''रोपाइँ उत्सव – २०८३'' भव्यताका साथ सम्पन्न
१५ असार २०८३ काठमाडौँ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना, सांस्कृतिक संस्थान र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा “रोपाइँ उत्सव – २०८३” भव्यताका साथ सम्पन्न गरिएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा गोकर्णेश्वर नगरपालिका प्रमुख श्री दिपक कुमार रिसालज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष श्री चन्द्रमणी गौतम ज्यू, वरिष्ठ लोक गायकद्वय श्री राजु परियार ज्यू र श्री बद्री पंगेनी ज्यू, इन्द्रेणी कार्यक्रमका सञ्चालक श्री कृष्ण कँडेल ज्यू, पूर्व वरिष्ठ पत्रकार श्री ऋषि धमला ज्यू, नायिका श्री एलिजा गौतम ज्यू लगायत थुप्रै लोकप्रिय कलाकारहरूको आतिथ्यतामा संवत् २०८३ साल असार १५ गतेका दिन गोकर्णेश्वर नगरपालिका – ७ शिवचोकमा सो कार्यक्रम भव्यताका साथ सम्पन्न गएिको हो ।



कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष श्री चन्द्रमणी गौतमज्यूले स्वागत मन्तव्य मार्फत कार्यक्रमको उद्देश्य प्रकाश पार्नुुहुँदै नेपाल कृषिप्रधान देश भएकाले असार १५ को महत्त्वलाई आम जनमानसमा सम्प्रेषण गर्न तथा मौलिक सांस्कृतिक दिवसको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले कार्यक्रम मार्फत रोपाइँ सहित मौलिक संस्कृति प्रदर्शन मार्फत नेपालको पहिचान उजागर हुने विश्वास व्यक्त गर्नुभयो ।



कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरप्रमुख श्री दिपक कुमार रिसालज्यूले कृषिप्रधान देश भएकाले कृषिबाटै आत्मनिर्भर बन्नेतर्फ राज्यको ध्यानकेन्द्रित हुनुपर्नेमा जोडदिनु भयो ।


कार्यक्रममा समापन मन्तव्य राख्नुहुँदै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले भन्नुभयोः
“नेपाल कृषिप्रधान देश भएकाले किसानको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले वि.सं.२०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा थालनी गरेतापनि अघोषित रूपमा मानव सभ्यताको विकासक्रमसँगै कृषि युगदेखि नै धान दिवस पुर्खाले मनाएको बताउनुभयो । यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ देशैभर २३ औं राष्ट्रिय धान दिवस मनाइँदै गरेको अवसरमा किसान अधिकार र नेपाली संस्कृतिको अमूल्य निधिका रूपमा धानको महत्त्वलाई विकास गर्दै श्रमजीवी किसान लक्षित श्रम संस्कृति निर्माण गर्नु अनिवार्य शर्त भएको तर्फ जोडदिँदै मानो रोपेर मुरी फलाउने दिनका रूपमा रोपाइँ थालनी गर्ने, असारे भाका गाउने तथा दही–चिउरा खाने मौलिक संस्कृति रहेको सांस्कृतिक पर्व “२३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव – २०८३” को शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले आफ्नो प्रमुख अभिभारा बमोजिम नेपालको विविधतायुक्त विशेषतालाई आत्मसात् गरी सजीव कलाको माध्यमबाट सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्न हरेक सांस्कृतिक चाडपर्वलाई नीति तथा कार्यक्रममा समावेश गरी स्थलगत रूपमै सहभागी भई मनाउने प्रणालीको विकास गरेकाले कार्यक्रममा संस्थानले सहकार्य गरेको प्रकाश पार्नुभयो । डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले आधुनिकताको नाममा सांस्कृतिक चाडपर्वको अस्तित्व संकटमा परिरहेको परिवेशमा कार्यक्रमले राष्ट्रिय धान दिवस तथा रोपाइँ संस्कृतिको मूल मर्म नयाँ पुस्तामाझ नवजागरण प्रवाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुहुँदै आयोजक राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललाई हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले नेपाली लोक जीवनमा गाइने असारे भाका भनौं वा धान रोप्दा बजाइने पञ्चैबाजा भनौं वा मौलिक नृत्य भनौं यी सबै पुर्खाहरूले खेतबारीको श्रम गर्ने क्रममा सिर्जना गरेका अमूल्य निधि भएकाले नेपाली कला र संस्कृतिको जन्म नै हिलो, माटो र पसिनाबाट भएको तर्फ जोडदिँदै हिलोको महत्त्व, माटोको महत्त्व र पसिनाको महत्त्व बुझ्नु अपरिहार्य रहेको बताउनुभयो । प्रकृतिसँग तादात्म्यता राख्दै संस्कृतिको जन्म हुने भएकाले संस्कृतिसँगै पर्यावरणको महत्त्व बुझ्न अपरिहार्य रहेको बताउनुभयो । साथै, उहाँले वरिष्ठ लोक गायक श्री राजु परियारज्यूको जन्मदिन परेको अवसरमा लोक स्वरसम्राटको रूपमा जनताले अनुमोदन गरिसकेकाले त्यसलाई राज्यबाट अनुमोदन गर्न संस्थानको नीतिसम्मत विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।”


पञ्चैबाजाको तालसँगै विधिवत् अनुष्ठान गरी सुरुवात गरिएको कार्यक्रममा रोपाइँ कार्यक्रम, सांस्कृतिक संस्थानका कलाकारद्वारा असारे भाकामा मौलिक नृत्य तथा लोकप्रिय कलाकारहरू श्री राजु परियार, श्री बद्री पंगेनी लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो । कार्यक्रम सञ्चालन राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव श्री कमल सरगम चौलागाईंले गर्नुभएको थियो ।





















