“चर्या समारोह एवम् चर्या गीतिनृत्यको वर्तमान अवस्था तथा समस्या विशेष विमर्श – २०८३” भव्यताका साथ सम्पन्न
२६ असार २०८३ काठमाडौँ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सजीव कला प्रदर्शनी सम्बन्धी नेपाल सरकारको एकमात्र आधिकारिक निकाय तथा संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको आयोजनामा परम्परागत एवम् मौलिक चर्या विषयक नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ आयोजित “ चर्या समारोह एवम् चर्या गीतिनृत्यको वर्तमान अवस्था तथा समस्या विशेष विमर्श – २०८३” सभ्य–भव्य रूपमा सु–सम्पन्न भएको छ । संवत् २०८३ असार २६ गते संस्थानको मिनी प्रेक्षालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा सभाध्यक्ष संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, प्रमुख अतिथि एवम् कार्यपत्र प्रस्तोता, नेपाल बज्रयान विभाग लुम्बिनीका प्रमुख प्रा.डा.नरेशमान बज्राचार्य ज्यू, विशिष्ट अतिथि ललितकला केन्द्रीय विभाग प्रमुख श्री डा.अञ्जु उप्रेती ज्यू, अतिथिहरू श्री पद्मराज बज्राचार्य (माइला गुरुजु), श्री अरुण श्रेष्ठ ज्यू, श्री धर्म मुनिकार ज्यू, श्री गोकुल लिम्बु ज्यू, श्री डा. सीता थापा ज्यू, श्री अर्चना बज्राचार्य ज्यू, लगायत शिष्टविशिष्ट व्यक्तित्वहरूको रहनुभएको थियो ।


कार्यक्रममा संस्थानकाको तर्फबाट पञ्चबुद्ध नृत्य र मञ्जुश्री नृत्य, सामुदायिक प्रस्तुति स्वरूप माइला गुरुजुको समन्वयमा हरिततारा नृत्य, पद्मकन्या क्याम्पसको तर्फबाट श्री अर्चना शाक्यको समन्वयमा बज्रयोगिनी नृत्य र प्रमुख आकर्षणको रूपमा प्रा.डा.नरेशमान बज्राचार्यज्यूको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संस्थानबाट प्रस्तुत भएका प्रस्तुतिमा संस्थानका कलाकारहरूबाट प्रत्यक्ष गायन श्री दीपेन्द्र बज्राचार्य ज्यू, वादनमा श्री तिर्थराज पोख्रेल ज्यू, श्री नरेश प्रजापति ज्यू र श्री सुक्रिमाया मोक्तान ज्यू हुनुहुन्थ्यो ।





कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले स्वागत मन्तव्य मार्फत राख्नुभएको मन्तव्यको सारांशः– “ उहाँले चर्या केवल एउटा प्रदर्शन कला मात्र नभई बज्रयान बौद्ध दर्शन, तान्त्रिक साधना र हजारौँ वर्ष पुरानो अभौतिक सांस्कृतिक सम्पदा एवम् सभ्यताको जीवन्त धरोहर रूपमा शिरोधार्य गर्नसके न्यायोचित हुने तथा राष्ट्रको पहिचानसँग जोडिएको चर्याको संरक्षण भएन भने राष्ट्रिय पहिचान हराउँछ भन्ने मूल मर्मलाई शिरोधार्य गर्दै सांस्कृतिक संस्थानले पहिलोपटक आ.व.२०८२/८३ को नीति तथा कार्यक्रममा चर्या समारोहलाई समेटेको व्यहोरा जानकारी गराउँदै मूल मर्म केन्द्रित रही भव्य रूपमा कार्यक्रम सम्पन्न गर्ने अभिप्रायका साथ संवत् २०८२ साल चैत १६ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी सो कार्यक्रममा प्राप्त सल्लाह सुझावलाई मध्यनजर गर्दै कार्यक्रमको रूपरेखा तय गरिएको बताउनु भयो । उहाँले डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले भूसंस्कृतिको कारण नेपालका धेरै अभौतिक सांस्कृतिक सम्पदाहरू संकटमा रहेको, चर्या पनि त्यो चुनौतीबाट अछुतो नभएकाले चर्याको संरक्षण तथा प्रवर्द्धन गर्नु संस्थानको अभिभारा रहेकाले नीति तथा कार्यक्रममा समेटेको बताउनु भयो । अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा पुस्तान्तरणका लागि हाम्रो तालुक मन्त्रालयबाट ऐतिहासिक कार्य अगाडि बढेको, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ तर्जुमाको अन्तिम चरणमा रहेको तथा ऐनको रूपमा छिट्टै प्राप्त गरे पश्चात् चर्या जस्ता मौलिक सम्पदाहरूको संरक्षणका लागि राज्यले पहिलोपटक बलियो कानूनी जग खडा गर्ने विश्वास व्यक्त गर्नुभयो । विधेयकको सबैभन्दा सुन्दर र बलियो पक्ष भनेकै समुदायको भूमिका र अधिकारलाई केन्द्रमा राखिएकाले अभौतिक सांस्कृतिक सम्पदाको वास्तविक संरक्षक तथा हकदार सम्बन्धित समुदाय हुने, राष्ट्रिय–अन्तर्राष्ट्रिय सूचीकरण गर्दा सम्बन्धित समुदायको सहमति तथा सक्रिय सहभागिता अनिवार्य गरिएकाले यसबारे गम्भीरतापूर्वक चिन्तन गर्न सम्पूर्णलाई अनुरोध गर्नुभयो । विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँगै चर्यालाई विविध समुदायले अंगीकार गर्नु सकारात्मक पक्ष भएतापनि चर्याको मूल संस्कृति सम्बन्धित समुदायमै निहित हुने भएकाले चर्याको मौलिक सौन्दर्यलाई समुदायकै सहभागितामा युगौंयुग बचाउन नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकाले यसतर्फ कार्यक्रमले सेतुको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यतिमात्र नभई विविध विश्वविद्यालय, सरकारी एवम् गैरसरकारी निकायमा चर्या विषयक प्रशिक्षण गरिने क्रियाकलाप, पाठ्यक्रम र शिक्षण पद्धति समेत सामुदायिक सहमति बिना र चर्याको मूल मर्म इतर भएको गुनासो धेरै बढ्न थालेपछि चर्याको गरिमा बारे नवजागरण गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको प्रष्ट पार्नुभयो । साथै, कार्यक्रमको मुख्य आकर्षणको रूपमा कार्यपत्र सहितको विमर्श भएकाले प्रमुख अतिथि ज्यू सम्बन्धित समुदायको विषयविज्ञ गुरु भएकाले एउटा नयाँ इतिहास निर्माणको मार्ग चित्रण हुने विश्वास व्यक्त गर्नुभयो ।”


कार्यक्रममा प्रमुख अतिथि एवम् कार्यपत्र प्रस्तोता प्रा.डा.नरेशमान बज्राचार्यज्यूले कार्यपत्र प्रस्तुत गर्नुहुँदै परम्परागत चर्या र प्रेरित चर्या बारे सान्दर्भिक तर्क प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्र प्रस्तुति मार्फत उपस्थित सम्पूर्ण व्यक्तित्वहरूले उत्साहजनक ढंगले ऐक्यबद्धता जनाउनु भएको थियो । उहाँको कार्यपत्र संस्थानको आगामी बुलेटिनमा प्रकाशित गरिनेछ ।


कार्यक्रममा ललितकला केन्द्रीय विभागका उपप्राध्यापक श्री गोकुल लिम्बुज्यूले चर्याको विषयमा कार्यक्रम मार्फत वास्तविक चर्याको मूल मर्म नवजागरण भएको बताउनुहुँदै विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको वास्तविक चर्या नभई प्रेरित चर्या रहेको समेत अवगत भएकाले पाठ्यक्रम सुधार्नुपर्ने सवालजवाफ गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन संस्थानका कलाकारद्वय श्री दीपेन्द्र बज्राचार्य ज्यू र श्री रोहित सुवेदीज्यूले गर्नु भएको थियो । कार्यक्रमको संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो ।
































