सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा हल नामकरण घोषणा
५ असार २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव सभ्य–भव्य रूपमा सम्पन्न गरिएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल (गनेस)ज्यूको प्रमुख आतिथ्यता, नृत्यशास्त्री श्री भैरव बहादुर थापा ज्यू र वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढाज्यूको विशिष्ट आतिथ्यता, लोक सङ्गीत क्षेत्रका दिग्गज धरोहरहरू वरिष्ठ लोक गायक तथा गायिकाहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा सो समारोह सम्पन्न गरिएको हो ।

संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य राख्ने क्रममा ५४ औं वार्षिकोत्सवको अवसर पारेर संस्थान सञ्चालक समितिको निर्णयानुरूप सेमिनार हलको नामकरण नृत्यशास्त्री भैरव बहादुर थापा हल, रेकर्डिङ स्टुडियोको नाम स्वरसम्राट नारायण गोपाल रेकर्डिङ स्टुडियो, नवनिर्मित पुस्तकालयको नाम महाकवि लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय नामकरण गरिएको व्यहोरा सार्वजनिक गर्नुभयो । नामकरण मार्फत राष्ट्रका अमूल्य निधि स्रष्टाको शिष्टाचारको सम्मान गर्ने कोसिस गरेको बताउनुहुँदै नृत्यशास्त्री भैरव बहादुर सेमिनार हलभित्र प्रवेश गर्दैगर्दा सम्पूर्णमा नृत्यशास्त्री बन्ने ऊर्जा प्राप्त होस्, महाकवि लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय प्रवेश गर्दैगर्दा सम्पूर्णमा महाकवि लक्ष्मी प्रसाद देवकोटा बन्ने ऊर्जा प्राप्त होस्, स्वरसम्राट नारायण गोपाल रेकर्डिङ स्टुडियोमा प्रवेश गर्दैगर्दा सम्पूर्णमा स्वरसम्राट नारायण गोपाल बन्ने ऊर्जा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभयो ।


नृत्यशास्त्री श्री भैरव बहादुर थापाज्यूको वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघर स्थापना हुनुमा तथा तत्कालीन राष्ट्रिय नाचघरको पहिलो नृत्य निर्देशकको रूपमा कार्यरत रही नाचघरको विकासमा महत्त्वपूर्ण भूमिका रहेको विदितै छ । उहाँको योगदानको कदर स्वरूप जीवन्त मानव सम्पदा श्री भैरव बहादुर थापा ज्यू लाई स्वयम् उपस्थिति गराइएको थियो । उहाँसँग नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल (गनेस)ज्यूले शिष्टाचारको भेटघाट समेत गर्नुभएको थियो । साथै, मा.मन्त्रीज्यूले कार्यक्रम स्थलसम्म पुग्नको लागि सहजीकरण गर्नुभएको थियो ।


५४ औं वार्षिकोत्सवको अवसर पारेर सेमिनार हल, रेकर्डिङ स्टुडियो र नवनिर्मित पुस्तकालयको नामकरण घोषणा गरिएको हो भने यस अघि मेगा हलको नाम र मिनी हलको नाम क्रमशः सत्यमोहन जोशी र हरि प्रसाद रिमालको नामबाट नामकरण गरिएको थियो ।

अकल्पनीय ऋण, उपदान दायित्व, कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जस्ता अनेकन् नीतिगत समस्याग्रस्त निकायमा युवा विषयविज्ञ महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थानको नेतृत्व सम्हालेसँगै राष्ट्रिय नाचघरदेखि हाल सांस्कृतिक संस्थानसम्म सधैँ घाटामा रहेको निकाय इतिहासमै पहिलोपटक नाफामा जान सफल भई ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको छ ।