साउने संकराई (उधेली पर्व) विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौँ, २०८३ साउन १ गते ।
अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा र सांस्कृतिक संस्थानको सहकार्यमा साउने संकराई (उधेली पर्व) २०८३ विशेष कार्यक्रम त्रिभुवन पार्क, थानकोट, काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष श्री झबिन्द्र पुन मगर ज्यू, प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य श्री वर्षमान पुन (अनन्त) ज्यू, विशिष्ट अतिथिहरूमा क्रमशः वरिष्ठ संस्कृतिविद् माननीय श्री बम कुमारी बुढा मगर ज्यू, सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, नेपाल मगर संघका अध्यक्ष श्री रक्ष बहादुर रैका मगर ज्यू, आदिवासी जनजाति आयोगका सदस्य माननीय डा.मीन श्रीस मगर ज्यू लगायत शिष्टविशिष्ट व्यक्तित्वहरू अतिथि रहनु भएको थियो ।



सांस्कृतिक पर्व साउने संक्रान्ति पर्वलाई कृषिप्रधान देश नेपालमा अधिकांश नेपालीहरू असार महिनाभरी खेती किसानीमा लाग्ने भएकाले त्यस क्रममा हिलोमैलोले लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने पर्वको रूपमा परिचित छ । विधिवत् रूपमा पूजापाठ गरी लुतो फाल्नाले रोग निको हुने जनविश्वास रहेको छ । साउने संक्रान्तिलाई लुतो फाल्ने चाडका रूपमा लिइएतापनि नेपालमा बसोबास गर्ने आदिवासी जनजातिहरूले साउने संक्रान्ति पर्वलाई मौलिक चाडका रूपमा आ–आफ्नै विधिपद्धति अनुसार प्रकृतिको पूजा गरी मनाउने प्रचलन छ । जस अन्तर्गत आदिवासी जनजातिमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदायले साउने संक्रान्तिलाई उधेली पर्वका रूपमा मनाउने गर्दछन् । मगर समुदायले परम्परागत रूपमा उधेली र उभेली गरी दुईवटा ऋतु मान्ने गर्दछन् । जहाँ साउनदेखि पुषसम्म उधेली र माघदेखि असारसम्म उभेली गरी ६/६ महिनाको दुई ऋतुलाई मान्ने गर्दछन् । प्रकृति पूजक मगर समुदायका पौराणिक किंवदन्ती अनुसार उभेली ऋतुमा गायन, वादन तथा नृत्य सम्बन्धी मनोरञ्जन क्रियाकलाप गर्न नहुने र उधेली ऋतु सुरु हुनासाथ प्रकृतिको पूजा गरी मगर समुदायको प्रमुख बाजा मादल बाजा विधिवत रुपमा फुकाई गायन, वादन तथा नृत्य सम्बन्धी क्रियाकलाप शुभारम्भ गर्ने सांस्कृतिक परम्परा रहेको छ । साउने संकराई (उधेली पर्व) पर्वका अवसरमा बाली नष्ट गर्ने विभिन्न किराहरूको प्रतीक बनाई प्राकृतिक दैवी प्रकोप नआओस्, अनिकाल नहोस्, दु:ख कष्ट नहोस्, पृथ्वीका प्राणीको भलो होस् भनी कामना गरी प्रकृतिको पूजा गर्ने गरिन्छ । साथै, मगर समुदायले साउने संकराई उधेली पर्वमा हरियो र रातो रङको “माहोर” टीका लगाउने प्रचलन रहेको छ भने माहोरबाटै भाइटीकाको विकास भएको विषयक माहोर सम्बन्धी मगर समुदायले मान्दै आएको मिथकीय कथा पनि रहेको पाइन्छ ।


कार्यक्रममा अथार मगरात मगर प्रतिष्ठानद्वारा अथार मगरात क्षेत्रको मौलिक परम्परा, संस्कार, रीतिथिति र चालचलन अनुसार विशेष पहिचानयुक्त संस्कृति प्रदर्शनी तथा विभिन्न जीवजनावर, किराफट्याङ्ग्राका आकारमा तयार पारिएका रैथाने खानाका परिकारहरूको प्रतिस्पर्धासँगै प्रदर्शन गरिएको थियो ।







सांस्कृतिक संस्थानका कलाकारद्वारा मौलिक झ्याउरे (झ्याम्रे) नाच, टप्पा गीत, राष्ट्रिय भावनाको गीत र मौलिक धून प्रस्तुत गर्नुभएको थियो भने जोरा स्याईं, पैस्यारु, भूमे, कौराहा, टप्पा आदि मौलिक नाचहरू सामुदायिक प्रस्तुति स्वरुप रहेका थिए । साथै, परम्परागत अनुष्ठान सहित कार्यक्रम शुभारम्भ गरिएको थियो भने लुतो फाल्ने कार्यक्रम सम्पन्न गरिएको थियो ।








कार्यक्रममा उपस्थित पाहुना तथा जनमनलाई नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष श्री झलक थापा मगरज्यूले स्वागत मन्तव्य मार्फ स्वागत गर्नुभएको थियो । उहाँले साउने संकराई उधेली पर्वको मगर समुदायमा विशेष महत्त्व रहेकाले यसबारे बोध गर्न सम्पूर्णलाई अनुरोध गर्नुभयो ।



कार्यक्रममा वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढा मगरज्यूले धारणा राख्नुहुँदै चाडपर्वको महत्त्वबारे स्पष्ट पार्नुभएको थियो । “उहाँका अनुसार साउने संकराई मगरहरूको ऋतु विशेष पर्वसँग सांस्कृतिक सम्बन्ध राख्ने भएकाले यसको गरिमा प्राकृतिक, सांस्कृतिक र वैज्ञानिक रहेको तर्फ जोड दिनुभयो । उहाँले मगर जातिले परम्परागत रूपमा मान्ने दुईवटा ऋतु उधेली र उभेलीको गरिमा अपरम्पार रहेको बताउनु भयो । साउनदेखि पुषसम्म उधेली र माघदेखि असारसम्म उभेली ६/६ महिनाको दुई ऋतु रहेको र यी ऋतुसँग सम्बन्धित मौलिक किंवदन्ती अनुसार उभेली ऋतुमा भ्यागुता जमिन बाहिर बस्ने भएकाले गायन, वादन र नृत्य सम्बन्धी क्रियाकलाप गर्दा भ्यागुताको मुटु थर्किन्छ, पाप लाग्छ भन्ने मान्यता रहेको अर्थात् उभेलीमा भ्यागुता जमिन बाहिर बस्ने र जीवनचक्र पार गर्ने हुनाले माघदेखि असारसम्म गायन, वादन र नृत्य सम्बन्धी क्रियाकलाप गर्न नहुने, जब उधेली ऋतु सुरु हुन्छ तब भ्यागुता जमिन मुनि बस्ने भएकाले त्यसबखत गायन, वादन र नृत्य गर्न उपयुक्त हुने भन्ने मान्यता अनुसार उधेली ऋतुमा मगर समुदायले आफ्नो प्रमुख बाजा मादल बाजा विधिवत् रूपमा फुकाएर प्रकृतिको पूजा गरी गायन, वादन र नृत्य सम्बन्धी क्रियाकलाप शुभारम्भ गर्ने बारे प्रकाश पार्नुभयो । त्यस्तै नचारु (पुरुष कलाकार) र जोराल्नी (महिला कलाकार) हरू गुर (गुरु) र गुरमी (गुरुमा) सँग सम्पर्क गरी जैसी (विद्वान) द्वारा उपयुक्त साइत हेराएर जीउपछे जोग (पर्व) मा नचारू जोराल्नीले आ–फ्नो समूहमा ओखला पूजा वा नाचको आरम्भ गर्ने, साउन १ गते भूमिको पूजा गरी मादल बाजा फुकाई ओखला पूजा गरी नचारू नाचको शुभारम्भ गरिने बताउनु भयो । “भूमे पर्व” र “नचारु स्याईं नाच” नेपाल सरकारको अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा सूचीकृत हुन सफल भएको तर्फ खुशी व्यक्त गर्नुहुँदै नचारू अन्तर्गत पैस्यारू, सिङारू, सरङ्ङया, धोता आदि नाच पर्ने बारे समेत प्रकाश पार्नुभयो ।”


कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले शुभकामना मन्तव्य राख्नुहुँदै भन्नुभयो “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहेन तथा संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व भएकाले चाडपर्वलाई मौलिक ढंगले संरक्षण तथा पुस्तान्तरण गर्नुपर्ने बताउनुभयो । सांस्कृतिक, धार्मिक, प्राकृतिक एवम् सामाजिक महत्त्व बोकेको साउने संक्रान्ति पर्वलाई उधेली पर्वका रूपमा ऋतु परिवर्तनको सूचकको रूपमा मनाउने गर्नुले आफैमा वैज्ञानिक रहेको बताउनुभयो । मगर समुदायले परम्परागत रूपमा उधेली र उभेली गरी दुईवटा ऋतु मान्ने, जहाँ साउनदेखि पुषसम्म उधेली र माघदेखि असारसम्म उभेली गरी ६/६ महिनाको दुई ऋतुलाई मान्ने गरेको तर्फ जोडदिनुहुँदै नेपाल सरकारको आर्थिक वर्ष साउन १ गतेदेखि शुभारम्भ हुने र मगर समुदायले उधेली ऋतुको शुभारम्भसँगै विगत र वर्तमानको समीक्षा गर्दै भविष्यको योजना बनाउने पर्वको रूपमा समेत मान्नु बीचको तादात्म्यता रहनु भनेकै यसको वैज्ञानिक औचित्य पुष्टि हुनु भएको बताउनुभयो । उहाँले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आ.व.२०८२/८३ मा अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा “भूमे पर्व” र “नचारु स्याईं नाच” सूचीकरण हुन सफल भएकोमा मगर समुदायलाई बधाई दिनुहुँदै प्रकृति पूजक मगर समुदायका अथार, बाह्र र काइके क्षेत्रका सांस्कृतिक सम्पदाहरूलाई नेपालको संविधानसम्मत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता बमोजिम सूचीकरण गरी मौलिक ढंगले पुस्तान्तरण गर्न सकेनौं भने मगर समुदायको पहिचान सहितको अधिकार सुनिश्चित हुन नसक्ने तर्फ ध्यानाकर्षण गराउनु हुँदै अथार मगरात मगर प्रतिष्ठान तथा नेपाल मगर संघलाई अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणलाई प्रमुख एजेन्डाको रूपमा अगाडि बढाउनु हुन अनुरोध गर्नुभयो । सामाजिक तथा सांस्कृतिक रूपान्तरणसँगै बसाइँसराइको हिसाबले होस् या उपत्यकालाई कर्मथलो बनाएर यहाँ बस्ने मगर समुदायले वरिष्ठ संस्कृतिविद् श्री बमकुमारी बुढा मगरज्यूको नेतृत्वमा यही भूमिमा पहिलोपटक उधेली पर्व मनाउने शुभारम्भ गरेकाले यो स्थानमा साउने संकराई उधेली पर्व विशेष मेला लाग्ने गर्दछ भन्ने संस्कृति स्थापित गर्न, गराउन तर्फ नीतिगत ढंगले सम्बन्धित पक्षसँग सम्झौता गरी कार्यान्वयन गर्नुहुन प्रतिष्ठानलाई अनुरोध गर्दै बसाइँसराइका कारण धेरै संस्कृति मेटिएको, विकृत ढंगले कार्यान्वयन भएको बारे चिन्तन गर्दै नयाँ पुस्तामाझ यस पर्वको मौलिक संस्कृति सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो ।” नेपालको विविधतायुक्त विशेषतालाई आत्मसात् गरी हरेक सांस्कृतिक चाडपर्वलाई संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थानले विविध समुदाय विशेष सांस्कृतिक चाडपर्वलाई नीति तथा कार्यक्रममै समेटेको हो ।



प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य श्री वर्षमान पुन (अनन्त) ज्यूले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् नै हरेक समुदायले यसरी सांस्कृतिक पर्वलाई काठमाडौँमा मनाउने प्रणाली प्रारम्भ भएकाले गणतन्त्रलाई रक्षा गर्नुपर्ने बताउनु भयो । साथै, उहाँले राजनीति र संस्कृतिको गहिरो सम्बन्ध हुने भएकाले संस्कृतिको स्पष्ट राज्यनीति बनाउन राजनीतिले भूमिका निर्वाह गर्नुपर्ने तर्फ जोड दिनुभयो ।



कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष श्री रक्ष बहादुर रैका मगरज्यूले सम्पूर्ण समुदायले साउने सकराती मनाउने गरेतापनि मगर समुदायले विशेष मौलिक पर्वका रूपमा उधेली पर्व स्वरुप मनाउने भएकाले यसको गरिमा बेग्लै रहेको तथा यस्ता चाडपर्वलाई सूचीकरण गर्न संघको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।


आदिवासी जनजाति आयोगका सदस्य माननीय डा.मीन श्रीसज्यूले साउने सकराती जस्ता अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गर्नका लागि विशेष जोड दिनुहु मगर समुदायलाई अनुरोध गर्नुभयो ।




नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका अध्यक्ष श्री राजु पुन मगरज्यूले यी र यस्ता चाडपर्वको गरिमा बारे नयाँ पुस्ताले चिन्तन गर्दै सामुदायिक भाषा, संस्कार र संस्कृति बारे अपनत्व लिनुपर्नेतर्फ जोडदिनु भयो ।


कार्यक्रममा विविध क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम समापन गर्नुहुँदै सभाध्यक्ष श्री झबिन्द्र बहादुर पुन मगरज्यूले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, उधेली पर्वको संरक्षण तथा पुस्तान्तरणका लागि थप कार्ययोजनाका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



औपचारिक कार्यक्रम सञ्चालन अथार मगरात मगर प्रतिष्ठानका महासचिव श्री लालकुमारी रोकामगरज्यूले र अनौपचारिक कार्यक्रम सञ्चालन अथार मगरात कलाकार संघका महासचिव श्री अमर रोकामगरज्यूले गर्नुभएको थियो ।






















