''सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३'' भव्यताका साथ समुद्घाटन
३ असार २०८३ काठमाडौँ ।
नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” भव्यताका साथ समुद्घाटन गरिएको छ । “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि लोकसांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” प्रमुख अभिभारा बमोजिम संस्थानले सो प्रतियोगिता आयोजना गरेको हो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा वरिष्ठ लोक गायक तथा निर्देशक श्री नारायण रायमाझीज्यूको प्रमुख आतिथ्यता, वरिष्ठ लोक गायक राम प्रसाद खनालज्यूको विशिष्ट आतिथ्यतामा, वरिष्ठ लोक गायिकाहरू, वरिष्ठ लोक गायकहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा सो समारोह समुद्घाटन गरिएको हो । प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन गरिनेछ ।


समारोहमा वरिष्ठ लोक गायक श्री राजु परियार ज्यू, लोकप्रिय गायिका श्री देवी घर्ती ज्यू र श्री राजु ढकालज्यूको विशेष प्रस्तुति रहेको थियो । औपचारिक कार्यक्रम सञ्चालन संस्थानका कलाकार श्री रोहित सुवेदीज्यूले गर्नुभएको थियो भने प्रतियोगिता कार्यक्रम सञ्चालन वरिष्ठ लोक गायक श्री बद्री पंगेनी ज्यू र लोकप्रिय गायिका मञ्जु पौडेलज्यूले गर्नुभएको थियो । निर्णायकको भूमिकामा वरिष्ठ लोक स्रष्टा श्री दुर्गा रायमाझी ज्यू, वरिष्ठ लोक स्रष्टा श्री चन्द्र शर्मा ज्यू, लोकप्रिय गायिका सीता थापा ज्यू, लोकप्रिय गायिका श्री राधिका हमाल ज्यू, लोकप्रिय गायक कृष्ण रेउले ज्यू, लोकप्रिय स्रष्टाद्वय दिपक खड्का ज्यू र श्री सुवास केसी रहनुभएको थियो भने निर्णायक विशेष भूमिकामा श्री तेज बहादुर केसी ज्यू रहनु भएको थियो । पहिलो दिन ९ वटा समूह बीच प्रतिस्पर्धा भएको छ भने बाँकी समूहको भोलि र पर्सि प्रतिस्पर्धा हुनेछ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले भन्नुभयोः
“नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले आफ्नो प्रमुख अभिभारा “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि लोक सांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” भन्ने मूल भावलाई शिरोपर गर्दै राष्ट्रिय दोहोरी प्रतियोगितालाई आ.व.२०८१/८२ को नीति तथा कार्यक्रमबाटै अगाडि सारिएतापनि गत आ.व.मा प्राविधिक कारणले कार्यक्रम सम्पन्न गर्न नसकिएको, आ.व.२०८२/८३ मा तय गरिएको समयसीमामा सम्पन्न गर्नुपर्नेमा राष्ट्रको विशेष परिस्थितिका कारण सम्पन्न गर्न नसकिएको तर उपयुक्त वातावरण वार्षिकोत्सवको अवसर नै हुने भएकाले साही बमोजिम कार्यक्रम तय गरिएको बताउनुभयो । नेपाल सरकारको निकायले आयोजना गरेको कार्यक्रममा सम्पूर्णलाई साझा दृष्टिकोणले हेर्ने भएकाले देशैभरीका प्रतिभालाई समेट्ने उद्देश्यका साथ संवत् २०८३ वैशाख ३१ गते आवेदन आह्वान गरिएकोमा तोकिएको समयसीमाभित्र २५ वटा समूहले आवेदन पेश गर्नुभएको जानकारी गराउँदै उक्त २५ वटा समूह बीच स्वस्थ एवम् निष्पक्ष प्रतिस्पर्धा गराई विजेता, उपविजेता तथा अन्य विधाका सर्वोत्कृष्ट प्रतिभालाई संवत् २०८३ साल असार ५ गते सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव (राष्ट्रिय नाचघरको ६७ औं वार्षिकोत्सव) को अवसरमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल (गनेस) ज्यूको हातबाट पुरस्कार वितरण गरिने बताउनु भयो । प्रतियोगिताका प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथिज्यूहरू, निर्णायकज्यूहरू, विशेष प्रस्तुति प्रस्तुत गर्नुहुने चर्चित गायक तथा गायिका, उद्घोषकज्यूहरू, वाद्यवादक मित्रहरू लगायत सम्पूर्ण प्रतियोगीहरू प्रति विशेष आभार प्रकट गर्दै नेपाली लोक जीवनको मुटुको रूपमा रहेको दोहोरी गीतको विकास र देशभरी छरिएर रहेका प्रतिभाहरूलाई नेपाल सरकारको राष्ट्रिय मञ्च प्रदान गर्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास संस्थानले लिएको बताउनुहुँदै राष्ट्रिय गौरवको कार्यक्रमलाई उद्देश्य केन्द्रित रही सभ्यभव्य रूपमा सफल पार्न विशेषतः लोक सङ्गीत क्षेत्रका कलाकार, स्रष्टा, सञ्चारकर्मी लगायत सम्पूर्ण जनमनहरूको विशेष साथ, सद्भावको अपेक्षा गर्नुभयो । लोक सङ्गीत नै राष्ट्रिय पहिचानलाई उजागर गर्ने प्रमुख अंग तथा राज्यस्तर र जनस्तरको सम्बन्ध स्थापित गराउने सेतु भएकाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको नेपालको विशेषतालाई आत्मसात् गरी नेपाली मौलिक लोक सङ्गीत क्षेत्रको विकासका लागि राज्यस्तरबाट नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ दोहोरी प्रतियोगितालाई नीति तथा कार्यक्रममै समावेश गरिएको तथा आ.व.२०८३/८४ थुप्रै लोक सङ्गीत सम्बन्धी नीति तथा कार्यक्रम समेटिएको बताउनुभयो । उहाँले सिर्जनशील प्राणीको प्रमुख समस्या नीतिगत चेतनास्तरको विकास नहुनु भएकाले नीतिगत चेतनास्तर अभिवृद्धि भएपछि मात्र कला सम्बन्धी स्पष्ट राज्यनीति सहितको अधिकार सुनिश्चित हुनसक्ने बताउनुहुँदै सिर्जनशील प्राणीको साझा आवाज आजको आवश्यकता भएकाले सम्पूर्ण लोक सङ्गीतका सिर्जनशील प्राणीलाई एकीकृत हुन अनुरोध गर्नुभयो । साथै, उहाँले सिर्जनशील प्राणीहरू कर्तव्यनिष्ठ हुने भएकाले समृद्ध राष्ट्र निर्माणमा सिर्जनशील प्राणीले नै प्रमुख भूमिका निर्वाह गर्नुपर्नेतर्फ चिन्तनको विकास गर्नुपर्ने धारणा राख्दै निष्ठापूर्वक आफूले जिम्मेवारी निर्वाह गरेकै कारण ६७ वर्षीय संस्थानको इतिहासमा सधैँ घाटामा गएको निकायलाई नाफामा लैजान सफल हुनुले पनि सिर्जनशील प्राणीहरू कर्तव्यनिष्ठ हुन्छन् भन्ने पुष्टि गरेको बताउनुहुँदै आफ्नो विगतको साङ्गीतिक यात्रालाई स्मरण गर्दै दिग्गजदेखि अनुजसम्म सबैलाई स्मरण गर्दै हार्दिक आभार प्रकट तथा दिग्गज व्यक्तित्वलाई साक्षी राखी थप सत्कर्म गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि वरिष्ठ लोक गायक तथा निर्देशक श्री नारायण रायमाझीज्यूले “सांस्कृतिक संस्थानमा आफू विगतमा रेडियो नेपालबाट काजको रूपमा कार्यक्रममा सहभागी भएको स्मरण गर्नुभयो । संस्थानले नीति तथा कार्यक्रममा राखेर दोहोरी कार्यक्रम गरेको पहिलो अनुभुति भएको बताउनुहुँदै निरन्तरताको कामना गर्नुभयो । दोहोरी खेल सभ्य हुनुपर्ने धारणा राख्नु भयो । दीप प्रज्ज्वलन, मञ्चमा राखेको ढिकी कुटेर तथा गीत गाएर कार्यक्रम समुद्घाटन गर्नुभयो ।”

विशिष्ट अतिथि वरिष्ठ लोक गायक श्री राम प्रसाद खनालले “आफू परदेश अमेरिकामा रहेता पनि आफ्नो मन मातृभूमिमै हुने वताउनुहुँदै विशेष गरी लोक सङ्गीत क्षेत्रका निकाय र लोक कलाकारको विशेष चिन्तन राख्ने बताउनु भयो । उहाँले संस्थानको गतिविधि स्थापनाकालदेखि नै अवलोकन तथा चिन्तन गर्दै आएको, नारायण गोपाल जस्ता धरोहरले नेतृत्व गरेको छुट्टै गरिमा भएको निकायमा धेरै नेतृत्व आए पनि वर्तमान किरण बाबु पुनको नेतृत्वले ऐतिहासिक उपलब्धि हासिल गरेकाले लोक सङ्गीत क्षेत्रले गर्व गर्नुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको अध्यक्षको हैसियतले महाप्रबन्धक श्री किरणब बाबु पुन ज्यू लाईसंस्थागत मान्नार्थ सदस्यको सम्मान स्वरूप मेटल (पदक) प्रदान गर्नुभयो । साथै, दोहोरी क्षेत्रमा विकृति बढेको चिन्ता प्रकट गर्दै संस्थानको राष्ट्रिय दोहोरी प्रतियोगिताले सभ्य बनाउने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।”







