पर्वले मानिसलाई एकै ठाउँमा भेला हुने अवसर सृजना गरेको छ । मानिसहरू बीच सद्भाव बाँड्न प्रेरणा दिएको छ । नयाँ पुस्ताका युवा–युवतीहरूमा संस्कृतिप्रतिको भावना साटासाट गर्ने विधि र संस्कार सिकाएको छ । समाजमा मर्यादा र अनुशासित व्यवहार निर्माणमा सघाउ पु¥याई राष्ट्रिय एकताको भावना अभिवृद्धि गराएको छ । मगर समुदायको मौलिक सांस्कृतिक पर्व मात्र नभई भूमे पर्व यो राष्ट्रको एउटा सुन्दर अमूर्त सांस्कृतिक सम्पदा हो । चाहे भूमे पर्व होस्, चाहे गौरा पर्व होस्, चाहे साकेला (उधौली,उभौली) पर्व होस्, चाहे गाईजात्रा पर्व होस्, चाहे ल्होसार पर्व हुन्, चाहे माघे सकराती पर्व होस् सम्पूर्ण नेपाली मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धनका लागि आफ्नो अभिभारा बमोजिम सांस्कृतिक संस्थानले आफ्ना नीति तथा कार्यक्रम समावेश गरी अगाडि बढेको छ । 

723999400_1309859641323200_767511495753894984_n.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij