सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव अवसरमा पुस्तकालय औपचारिक रूपमा सञ्चालन
५ असार २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सव सभ्य–भव्य रूपमा सम्पन्न गरिएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल (गनेस)ज्यूको प्रमुख आतिथ्यता, नृत्यशास्त्री श्री भैरव बहादुर थापा ज्यू र वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढाज्यूको विशिष्ट आतिथ्यता, नेपाल पर्यटन बोर्डका कार्यवाहक सिईओ श्री हिकमत सिंह ऐर ज्यू, दिगो पर्यटन परियोजनाका प्रबन्धक श्री धर्म दवाडी ज्यू, लोक सङ्गीत क्षेत्रका दिग्गज धरोहरहरहरू वरिष्ठ लोक गायक तथा गायिकाहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा सो समारोह सम्पन्न गरिएको हो ।


सांस्कृतिक संस्थानको वार्षिकोत्सवको अवसरमा नेपालको पहिचानयुक्त सजीव कला, साहित्य तथा संस्कृति सम्बन्धी पुस्तक अभिलेख गर्न, संस्थानको कला प्रशिक्षण क्रियाकलापका लागि अत्यावश्यक पाठ्यक्रम तथा पुस्तक अभिलेख गर्नका लागि पुस्तकालय अपरिहार्य रहेको, संस्थानको हालसम्मको इतिहासमा कार्ययोजनामै सीमित रहेको “पुस्तकालय” निर्माण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । नवनिर्मित पुस्तकालयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडक राज पौडेल (गनेस)ज्यूले अवलोकन गर्नुभएको छ ।



अकल्पनीय ऋण, उपदान दायित्व, कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जस्ता अनेकन् नीतिगत समस्याग्रस्त निकायमा युवा विषयविज्ञ महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले संस्थानको नेतृत्व सम्हालेसँगै राष्ट्रिय नाचघरदेखि हाल सांस्कृतिक संस्थानसम्म सधैँ घाटामा रहेको निकाय इतिहासमै पहिलोपटक नाफामा जान सफल भई ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको छ । साथै, यस अघि हालसम्म कार्ययोजनामै सीमित रहेका सांस्कृतिक पर्यटनमैत्री नृत्यशास्त्री भैरव बहादुर थापा सेमिनार हल, स्वरसम्राट नारायण गोपाल रेकर्डिङ स्टुडियो, साउण्डप्रूफ सहित व्यवस्थित अभ्यास कक्ष, विशेष क्षमतामैत्री तथा ज्येष्ठ नागरिकमैत्री र्याम्प (सिँढी) र हल सामग्री व्यवस्थापन कक्ष समेत महाप्रबन्धक श्री किरण बाबु पुनज्यूकै नेतृत्वमा निर्माण हुन सफल भएका छन् ।

